|

रुपन्देही : अघिल्लो वर्षकाे मंसिर २८ मा कीर्तिपुरको त्रिभुवन विश्व विद्यालयकाे क्रिकेट मैदानमा त्रिदेशीय ह्‍विलचियर क्रिकेट प्रतियोगिता चलिरहेको थियो। फिल्डिङ गर्न सुरु गरेका नेपाली खेलाडी ग्राउण्डमा आ–आफ्नो ह्‍विलचियरको पोजिसन मिलाउँदै थिए।

खेल बंगलादेश र नेपालबीच भइरहेको थियो। ग्राउन्डबाट देखिने टोखाको डाँडामाथितिर सेताम्मे बादलका टुक्रा हावाको गतिसँगै वरपर गरिरहेका थिए। पश्चिम ढल्किसकेको सूर्यकाे किरणले बादल छेड्ने कोसिस गरिरहेको जस्तो देखिन्थ्यो। त्यसको परिणाम उपत्यकालाई काखमा लुकाएर राखेको चन्द्रागिरितिर थप चमक परावर्तन भइरहेको थियो।

ग्राउण्डमा खेलाडीलाई प्रकृतिको निश्चलताको हेक्का थिएन। थियो त केवल जितको भोक। खेल सुरु भयो। इनिङको पहिलो बल–आउट। पहिलो बलमै विपक्षीको विकेट खसालेपछि ह्‍विलचियरबाट उठौँला झैँ गरेर मुड्कीलाई हावामा बजारे बलर विपिन पौड्यालले। 

पौड्यालको खुसीमा हाँसो मात्र थिएन। जीवनमा पटक–पटक व्याेहोरेको जीवनको हारको आक्रोश र आक्रोशले खसालेका केही ढिक्का आँसु पनि थिए। ‘एकछिन् मैले आकाशमा हेरेँ। त्यहाँ मेरो जीवन देखेँ। सुन्दर पक्कै थिएन तर जीवित थियो।’ आज करिब १५ महिनापछि त्यो पललाई स्मरण गर्दा उनको आँखा धपक्कै बल्छन्। 

डाक्टरले खुट्टा काट्नुपर्छ भनेपछि... 

कुरा २०६९ साल असोजकाे हो। तीज भर्खर सकिएको थियो। बिहानका असौजे घामले दशैं आएको छनक दिन्थ्यो। रुपन्देही जिल्लाको साबिकको रुद्रपुर गाविस (हाल कञ्चन गाउँपालिका) को सालघारी गाउँमा पनि पर्वको रौनक भित्रिसकेको थियो। असोज सात गते बिदा मनाउन विपिन र उनका फुपूका छोरा कमल आचार्य घरबाट माछा मार्न भनी हिँडे। उनीहरू गाउँलाई सिरान बनाएर बगिरहेको खोलातिर लागे। जीवनमै पहिलोपल्ट करेण्ट लगाएर माछा मार्ने ध्याउन्नमा थिए दुई दाजुभाइ।

विपिनका दाजु कमलले बिजुलीको पोलमा तार ‘हुकिङ’ गर्न मात्र के लागेका थिए, बिजुलीले तानिहाल्यो। अत्तालिएका भाइ विपिनले मेसो पाएनन्। बचाउँछुभन्दा उनलाई पनि तान्यो। चारैतिर अँध्यारो छायो। दुई दिनपछि पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा विपिनको होस् खुल्यो। छेवैमा बसेकी आमा सुमित्रादेवी शर्मा बोल्न सकिरहेकी थिइनन्। केवल छोराको मुख सुम्सुम्याइरहेकी थिइन्। अझै धमिलो त यतिबेला छायो उनको मनमा, जतिबेला डाक्टरले भने,‘तपाईंको दाहिने खुट्टा अत्यधिक जलेको छ। यसलाई यसै राखिराख्न मिल्दैन। साँप्रादेखि तलको भाग काट्नुपर्छ।’ यसो सुन्दा विपिनका आँखा मात्र चलिरहेका थिए रे। उनको मुखबाट शब्द नै निस्किएन।

एक महिना र १८ दिनपछि अस्पतालबाट घर फर्किँदा विपिनले धेरै कुरा गुमाइसकेका थिए। ती कुरामध्ये पहिलो नम्बरमा पर्‍यो उनको दाहिने खुट्टा। घर फर्केको एक साता नबित्दै अस्पतालबाट आफूसँगै करेण्ट लागेका फुपूका छोरा कमल आचार्यको मृत्यु भएको खबर आयो। के भइरहेको छ विपिनले मेसो पाइरहेका थिएनन्। ‘एउटै घटनामा परेर सानैदेखि सँगै हुर्केको दाइको मृत्यु भइसकेको थियो। तर, मैले फेरि एकपटक सास फेर्दै थिएँ। कस्तो अनुभूत गर्ने मेरो मस्तिष्कले ठम्याउन सकिरहेको थिएन’ सम्झन्छन् उनी।  

