|

हुम्ला : ताजाकोट गाउँपालिकामा अज्ञात रोगले आठ जनाको मृत्यु भएको छ। उक्त रोगबाट एक दर्जनभन्दा बढी बिरामी परेका छन्।

ताजाकोट गाउँपालिकाको मैला, मदान, दर्जो गाउँमा एक सातादेखि फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको संख्या आठ पुगेको हो। मृत्यु हुनेमा वडा नम्बर १ का ७० वर्षीया कुशुमा रिठाल, ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली, पाँच वर्षीया सुनकेसा सुनार, वडा नम्बर ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सन्जिव थापा रहेको मेला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए।

बिरामीलाई वाकवाकी लाग्ने, टाउको दुख्ने, छाती दुख्ने, ज्वरो आउने गरेको स्थानीयले बताएका छन्। बिरामीको उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको स्थानीयको भनाइ छ। ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि र स्वाथ्यकर्मी नभएकाले उपचारमा समस्या भएको बिरामीको संख्या बढेको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले बताए। अध्यक्ष मल्लका अनुसार अहिले संक्रमित गाउँमा शिविर सञ्चालन भइरहेको र कुनै पनि स्वास्थ्यकर्मीलाई कार्यक्षेत्र नछोड्न पनि निर्देशन दिएको बताए।

यस्तै, औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिन र रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटना स्थलमा जाने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मल्लको भनाइ छ। 

घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोष टाढा भएकाले के कारणले मृत्यु भएको भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.