|

काठमाडौं : नियमित रूपमा कलेज जान नसक्ने विद्यार्थीलाई लक्षित गरी पहिलोपटक सञ्चालनमा आएको खुला विश्वविद्यालय अहिले विद्यार्थीको रोजाइ बनेको छ। जुनसुकै स्थानमा भएकाहरूले पनि घरमै बसेर पढ्न पाउने व्यवस्था भएपछि खुला विश्वविद्यालयमा विभिन्न पेसामा आबद्ध भएका विद्यार्थीको आकर्षण बढेको हो।

इन्टरनेट तथा अनलाइनको माध्यमबाट अध्ययन गराइने विश्वविद्यालयमा स्नातकदेखि डिप्लोमा, पोष्ट ग्य्राजुएट, स्नाकोत्तर, एमफिल र विद्यावारिधिसम्मको अध्ययन अध्यापन हुने व्यवस्था रहेको छ। खुला विश्वविद्यालयका प्राडा. जीवन खड्काले परम्परागत शिक्षण प्रणालीमा प्रत्यक्षरूपमा विद्यालयमा उपस्थित हुन नसक्ने, प्रत्यक्ष शिक्षकको निगरानीमा नहुने र शिक्षक विद्यार्थीले प्रत्यक्षरूपमा अन्तरक्रिया गर्न नसक्ने विद्यार्थीलाई लक्षित गरेर खुला विश्‍वविद्यालय सञ्चालन गरिएको बताए।

विद्यार्थी उच्च तहमा पुगेपछि विभिन्न रोजगारमा आबद्ध भई नियमित रूपमा विद्यालय जाने अवस्था असम्भव हुँदै गएकाले तिनै विद्यार्थीलाई मध्यनजर गरी अनलाइन माध्यमबाट पढाउन लागिएको उनी बताउँछन्। पढ्नका लागि आवश्यक सबै सामग्री अनलाइनबाटै उपलब्ध हुने र साँझको समयमा अध्यापन गराइने हुँदा विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ।

प्राडा. खड्काले भने, ‘नियमित रूपमा विद्यालयमा उपस्थित हुन नसक्ने विद्यार्थी समूहलाई नवीनतम प्रविधिको प्रयोगका साथ उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।’ उनले कुनै पनि विद्यार्थीलाई उच्च शिक्षाका साथै विज्ञान तथा प्रविधिको प्रयोगबाट वञ्चित नगराउने उद्देश्यले नै पढाउन सुरु गरेको बताए। उनका अनुसार खुला विश्वविद्यालयबाट उच्च शिक्षा लिने विद्यार्थीको संख्या एक हजारभन्दा बढी रहेको छ। यस विश्वविद्यालय २०७३ सालमा स्थापना गरिएको हो।

प्राडा. खड्काका अनुसार खुला विश्वविद्यालयको भर्ना तरिका अन्य विश्वविद्यालयसँग मिल्दोजुल्दो रहेको छ। भर्ना गर्नुभन्दा अगाडि विद्यार्थीले विश्वविद्यालबाट लिइने लिखित र अन्तर्वार्ताको परीक्षा अनिवार्य रूपमा दिनुपर्छ। आन्तरिक परीक्षामा सामेल विद्यार्थीको मूल्यांकनबाट छनोट गरिन्छ। छनोटमा परेका विद्यार्थीको मात्र भर्ना लिइने गरिन्छ।

अनलाइनबाटै अध्यापन

प्राडा. खड्काका अनुसार पढाइ सुरु हुनुभन्दा अगाडि भर्ना भएका सम्पूर्ण विद्यार्थी खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय ललितपुरमा आउनुपर्ने हु्न्छ। उपस्थित विद्यार्थीलाई अनलाइनबाटै पढ्ने तरिका, पढेको कुरा अनलाइनमार्फत प्रस्तुत गर्ने तरिका, परीक्षा दिने तरिका र नतिजा हेर्ने तरिका सबै सिकाउने गरिन्छ। उनका अनुसार यस्तो अभिमुखीकरण तालिम दुई दिनसम्म सञ्चालन गरिन्छ।

विद्यार्थीका लागि आवश्यक विषयवस्तु मोडल लर्निङ म्यानेजमेन्ट सिस्टममा राखिन्छ। अनलाइनमार्फत शिक्षकले भिडियोबाट अध्यापन गराउँछन्। हरेक दिन साँझ ६ बजेदेखि ९ बजेसम्म पढाउने गरिन्छ। विद्यार्थीले आफूलाई लागेका जिज्ञासा, नबुझेका सम्पूर्ण कुराहरू सो समयमा राख्न पाउँछन्।

परीक्षा पनि अनलाइनबाटै

प्राडा. खड्काले विद्यार्थीले परीक्षा दिन पनि केन्द्रीय कार्यालयमा आउन नपर्ने बताए। उनका अनुसार धनगढी, पोखरा, काठमाडौं, इटहरी र कोहलपुरमा सञ्चालन गरिएका अध्ययन संस्थाले विद्यार्थीलाई पायक पर्ने संस्थामा उपस्थित गराएर अनलाइनबाटै परीक्षा लिन्छन्। उक्त संस्थाले विद्यार्थीलाई पढ्ने बेला भएका समस्याको खोजी गरी समस्याको समाधानसमेत गर्दछन्। अध्ययन संस्थाले लिने आन्तरिक परीक्षा ४० अंकको हुनेछ। आन्तरिक परीक्षामा उत्तीर्ण नभएका विद्यार्थी बाह्य परीक्षामा सहभागी हुन पाउँदैनन्। उनले नतिजा पनि अनलाइन माध्यममार्फत हेर्ने व्यवस्था रहेको बताए। 

उच्च शिक्षा हासिल गर्ने रहर हुँदाहुँदै पनि विभिन्न रोजगारमा संलग्न हुनुपर्ने बाध्यता भएका र कक्षा लिन नपाएका विद्यार्थीलाई पनि उच्च शिक्षा र प्रविधियुक्त ज्ञान आर्जन गराउने नै खुला विश्वविद्यालयको उद्देश्य रहेको छ।

प्रविधिमा आधारित खुला एवं दूरशिक्षाको माध्यमबाट सो अध्ययन सिकाइ पद्धतिद्वारा जीवनपर्यन्त शिक्षा प्राप्तिको अवसर र पहुँच सबै विद्यार्थीमा पुर्‍याउने उद्देश्यले सञ्चालित यस विश्वविद्यालयले आफ्नो कार्यक्रमको सञ्चालन देशभित्र र बाहिरसमेत गर्न सक्नेछ।

२०७५ सालबाट सञ्चालित खुला विश्वविद्यालयमा पहिलो वर्ष करिब एक हजार विद्यार्थी अध्ययनरत थिए। यस वर्षको शैक्षिक सत्रका लागि वैशाख १ देखि ३० गतेसम्म भर्ना अभियान चलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.