२०५१ सालको नयाँ वर्षमा बाग्लुङको बरेङमा जन्मिएका विपिन पौड्यालले कक्षा १० सम्मको अध्ययन आफ्नो बाबुसँग बसेर पूरा गरे। बाबु रुद्रप्रसाद पौड्यालको रुपन्देही जिल्लाको साबिकको गजेडी गाविस मैनहियामा एउटा औषधि पसल थियो। त्यहीँ बसेर बेलभरियाको प्रगति माध्यमिक विद्यालयमा एसएलसीसम्मको अध्ययन गरी उनी उच्च शिक्षाका लागि काठमाडौं झरे। 

काठमाडौंमा उनलाई सजिलो भएन। गाउँबाट ‘जागिर गर्दै पढ्ने’ भनेर आए पनि काम पाउन सजिलो थिएन। चिनजानको कोही पनि भएन काठमाडौंमा सधैं मिलनसार र शालीन व्यक्तित्व पहिरिएर हिँड्ने भएकाले उनले उपत्यकामा छोटो समयमै केही साथीहरू बनाउन सफल भए। चिनजानमार्फत एउटा जागिर मिल्यो। जागिर थियो मार्केटिङको। दिनभर रिक्सामा सामान बोकेर बजार–बजार पुर्‍याउनु उनको काम हुन्थ्यो। त्यही कामलाई उनले पेट पाल्ने र क्याम्पसको फिस तिर्ने माध्यम बनाए। बिहान क्याम्पस अनि दिनभर रेक्सामा बजार डुलेर काठमाडौंमा दुई वर्ष बित्यो उनको। यो अवधिमा ठूलो भर्‍याङस्थित एसओएस उच्च माध्यमिक विद्यालयबाट दश जोड दुईको अध्ययन सकाए। 

जीवनमा परिवर्तन आएको जस्तो महसुस गर्दै थिए उनले। अध्ययनपछि उनी एउटा परिवर्तनको खोजीमा थिए। उनले खोजेको परिवर्तन सधैं अर्काको जागिर गर्नुभन्दा आफ्नै सानोतिनो केही गर्ने थियो। त्यसैताका हो उनका बाबु रुद्रप्रसाद पौड्यालले परिवार त्यागेर हिँडेको। विपिनका दुई सहोदर दाइहरू बुटवलमा बसेर आफ्नो कर्म गरिरहेका थिए। बाबु बेपत्ता भएपछि आमा घरमा एक्लै भइन्। एकपटक घर फर्केर केही लगानीको जोहो गरी काठमाडौं फर्कने भन्दै उनी घर फर्के। फर्कंदा आमालाई पनि सँगै काठमाडौं ल्याउने विचार गरे। ‘घरमा एक्लै हुनुहुन्थ्यो मम्मी। काठमाडौं मसँगै राख्‍ने मन थियो। तीज, दशैँ र तिहार एकैपटक मनाएर आमालाई सँगै काठमाडौं लैजाने भनेर उनी घर आएका थिए। 

घर आएको महिना दिन पनि बित्न नपाउँदै घटना घटेको हो। घटनापछि ६ महिना जीवनलाई अर्थ्याउँदै बसे उनी। माया गर्नेहरूप्रति पनि शंका लाग्न थालेको थियो उनलाई। ‘त्यो मेरो नकारात्मक सोचाइ मात्र थियो। दिन प्रतिदिन कमजोर बनाउँदै लगेको थियो म आफैंलाई।’ यसोभन्दा उनको आखाँमा केही असन्तोषको भाव झल्किन्छ। 

घटनापछिका ६ महिनापश्चात २०७० सालको सुरुवातीताका काठमाडौं आइपुग्दा विपिनको जीवनले परिवर्तनको दोसाध पार गरेर निकै अगाडि बढिसकेको थियो। ‘अपांग’को विल्ला लागेको थियो उनीमाथि। आफूले बाँचिरहेको जीवन कहिल्लै बाँच्नुपर्ला भनेर कल्पना गरेका थिएनन् उनले। समस्याहरूको आकार दोब्बर भएझैँ लाग्यो उनलाई। अब नयाँ तर नमीठो अध्यायका लागि आफूलाई उभ्याउन सक्नुपर्ने उनले बुझे। 

