प्रदेश ५ अब्बल, कृषिको वृद्धिदर बढ्यो, उद्योगको घट्यो

|

काठमाडौं :  चालु आर्थिक वर्षमा सरकारले राखेको लक्ष्यको तुलनामा आर्थिक वृद्धिदर १.१९ प्रतिशत कम रहने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडालले चालु आर्थिक वर्षको बजेट विनियोजन गर्दा आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा यो वर्ष ६.८१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने जनाएको छ।

लक्ष्यअनुसारको आर्थिक वृद्धि हासिल नभए पनि लगातार तेस्रो वर्ष नेपालले उच्च आर्थिक वृद्धि हासिल गरेको राष्ट्रिय योजना आयोगको भनाई छ। ‘हामीले राखेको लक्ष्यअनुसार आर्थिक वृद्धिदर नहुने देखिए पनि हामी लगातार उच्च अंकको आर्थिक वृद्धिदर हासिल गर्न सफल भएका छौँ’ राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल भने ‘यो सकरात्मक पाटो हो।’

तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले आर्थिक वर्ष २०७३/०७४ मा ७.७४ र आर्थिक वर्ष २०७४/७५ मा ६.३ प्रतिशको आर्थिक वृद्धि हासल गरेको छ। चालु आर्थिक वर्षमा हालसम्म गरिएको अध्यनको आधारमा गरिएको आर्थिक वृद्धिदरको प्रक्षेपणमा ठूलो योगदान सेवा क्षेत्र नै देखिएको छ। प्राथमिक क्षेत्रको रूपमा हेरिने कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन् क्षेत्रको योगदान २७ दशमलव ५९  प्रतिशत रहेको छ। द्वितीय क्षेत्रको रूपमा हेरिने निर्माण उद्योग र विद्युत, ग्यास तथा पानी क्षेत्रको योगदान १४.६ प्रतिशत रहेको छ। त्यस्तै, सेवा क्षेत्रको योगदान ५७.८१ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षको तुलनमा प्राथमिक र द्वितीय क्षेत्रको योगदान घटेको छ। गत आर्थिक वर्षमा यो क्षेत्रको योगदान १४.३१ रहेकोमा चालु वर्षमा ०.२५ अंकले घटेको हो। त्यस्तै, प्राथमकि क्षेत्रको योगदान गत आर्थिक वर्षमा २८.६७ रहेकोमा चालु आर्थिक वर्षमा एक प्रतिशतले घटेर २७ दशमलव ५९ प्रतिशत रहेको देखिएको छ। सेवा क्षेत्रको योगदान भने गत वर्षको तुलनामा बढेको छ। गत आर्थिक वर्षमा ५७.०१ रहेकोमा चालु आर्थिक वर्षमा ५७.८१ प्रतिशत रहने देखिएको छ।

कृषिको उत्पाद बढ्यो उद्योगको घट्यो

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि र वन क्षेत्रको योगदान मात्रै २६.५० प्रतिशत रहेको छ। यसको वार्षिक वृद्धिदर ५.०२ रहेको छ। जवकि गत वर्ष कृषि तथा वन क्षेत्रको वृद्धिदर २.७२ प्रतिशत रहेको थियो। कृषि क्षेत्रलाई छ भागमा विभाजन गरिकएकोमा दलहनबाहेक सबै कृषि उत्पादन बढेको देखिएको छ। दलनको उत्पादन गत वर्षको तुलनामा १.६८ प्रतिशतले घट्दा सबैभन्दा बढी धानको ८.८९, तरकारीको ५.४९, गहुँको ४.५०, मकैको ३.४८ र आलुको ४.३० प्रतिशत वृद्धिदर देखिएको छ। कुल गार्हस्थ्य उत्पादनमा ०.४८ प्रतिशतको योगदान रहेकोमा वार्षिक वृद्धिदर ५.६० प्रतिशत रहेको छ।

कृषिको उत्पादन र योगदान बढे पनि सरकारले प्राथमिकता दिएको उद्योग क्षेत्रको उत्पादन वृद्धिदर गत वर्षको बराबरको हुन सकेको देखिएको छैन। कुल गार्हस्थ्य उत्पादनमा ५.५९ प्रतिको योगदान रहेको उद्योगको वार्षिक वृद्धिदर भने ५.७८ प्रतिशत रहेको छ। सरारले उद्योगको वृद्धिदर १४ प्रतिशतसम्म पुग्न सक्ने लक्ष्ये निर्धारण गरेको थियो।

उद्योगको वृद्धिदर पछिल्लो तीन वर्ष यताकै न्यून हो। आर्थिक वर्ष २०७३/७४ मा ९.७० र आर्थिक वर्ष २०७४/७५ मा ९.१७ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षमा वृद्धिदरमा झण्डै चार प्रतिशतको गिरावट देखिएको हो।

कुन प्रदेशको आर्थिक वृद्धिदर कति

सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्नेमा प्रदेशमा पाँच अगाडि छ भने सबैभन्दा कमजोर आर्थिक वृद्धि कर्णाली प्रदेशको रहेको छ। आर्थिक वृद्धिदरमा क्रमश प्रदेश ५ ले  ७.३७, गण्डकी प्रदेश ७.०६ र प्रदेश ३ ले ७.०४ प्रतिशतको वृद्धिदर हासिल गरेका छन्। प्रदेश २ दे ६.५३ प्रदेश १ ले ६.४९, सुदूरपश्‍चिम प्रदेशले ६.२५ र कर्णाली प्रदेशले ५.६८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.