|

 कपिलवस्तु : जन्मका आधारमा नागरिकता पाएका शुद्धोधन गाउँपालिका–६ बिमिहाका ब्रम्हानन्द त्रिपाठीका तीन सन्तानले बिहीबार कपिलवस्तु जिल्ला प्रशासन कार्यालयबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्।

वंशजका आधारमा नागरिकता प्रमाणपत्र पाउनेमा २२ वर्षीय बृजेन्द्रनाथ र बीरेन्द्र त्रिपाठी रहेका छन्। यसैगरि १७ वर्षीय धीरेन्द्र त्रिपाठीले पनि नागरिकता पाएका छन्। यता यशोधरा गाउपालिका, ५ बैदौलीका रुदल कहाँरका दुई सन्तान संजय कहाँर र इन्द्रजित कहाँरले पनि बिहिबारै बंशजका आधारमा नागरिकता पाए। यी दुई ब्रम्हानन्द र रुदलका दम्पत्तिले २०६३ सालमा नागरिकता वितरण टोलीबाट जन्मका आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाएका थिए।

जन्मका आधारमा नागरिकता पाएकाको सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनुपर्ने माग विगत लामो समयदेखि उठाउँदै आएको भए पनि त्यो पूरा हुन सकेको थिएन। गृह मन्त्रालयले यही चैत १९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबु आमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो।

फलस्वरूप जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउन थालेका छन्। जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय सार्वजनिक भएपछि अहिले कपिलवस्तुलगायत देशैभरका प्रशासन कार्यालयमा वंशजका आधारमा नागरिकता लिन आउनेहरूको भीड बढेको छ।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालका अनुसार बैशाख ६ गते यता कपिलवस्तु जिल्ला प्रशासन कार्यालयबाट जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका ८४ सन्तानले वंशजका आधारमा नागरिकता पाएका छन्। गृहमन्त्रालयले संविधानको धारा ११(३) बमोजिम जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजका आधारमा नागरिकताको प्रमाणपत्र दिनु भनी परिपत्र पठाएको हुँदा गत शुक्रबारदेखि कपिलवस्तुमा समेत त्यस्तो नागरिकता प्रदान गर्न सुरू गरिएको सहायक प्रजिअ अर्यालले बताए।

नागरिकता पाउनेमा मधेसी तथा मुस्लिम समुदाय लगायतका समुदायकोे संख्या धेरै छ। जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तान वालिग भइसक्दा पनि नागरिकता नपाउँदा पढाइ र रोजगारीको अवसरबाट वञ्चित हुनुपरेको थियो। अब त्यो अवरोध भने हटेको छ। बिहीबार वंशजको नागरिकता पाएका शुद्धोधन–६ बिमिहाका बृजेन्द्रनाथ त्रिपाठीले आफ्नो नागरिकतामा वंशज लेखिएको देख्दा साह्रै खुसी लागेको प्रतिक्रिया दिए। उनले भने,‘अब जागिर खानका लागि ढोका खुल्यो। धेरै अवसरका ढोका खोलिए।’

स्थानीय तहलाई सिफारिस गर्न अन्याेलता

गृहमन्त्रालयले गरेको परिपत्र अनुरुप स्थानीय तहले सिफारिस गर्न अन्यौलता श्रृजना भएको बताइएको छ। परिपत्रमा उल्लेख गरिएका १६ वटा बुँदाको पूर्ण परिपालना गरी कागजात मिलाउने सेवा ग्राहिहरुले सहज रुपमा नागरिकता पाएता पनि कपिलवस्तुका अधिकांश स्थानीय तहहरूले सो परिपत्र अनुसारको कागजात र सिफारिश नगर्दा भने धेरै सेवाग्राहीहरू नागरिकता पाउन सास्ती पनि खेपिरहेका छन्।

जिल्ला प्रशासन कार्यालय कपिवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार जिल्ला प्रशासन कार्यालयले १६ बुँदे परिपत्र सबै स्थानीय नियकाका प्रमुखहरुलाई पुर्‍याए तापनि वडाबाटै कागजात प्रर्याप्त नआउँदा स्थानीयलाई सास्ती खेप्न बाध्य भएको बाताए। त्यस्तै उनले आवस्यक कागजात मिलाएर पठाउन पनि आग्रह गरेका छन्।

गृह मन्त्रालयाले गरेको परिपत्रमा बाबु र आमाको नागरिकताको प्रमाणपत्र र सोको एक एक थान प्रतिलिपि, जन्म मिति र जन्मस्थान खुल्नेगरी स्थानिय तहले गरिदिएको सक्कली जन्मदर्ताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पत्र, शैक्षिक प्रमाणपत्र, विद्युत विल अथवा खानेपानी भुक्तानी विल, अनिवार्य समावेश गर्न भनेको छ। त्यस्तै बुबा,आमा र संन्तान विचको फोटोसहितको नाता प्रमाण, नक्सा पास र स्वीकृति सहितको घर धुरी प्रमाण पनि पेश गर्न अनुरोध गरिएको छ।

बुबाआमा बीचको विवाह दर्ता प्रमाण पत्र,वुवा आमाको मृत्यु भएको अवस्थामा मृत्यु दर्ताको प्रमाणपत्र पनि समावेश हुनुपर्ने परिपत्र गरेको छ। विवरणहरू स्थानीय निकायका प्रमुख र सचिवहरूले सिफारिश नगर्दा भने कपिलवस्तु जिल्लाबाट नागरिकता लिनेहरूमध्ये अधिकांशले सास्ती खेपिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.