विपिन काठमाडौं फिरे। राष्ट्रिय अपांगता पुनर्स्थापना समाजको आयोजनामा भएको कम्प्युटर तालिम लिन लागे। त्यसलगत्तै राष्ट्रिय अपांगता कोषले संचालन गरेको ६ महिने मोबाइल रिपेयरिङ तालिममा पनि सहभागी भए। तालिमले उनलाई सीप सिक्ने बाटो मात्र दिएको थिएन त्यसको यातायात खर्चबाट गुजारा चलेको थियो। ‘त्यो समयमा काठमाडौं फर्केर आएकोमा पछुतो लाग्न थालेको थियो। नफर्केको भए हुने भन्ने लागेको थियो।’ उनी सम्झन्छन्, ‘पहिलेभन्दा निकै बिरानो लागेको थियो उपत्यकामा योपटक।’ 

उनको  जीवनमा एकाबिहानै मौकाले ढोका हान्यो। विपिनका ‘दाइपर्ने’ सोमनाथ पौडेलले कोरियाबाट फोन गरेर ‘तिमीलाई आफूले केही गर्न सक्छु भन्ने लागेको छ भने मैले केही ऋण रकम दिन तयार छु’ भन्दै इच्छा व्यक्त गरे। खोजेजस्तै भयो। एकैसासमा त्यो ऋण लिने इच्छा व्यक्त गरे। घटना भएपछि काठमाडौं आएको ५ महिनामै उनले दाइसँग ५० हजार ऋण मागेर आफू बस्दै आएको काठमाडौं ठूलोभर्‍याङस्थित गैरीगाउँमा एउटा सानो सटर भाडामा लिई ‘विपी स्टेसनरी’ नामको पुस्तक पसल खोले।

पसलले विपिनलाई काठमाडौंमा एक्लै बाँच्न सक्ने राहत प्रदान गर्‍यो। दिनभर भुल्ने बाटो पाए। जीवन केही सामान्यीकरणतर्फ उन्मुख भएझैं लाग्यो। तर, त्यतिले मात्र पुगेको थिएन उनलाई। भर्खर मात्र मृत्युलाई भेटेर आएका उनले बाँच्नुको स्वाद खोजिरहेका थिए। उनलाई जीवनको तिर्खाले छाएको थियो। 

खेलमा भेटिएको खुसी

उनको सानैदेखिको इच्छा हो क्रिकेट खेलाडी बन्नु। साँझ परेपछि आमाले लठ्ठी लिएर खोज्न नजाँदासम्म पनि साथीसँग क्रिकेट खेल्नमै व्यस्त हुन्थे उनी। स्कुल पढ्दादेखि नै गाउँमा आयोजना हुने सबैजसो क्रिकेट प्रतियोगितामा उनको कप्तानी रहन्थ्यो। एसएलसीपछि उनी क्रिकेटसँग टाढा भएका थिए। जागिर र पढाइले गर्दा क्रिकेट उनको जीवनबाट झन्झन् फिक्का हुँदै गएको थियो। तर, अन्तर्मनले क्रिकेटको सपना बुन्न छाडेको थिएन। ‘शारीरिकरूपमा सक्दिनँ भन्ने लाग्थ्यो। त्यसैले खिन्न हुन्थेँ। क्रिकेटतिर ध्यान नलैजान खोजिरहन्थेँ। तर, म त मरेर बाँचेको मान्छे। आफ्ना सपनालाई जसरी पनि पूरा गर्नै र्छ भन्ने ढिपी पनि थियो’ उनी भन्छन्।

राष्ट्रिय अपांगता कोषले दिएको मोबाइल तालिमका क्रममा उनको भेट एलेन पियासँग भयो। त्यो भेट उनको जीवनमा महत्वपूर्ण सावित हुनेवाला थियो। पियाले विपिनको सोचाइलाई बुझे। उनले आफ्ना साथी भरत बिसीसँग भेट गाराइदिए। त्यो भेट उनका लागि फलदायी रह्यो किनभने बिसीले विपिनलाई जावलाखेल ह्‍विलचियर क्रिकेट क्लबमा लगे। क्लबमा पुगेपछि आफूलाई फेरि भेट्टाएको जस्तो अनुभूति गरे विपिनले।

