मन्त्रीको ढिलाइले खेल अवधी ७० मिनेट

|

इलाम : टाइब्रेकरमा भाग्यमानी सावित हुँदै आयोजक काँकडभिटा फुटबल ट्रेनिङ सेन्टर चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ। बिहीबार भएको उद्धघाटन खेलमा पाहुना टोली क्यामरुनको दाफिन्स फुटबल क्लब ४-२ गोल अन्तरले पराजित बनेको हो।

काँकडभिटाको जितमा निरज बस्नेत, पुजन उपरकोटी, बिकास राई, निशान लिम्बूले गोल गरेका थिए। योगेश गुरुङको प्रहार दाउफिन्सका गोलरक्षक प्रिसो जाङगाले बचाएका थिए। दाउफिन्सको तर्फबाट गोल किपर प्रिसो र विक विकको प्रहार मात्र गोलमा परिणत भएको थियो। शिलो मार्टिन र पेटेङगाको प्रहार बाहिरिएपछि दाउफिन्सको यात्रा प्रिक्वाटरबाट समाप्त भएको हो।

खेलको सुरुवाती अग्रता दाफिन्सले लिएको थियो। छैटौँ मिनेटमा ओगेन जुनियरले गोल गरेका थिए। मेसुकेको शसक्त प्रहार आयोजक काँकडभिटा फुटबल ट्रेनिङ सेन्टरका गोलकिपर किशोर गिरीले पञ्च गरेर फर्काएपछि पाएको अवसरलाई जुनियरले गोलमा परिणत गरेका थिए। २० औं मिनेटमा जुनियरले व्यक्तीगत दोश्रो गोल गरे। मैदानको मध्यभागमा अनमार्क रहेका जुनियरले एकल प्रयासबाट गरेको प्रहार आयोजकका गोलकिपर गिरीले जोगाउन सकेनन्।

२-० ले पछाडि परेको आयोजकका नगेन तामाङले खेलको २१औ मिनेटमा गोल फर्काए। डि एरियामा दाउफिन्सका खेलाडी बीट भइसकेको अवस्थामा अनमार्क रहेका तामाङले गरेको प्रहारले पोष्टको जाली चुमेको थियो। पहिलो हाफको इन्जुरी समयमा तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए। दाफिन्सका खेलाडीले अफसाइड अपिल गर्दै छोडेको बललाई तामाङले पोष्टको दिशा दिएका थिए। दोश्रो हाफमा दुबै टिमबाट गोल नभएपछि निर्णय टाइव्रेकरमा गरिएको थियो।

खेलको म्यान अफ द म्याच आयोजकका तर्फबाट गोल गर्ने नगेन तामाङ घोषित भए। उनले नगद  ११ हजार रुपैयाँ पाए। शुक्रबारको खेल धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाडौंबीच हुनेछ। प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।  प्रतियोगितामा नेपालका आठ, पारो एफसी भुटान र क्यामरुनको दाउफिन्स फुटबल क्लबको सहभागिता रहेको छ।

मन्त्रीको ढिलाइले खेल अवधी ७० मिनेट

सामान्यतया फुटबल ९० मिनेटको आयोजना गरिन्छ। तर मेचीनगर गोल्डकपको उद्धघाटन खेल ७० मिनेट मात्र खेलाइयो। कार्यक्रममा प्रमुख अतिथीको रुपमा आमन्त्रण गरिएका सामाजिक विकास मन्त्री जिवन घिमिरे निर्धारित समयभन्दा ढिला आएपछि खेलअवधी २० मिनेट छोटयाइएको थियो। घिमिरेले प्रदेशमा खेललाई व्यावसायिक बनाउन बिहीबार मात्र निर्णय गरिएको बताए।

उनले संसदले बिहीबार नै प्रादेशिक खेलकुद कानुन पास गरिसकेको बताउँदै जीविकोपार्जनका लागि खेलकुद पेशा बन्न सक्ने बताए। खेललाई व्यावसायिक रूप दिन प्रदेश सरकार सकारात्मक रहेको भन्दै मन्त्री घिमिरेले प्रदेश नम्बर एकका खेलाडीको लागि नयाँ युगमा प्रवेश गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.