|

चितवन : अण्डाको मूल्य घटेपछि आक्रोशित अण्डा उत्पादक किसानले नेपाल अण्डा उत्पादक संघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। आन्दोलित अण्डा उत्पादक किसानले नारायणगढमा रहेको संघको केन्द्रीय कार्यालयमा ताला लगाएका हुन्।

आक्रोशित किसानले कार्यलयमा ताला लगाउनु अघि संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कंडेलको कुर्ची बाहिर निकाली अण्डाले हान्नुका साथै तोडफोड गरेका थिए। उनीहरूले कंडेलको राजीनामा पनि मागेका छन्। संघ बिचौलियाको साँठगाठमा लागेको आरोप लगाउँदै किसानले राजीनामा मागेका हुन्।

किसानसँग सल्लाह नै नगरी अस्वभाविक रूपमा अण्डाको मूल्य घटाउँदा किसान मारमा परेकाले आन्दोलमा उत्रिनुपरेको पश्चिम चितवन अण्डा उत्पादक किसान समूहका अध्यक्ष राजकुमार श्रेष्ठले बताए। मूल्य घटाउँदा किसानले लागत मूल्य पनि नपाउँदा आन्दोलनको विकल्प नभएको उनको भनाइ छ।

विभिन्न कारण देखाउदै संघले केहि दिनअघि प्रतिगोटा अण्डामा ३ रुपैयाँ घटाएको थियो। किसानले अझै पनि आफ्नो मागको सुनुवाई नभए चरणबद्ध सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छ।

सयौँको संख्यामा भरतपुरको लायन्सचोकमा भेला भएका आन्दोलित किसान पुलचोक हुँदै संघको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गर्दै पुगेका थिए। उनीहरूले अर्थहीन अण्डा संघ खारेज गर, पदाधिकारीले राजीनामा दे, अण्डाको मूल्य बृद्धि गर, तत्काल साधारण सभा आह्वान गरलगायतका नारासहित प्ले कार्ड प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.