|

दमक, झापा : गत वर्ष तामझामसहित विद्यालय भर्ना अभियान शुरु भयो। प्रधानमन्त्री आफैँ विभिन्न जिल्लामा पुगेर विद्यार्थी भर्ना गराए अनि अभिभावकत्व ग्रहण गरे। उनको सिको गर्दै विभिन्न मन्त्री, जनप्रतिनिधी, संघसंस्था मात्रै होइन सर्वसाधारणले समेत विद्यार्थी विद्यालयसम्म ल्याए। भर्ना गराए। अभिभावकत्व ग्रहण गरे। तर, यस वर्षको भर्ना अभियान सुनसान छ। कतिपयलाई त अभियान शुरु भएको पत्तैसम्म छैन।

हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याउँ भन्ने नाराका साथ मुलुकभर शैक्षिक शत्र २०७६ को विद्यार्थी भर्ना अभियानबाट सुरु भएको छ। तर, अधिकांश विद्यालयमा पठन पाठन शुरु नभएकाले अभियानले समेत गति लिएको छैन। बैशाख १४ गतेसम्म चल्ने अभियानमा संस्थागत र सामुदायिक दुवैतर्फ करीब १० लाख विद्यार्थी विद्यालयमा भर्ना हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

भर्ना अभियान अन्र्तगत कक्षा १ मा विद्यार्थी भर्ना हुनेछन्। विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यका साथ हरेक वर्ष सरकारले भर्ना अभियान सञ्चालन गर्दै आएको छ। अभिभावकमा चेतनाको कमीका कारण पनि विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेका छन्।

सबै काम स्थानीय तहबाट

विद्यालय शिक्षालाई स्थानीय तहको जिम्मा लगाएको संघीय सरकारले यस वर्ष अभियान सञ्चालनको जिम्मा पनि स्थानीयलाईनै दिएको छ। प्रदेश सरकारले समेत समन्वयको काम मात्र गरेको छ।  जिल्लास्तरमा शिक्षा विकास तथा समन्वय इकाइ रहे पनि भर्ना अभियानका लागि उसका कुनै पनि कार्यक्रम छैनन्।

इकाइका झापा प्रमुख योगेन्द्र बराल भर्ना अभियानको सबै काम यस वर्ष स्थानीय तह तथा सम्बन्धित विद्यालयहरू मार्फत हुने बताउँछन्। गत वर्ष स्थानीय तह कार्यान्वयनको शुरुवाती समय भएकाले अभियानका लागि विभिन्न कार्यक्रम तय गरि कार्यान्वयन गरिएको तर यस वर्षदेखि यी काम स्थानीयतहरूमार्फत अघि बढ्ने उनले जनाएका छन्। अभियानका क्रममा कुनै जटिलता देखिए, अपांगता भएका वा अन्य खास समस्यामा परेका बालबालिकाको हकमा केहि गर्नु परे कार्यालयले समेत समन्वय गर्ने तर सामान्य कार्यक्रमहरूमा कुनै भूमिका नहरेको उनले जानकारी गराए।

दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले शैक्षिक शत्र शुरुवातको समयमा विद्यालय विदा भएकाले बुधबारदेखि भर्ना अभियानका कार्यक्रम तय गरिएको बताइन्। पहिलो दिन प्रधानाध्यापक तथा प्रतिनिधिहरू बीच छलफल गरिने र भोलिपल्टदेखि स्थानीयस्तरमा गएर विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने उनले बताएकी छन्।

गत वर्ष जस्तो तामझाम नभए पनि विभिन्न विद्यालयहरूले भने आफ्नै कार्यक्रम बनाएर भर्ना अभियान शुरु गरेको बताएका छन्। झापाको कमल–५ स्थित मंगलय माविका प्रधानाध्यापक मोहनप्रसाद बगालेले बैशाख २ गतेदेखि नै विद्यालय भर्ना अभियान चलाएको बताए। विद्यालयका शिक्षकहरूमार्फत आ-आफ्नो टोलमा रहेका विद्यालय जाने उमेरका बालबालिकाहरूको पहिचान गर्ने, भर्ना गराउन प्रोत्साहित गर्ने लगायतका काम भइरहेको उनले जनाए। अभियानको प्रभावकारीताका लागि पठन पाठन शुरुभएसँगै थप कार्यक्रमहरु अघि बढाउने उनको भनाई छ।

प्रदेशको प्राथमिकतामा

प्रदेश सरकारले भने विद्यालय भर्ना अभियानलाई आफ्नो प्राथमिकतामा राखेको जनाएको छ। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले भर्ना अभियान सफल बनाउन सरोकारवाला पक्षहरू बीचमा छलफल गरिएको र विद्यालयलाई आफ्ना कार्यक्रमहरु बनाउन भनि सकिएको बताएका छन्। विद्यालयहरूले स्थानीय तह मार्फत सञ्चालन गर्ने विद्यालय भर्ना अभियानको कार्यक्रमलाई प्रदेशमार्फत समन्वय, सहयोग, नियमन लगायतको काम हुने उनको भनाई छ।

सामुदायीक विद्यालयहरुमा विद्यार्थी भर्ना गराउने मात्र नभई गुणस्तर सुधारका लागि वर्ष भरिनै मन्त्रालयले विभिन्न कार्य गरेको र भर्खरै शुरु भएको शैक्षिक शत्रका लागि पनि नयाँ कार्यक्रमहरू शुरु गरिएको उनले बताए।

पुस्तकको बन्दोबस्त

नयाँ शैक्षिक शत्र शुरु भएसँगै विद्यालयहरूमा नयाँ पाठ्यपुस्तकसमेत पुग्नु पर्छ। अघिल्ला वर्षहरूमा समयमा नै पाठ्य पुस्तक आइनपुग्ने समस्या भए पनि यस वर्ष भने समस्या नहुने व्यवसायीहरूले बताएका छन्। झापाका सबै विद्यालयका लागि आवश्यक पुस्तकको व्यवस्था भएको पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्व उपाध्यक्ष दूर्गाप्रसाद पौडेलले बताए। उनका अनुसार कतिपय विद्यालयले आफ्ना लागि चाहिने पुस्तक लगि सकेका छन्।

यस्तै, केहि विद्यालयहरूले पनि पुस्तकको जोहो गरि सकेको जानकारी दिएका छन्। मंगलमय माविका प्रअ बगालेले शैक्षिक शत्र शुरुभएसँग विद्यार्थीहरुलाई नयाँ पुस्तक उपलव्ध गराउन व्यवस्था मिलाई सकिएको बताएका छन्। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले भने विद्यालय लाग्न शुरु भएसँगै पुस्तकको अवस्थाको बारेमा पनि रिपोर्टिङ आउने जनाएको छ।

तर यस वर्ष झापामा पाठ्य पुस्तकको अभाव नरहने जानकारी पाएको इकाइका प्रमुख बरालले बताएका छन्। झापामा ३ सय ६५ सामुदायिक विद्यालय रहेका छन्। तीमध्ये १ सय १३ ओटा माध्यमिक विद्यालयहरू रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.