|

मुगु : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले विगतमा भए गरेका कमी कमजोरी लाई सच्चाउँदै जाने बताएका छन।

शनिबार मुगु सदरमुकाम गमगढीमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्वालाले चालु आर्थिक वर्षमा विविध समस्या र अडचनकाबीच प्रदेश सरकारले काम गर्नु परेकाले केही कमजोरी देखिए पनि आगामी आर्थिक वर्षमा कमि कमजोरीलाई सच्याउदै १ करोड भन्दा मुनिका टुक्रे योजना दिने काम पूर्ण रुपमा बन्द हुने बताए। चालु आर्थिक वर्षमा प्रदेशका विभिन्न जिल्लाहरूमा प्रदेश सरकारले टुक्रे योजना दिएको  र आलोचना आएपछि आगामी आर्थिक वर्षमा टुक्रे योजनालाई नियन्त्रण गरिने मन्त्री ज्वालाले दावी गरेका छन।

अन्योलतामा सरकार

चालु आर्थिक वर्षमा विभिन्न कानुन, कार्यविधि तथा निर्देशिका बनाउनु पर्ने, कुन योजना कसले चलाउने भन्ने विषयमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच अन्योलता रहेकाले चालु आर्थिक वर्षमा विकास बजेट खर्चको अवस्था निराशाजनक देखिए पनि आर्थिक वर्षको अन्त्यसम्म बजेट उत्साहजनक रुपमा खर्च हुने मन्त्री ज्वालाको भनाई थियो। चालु आर्थिक वर्षभित्र परियोजना बैंक निर्माण गरी प्राथामिकताका आधारमा योजना सूचीकृत गर्ने र आगामी आर्थिक वर्षको सुरुवातदेखि नै बैंक कार्यान्वयन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ।

योजना सूचीकृत गरी कुन योजना कसले चलाउने भन्ने विषयलाई टुंगो लगाई सकेपछि लगानी सम्मेलन आयोजना गर्ने, संघीय संरचना पछि कतिपय कार्यालयहरू सेवा प्रवाह असहज हुने गरी बनाइएकाले भौतिक पूर्वाधार, कृषि, पर्यटन र सामाजिक विकास मन्त्रालयका जिल्ला कार्यालय स्थापना गर्ने सरकारको लक्ष्य रहेको मन्त्री ज्वालाले पत्रकार सम्मेलनमा प्रतिबद्धता जनाए।

कर्णाली प्रदेश सरकारले मन्त्री र प्रदेश सभा सदस्यहरूको पहुँचका आधारमा बजेट दिएको जसका कारण मन्त्री नभएका जिल्लामा बजेट न्यून दिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री ज्वालाले आगामी आर्थिक वर्षमा पहुँचका आधारमा नभई सबै जिल्लाको सम्भावना र आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने बताए।

नाग्म गमगढी सडक कालो पत्रे प्राथामिकता 

आगामी आर्थिक वर्षमा मुगुका लागि पर्यटन विकास, नाग्म गमगढी सडक कालो पत्रे गर्ने कार्यलाई प्राथामिकता दिई पर्याप्त बजेट व्यवस्था गने, गमगढी नाक्चे लाग्ना सडकलाई राष्ट्रिय गौरबको आयोजना भित्र राखि पर्याप्त बजेट विनियोजन गर्न केन्द्र सरकारलाई दवाव दिने, समानिकण अनुदानलाई ४० करोडबाट १ अर्ब पुर्‍याउने, समपुरक बजेट ६० करोडबाट ८२ करोड बनाउने लक्ष्य रहेको मन्त्री ज्वालाको भनाई छ।

कर्णाली रारा पर्यटन वर्ष उद्घाटनमा प्रक्रियागत त्रुटी  

कर्णाली रारा पर्यटन वर्ष २०७५ को उदघाटन कार्यक्रममा आर्थिक घोटाला भएको भन्ने विषय गलत भएको तर लागत खर्च अनुमान कम गरी कार्यक्रम बनाइएको तर खर्च बढी आउँदा प्रक्रियागत त्रुटी  भएको मन्त्री ज्वालाले दावी गरे। कर्णाली प्रदेशको कर्णाली प्रदेश योजना आयोगले सदरमुकाम गमगढीमा आयोजना गरेको  प्रथम आवधिक योजनाको आधार पत्र तर्जुमाका लागि सुझाव संकलन गोष्ठीमा सहभागी हुन मन्त्री ज्वाला शनिवार मुगु पुगेका हुन।

गोष्ठीका लागि प्रदेश योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुण्यप्रसाद रेग्मी, आयोगका सदस्य डाक्टर दीपेन्द्र रोकायाको टोली मुगु आएकाे थियाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.