|

उदयपुर : खोटाङ लिच्की राम्चेकी २७ वर्षे अनुकुमारी खत्रीलाई उनका परिवारले छिमेकी जिल्ला उदयपुरको जिल्ला अस्पतालमा सुत्केरी गराउन ल्याए। तर, जिल्ला अस्पतालले भर्नानै नगरीकन अस्पताल परिसरबाटै विराटनगर जान सुझाव दियो। ‘हामीलाई खोटाङ सदमुकाम जान झनै समस्या छ, धेरै टाढापर्छ,’ अनुकुमारीका भाइ रमेश रसाइलीले भने, ‘गाईघाट नजिकै पर्छ, राम्रोसँग सुत्केरी व्यवस्था हुन्छ, भनेर ल्याएका थियौँ। तर, विराटनगर पठाइदिए।’

दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक तथा अन्य स्वास्थ्कर्मीको पदपूर्ति हुन नसक्दा उदयपुर जिल्ला अस्पताल, गाईघाट उपचार हुन छाडेको हो। अनुकुमारी जस्तै गाईघाटका मुना दाहाल पनि सामान्य टाइफाइड बिग्रिँदा विराटनगर नै पुग्नु पर्‍यो। ‘सामान्य रूपमा टाइफाइड भएको रहेछ,’ उनले भनिन्, ‘गाईघाटको सिभिल वा त्रियुगा अस्पतालमा जानु भनेका थिए। म विराटनगर पुगेर उपचार गरेर, ठिक भएँ।’

दाहाल र त्रिखत्री गुनासो गर्ने प्रतिनिधि मात्र हुन्। अस्पतालमा कार्यरत प्रसूति सेवासम्बन्धी डाक्टर सरुवा भएर गएपछि जिल्ला अस्पतालमा तीन महिनादेखि प्रसूति सेवा ठप्प छ। उदयपुरको पहाडी क्षेत्र तथा खोटाङलगायत जिल्लाबाट आउने बिरामी उपचारका लागि मोटो रकम खर्चेर एम्बुलेन्समार्फत धरान तथा विराटनगरसम्म जान बाध्य छन्। प्रसूतिसम्बन्धि चिकित्सक पवन साह तीन महिनाअघि सरुवा भएर गएपछि उनको स्थानमा कोही पनि नआएकोे जिल्ला अस्पतालका प्रमुख डाक्टर विष्णुबहादुर बस्नेत बताउँछन्। ‘भएका चिकित्सकलाई सरकारले नै सरुवा गरेर पठाउँछ, उनले भने, ‘हामीसँग दरबन्दी अनुसारका चिकित्सक नहुँदा जटिल लागेका बिरामीलाई बाहिर पठाउने गरेका छौँ।’

त्यस्तै बालरोग विशेषज्ञ अनुपस्थित हुँदा बालरोग सेवा पनि ठप्प छ। मेडिकल अध्ययन सकेर प्राक्टिकल गर्न आउने चिकित्सकले बिरामीको चेकजाँच गर्ने गरेका छन। बिरामीलाई समस्या नहोस् भनेर जिल्ला बाहिर पठाउने गरेको अस्पतालको भनाइ छ।

जिल्ला अस्पतालमा प्राथमिक उपचारबाहेकका सेवा पाउन नसकेपछि बिरामीहरू महँगो रकम खर्च गरेर धरान, विराटनगर लगायतका सहरसम्म जान बाध्य छन। ५० शय्याको अस्पतालमा १० जना विशेषज्ञ डाक्टरको दरबन्दी छ। तर, विगत तीन महिनादेखि एकजना विशेषज्ञ चिकित्सकमात्र कार्यरत रहेको प्रमुख डाक्टर बस्नेत बताउँछन्। ‘बाँकीको पदपूर्ति हुन सकेको छैन,’ उनले भने, ‘चारजना मेडिकल अफिसरको दरबन्दी छ, तर, दुई जना मात्र कार्यरत छन्।’

आठजना स्टाफ नर्सको दरबन्दीमा दुई जना मात्र कार्यरत छन। दुईजना अध्ययन बिदामा छन, भने बाँकी चारजनाको पूर्ति हुन सकेको छैन। ‘प्राविधिक कर्मचारीसमेत जोडेर ५९ जनाको दरबन्दी अस्पतालमा छ। 

प्रदेश सरकारले बेवास्ता गर्‍यो

जिल्लाकै ठूलो अस्पताल प्रदेश १ सरकार मातहतमा छ। विशेषज्ञ चिकित्सकको पदपूर्ति हुन नसक्दा अस्पतालले प्राथमिक सेवा मात्र  सीमित भएपछि आफूहरूले प्रदेश सरकारलाई जानकारी गराएको प्रमुख बस्नेतको भनाइ छ। ‘पटक पटक संघीय सरकार र प्रदेश सरकारलाई अस्पतालको अवस्था सुधार गर्न माग गरेका छौ, उनले भने, ‘माथिल्लो निकायबाटै वेवास्ता गरिएको छ।’

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले दरबन्दी अनुसारको डाक्टर उपलब्ध गराउन प्रदेश र संघीय सरकारलाई ताकेता गरिरहेको बताए। ‘जिल्ला अस्पतालको अवस्था सुधार्न लागिपरेका छौँ,’ उनले भने, ‘प्रदेश सरकारसँग दरबन्दी अनुसारको स्वास्थ्यकर्मी मागिरहेका छौँ। केही दिनभित्र पदपूर्ति हुन्छ।’

करारमा रहेका डाक्टर करार अवधि सकेर फर्केर आउने क्रममा भएपनि उनीहरूले भरपर्दो सेवा दिन सकिरहेका छैनन्। अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष परियारले वेला–वेलामा सेवा ठप्प हुने समस्या समाधान गर्न लागिपरेको बताए। ‘मैले चिकित्सक सरुवा हुनेबित्तिकै प्रदेश सरकारका सम्बन्धित मन्त्री र संघीय सरकारलाई तुरुन्त अर्को डाक्टर व्यवस्था गर्न अनुरोध गरिरहेको छु,’ उनले भने, ‘ दरबन्दीअनुसार डाक्टर नभएपछि अस्पताल विकास समितिबाटै केही डाक्टर राख्ने निर्णय गरेर विज्ञापनसमेत प्रकाशित गर्‍यौँ। हत्तपत्त चिकित्सक नै नपाइने।’ अस्पातालमा निशुल्क पाइने औषधीको पनि समस्या हुने गरेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.