‘क्रिकेट मेरा लागि कति महत्वपूर्ण छ भनेर भन्नै सक्तिनँ। जतिबेला मैले हातमा ब्याट समातेँ, मेरो दुखाइ एकाएक लापत्ता भयो। म अर्कै मान्छे बनिसकेको थिएँ। यस्तो सम्भव छ जस्तो लागेको थिएन’ पहिलोपल्ट जावलाखेलमा साथीसँग काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा ट्रेनिङ गर्दाको अनुभव सुनाउँछन् उनले। उनले त्यहाँ बलर प्रकाश विष्टबाट तालिम लिए। खेल उनको सधैंको प्यारो चिज थियो। साथीसँग ट्रेनिङ गर्दा गायव भएको खुसी उनको चेहरामा छाउन लागेको थियो। खेलले मान्छेको जीवनमा यति फरक पार्न सक्छ जस्तो लागेको थिएन विपिनका साथीहरूलाई पनि। बिहान खाना खाइवरी ट्रेनिङमा पुगिहाल्थे उनी। साथीसँग दिनभर ट्रेनिङमा व्यस्त रहन्थे। 

राष्ट्रिय टोलीमा परेपछि... 

राष्ट्रिय  टिमका लागि छनाेट चरणका खेलहरू हुने भयो। उक्त चरण पार गर्दै राष्ट्रिय टोलीमा परे। ‘बेग्लै उत्साह थियो त्यो दिन। आफू अपांग हुँजस्तो महसुस भएको थिएन। क्रिकेटमा सिंगो देशलाई प्रतिनिधित्व गर्दै थिएँ’ राष्ट्रिय टोलीमा परेको खबर सुन्नासाथ उनलाई यस्तो लागेको थियो। टोलीमा परेपछि त्यसदिन उनले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै थिए। त्यसदिन पहिलो विकेट लिएपछि आकाशमा मडारिइरहेका सेता बादलमा आफ्नो जीवनले लेखिसकेका पानाहरू पल्टिरहेको देखे।बादलबाट मिश्रित भावनाहरू चुहिरहेका थिए। 

‘मेरो पहिलो अन्तर्राष्ट्रिय खेलमा जित खोजिरहेको थिइनँ मैले। अर्थोकै खोजिरहेको थिएँ। जे कुरा खोजिरहेको थिएँ,' त्यो पाएँ’ उनले सम्झन्छन्। त्यो अन्तर्राष्ट्रिय खेल उनका लागि अविष्मरणीय रह्यो। ह्‍विलचियर क्रिकेट एसोसिएसन नेपालको आयोजनामा बंगलादेश, भारत र नेपालबीच भएको प्रतिस्पर्धामा उनी बेस्‍ट बलर अफ द टुर्नामेण्ट भएका थिए भने भारतसँगको खलमा म्यान अफ द म्याच भए। 

हालसम्म विपिनले विभिन्न राष्ट्रय तथा अन्तर्राष्ट्रियस्तरमा खेलहरू खेलिसकेका छन्। २०७४ साल चैतमा भारतको उत्तर प्रदेशको रुद्रपुरस्थित क्रिकेट खेल ग्राउण्डमा अर्को अन्तर्रा्ष्ट्रिय खेलका लागि नेपाली टोलीलाई निम्तो आयो। खेल भारत, नेपाल र बंगालादेशबीच भएको थियो। टुर्नामेण्टको दोस्रो खेलमा इन्जुरी भएका कारण विपिन खेल्न सकेनन्। खेलमा उनको अनुस्पतिथि टोलीका लागि भारी पर्‍यो। कुनै खेल जित्न सकेन नेपालले तर राम्रो अनुभव बोकेर स्वदेश फर्के नेपाली टोली र पौड्याल। 

फुटबल र बास्केटबल पनि

उनले आफूलाई क्रिकेटमा मात्र सीमित राख्न चाहेनन्। क्रिकेटसँगै खेलेका साथीहरूमार्फत उनले बास्केटबलको पनि ट्रेनिङमा उपस्थित हुन थाले। एथ्लेटिक शरीरका विपिनलाई बास्केटबलमा जम्न समय लागेन। खेल्न थालेको एक वर्ष नबित्दै बास्केटबल खेल्न विभागीय टोली त्रिभुवन आर्मी क्लबले उनलाई ५ वर्षको लागि अनुवन्ध गर्‍यो। त्यहाँ रहेर उनले विभिन्न राष्ट्रियस्तरका बास्केटबल खेलिरहेका छन्।

जावलाखेल ह्‍विलचियर खेलकुद क्लब, नेपाल आर्मी, वीआइए, डब्लुएसए, नेपाल स्पाइनल कर्ड इन्ज्युरी स्पोर्टस क्लब (एनएससीआइए), लगायतका ह्‍विलचियर बासकेटवल क्लबहरूसँग उनले राम्रो प्रदर्शन गरिसकेका छन्। क्रिकेट र बास्केटबलमा विपिनको राम्रो प्रदर्शन भइरहँदा मदनबहादुर रोकायाले एक फुटबल क्लब गठन गर्ने प्रस्ताव लिएर आए। यति बेलासम्म नेपालमा विपिन जस्ता ‘एम्प्युटेड’ शारीरिक अवस्था भएका व्यक्तिहरूको फुटबल क्लब थिएन।

विपिनलाई यो प्रस्ताव मन पर्‍यो। उनीहरूले मदनबहादर रोकायाको अध्यक्षता रहने गरी एम्प्युटी सोसाइटी स्पोर्टस नेपालको गठन गरे। सोसाइटीको उपाध्यक्षको जिम्मेवारी आफूले लिए। अब उनको ध्यान फुटबलतिर खिचियो। एम्प्युटेड खेलाडीहरुलाई संगठित गर्दै उनीहरूको सोसाइटीले ट्रेनिङ क्याम्प संचालन गर्न लाग्यो। क्लबमा आफूले कप्तानी सम्हाले। गठन भएको केही महिना मै अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहकार्य गर्दै सोसाइटीले राष्ट्रियस्तरको फुटवल प्रतियोगिता संचालन गर्ने भयो।

‘पारा राष्ट्रिय खेलकुद च्याम्पियन्ससिप २०७५’ अन्तर्गत सोसाइटीले फुटबल प्रतियोगितामा आफैँ पनि भाग लिन लागेको थियो। दुई चरणमा भएको सो प्रतियोगितामा एम्प्युटी स्पोर्टस सोसाइटी नेपालको एभरेष्ट नेपाल, रेड नेपाल टिम र आर्मीबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा विपिनको कप्तानीमा रहेको रेड नेपाल टिमले च्याम्पियन्सिप जित्यो। 

जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा भएको यो जितमा केवल विपिन र उनको टोलीमात्र खुसी थिएन। उनीहरुको यो खुसीमा ग्राउण्डको एक कुनाबाट एक घण्टादेखि खेल हेरिरहेकी विपिनकी श्रीमती अनिता पौडेलले पनि चर्को हुटिङ गरिरहेकी थिइन्। अहिले विपिनले ह्‍विलचियर पहिलो ह्विलचेयर एसियाकप क्रिकेटको तैयारी गरिरहेका छन्। अन्तर्राष्ट्रिय ह्विलचेयर क्रिकेट काउन्सिलले मान्यता दिएको यस प्रतियोगितामा उनको नाम पनि समावेश भएपछि दैनिक ट्रेनिङ्ग्राउण्ड धाउने गरेका छन्।  

ह्‍विलचियर क्रिकेट महासंघ नेपालको आयोजनामा बैशाख १८ गतेदेखि हुने पहिलो संस्करणको प्रतियोगितामा नेपाल सहित बंगलादेश, भारत र पाकिस्तानको सहभागिता रहने छ। अघिल्लो बर्ष नेपाल, भारत र बंगलादेश बीचमा भएको त्रिकोणात्मक क्रिकेट प्रतियोगितामा विपिन ‘बेष्ट बलर अफ द टुर्नामेण्ट’ भएका थिए। 

‘जीवन सकिएको छैन’

‘यदि गन्तव्यको पहिचान छ भने बाटो हिँड्न कठिन हुँदोरहेनछ।’ आजभन्दा २ महिनाअगाडि एम्प्युटी फुटबल प्रतियोगितामा जित हाँसिल गरेपछि ६ महिना अगाडि मात्र बिहे गरेर आफ्नो जीवनमा भित्र्याएकी श्रीमतीको हात समात्दै उनले सोचेका थिए। अमेरिकी गीतकार एवं कवि बब् डिलनले एक गीतमार्फत भनेका छन्,‘समयहरू परिवर्तित छन्। अहिले हार्नेहरूको जित पछि हुनेछ।’ ६० को दशकमा हिप्पीमय अमेरिकामा डिलनले रचेका यी शब्दहरू सुन्दा विपिन पौडेलको मस्तिष्कमा एउटा तरंग छाउँछ। जोसले भरिन्छन् उनी। अनि सुस्तरी मुखले दोहोर्‍याउँछन् ‘अहिले हार्नेको जित पछि हुनेछ।’ यसोभन्दा उनको मुहार चम्किलो हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.