|

काठमाडौं : इतिहास र वर्तमानका विषय जोडेर लेख्न प्रख्यात सुजित मैनाली आफ्नो नयाँ पुस्तक ‘शिलान्यास’सहित बजारमा आएका छन्। शनिबार उनको पुस्तकको विमोचन भएको छ।

सुजितकोको गैर आख्यान ‘शिलान्यास’ को पत्रकार सुधीर शर्मा, मानवशास्त्री गौरव केसी र अन्तर्राष्ट्रिय मामिलाविद् लिला न्याइच्याइले विमोचन गरेका थिए।

कार्यक्रममा पत्रकार सुधीर शर्माले शिलान्यासले वर्तमानका प्रश्नहरूलाई इतिहासको आलोकबाट सम्बोधन गरेको उल्लेख गरे। ‘इतिहासको प्रसंग भए पनि लेखकले वर्तमानकै प्रश्नलाई उठाइरहनुभएको छ’, शर्माले भने।

पुस्तकमा नेपाली इतिहास, समाज र संस्कृतिबारे किताबले सरल ढंगमा व्याख्या गरिएको शर्माको टिप्पणी थियो।

‘नेपाली इतिहास, समाज र संस्कृतिबारे लेखिएका महत्वपूर्ण सबै दस्तावेज छिचोलेर सरल ढंगमा लेखिएको छ’, शर्माले भने, ‘एकदमै लोकप्रिय इतिहास नभए पनि यो सरल इतिहास लेखन भने अवश्य हो। पुस्तकमा इतिहासलाई लोकप्रिय ढंगले प्रस्तुत गरिएको छ।’

मानवशास्त्री गौरव केसीले इतिहासका अन्य पुस्तकमा नगरिएको काम शिलान्यासमा गरिएको दावी गरे।

‘पुस्तक संक्षिप्त, सरल र सबैले बुझ्ने भाषामा लेखिएको छ। नेपाली इतिहासलाई छोटो समयमा बुझ्न चाहने जोकोहीका लागि यो पुस्तकले ह्यान्डबुकको रूपमा काम गर्छ’, शर्माले भने।

किताबमा नेपाल राज्यको निर्माण, नेपाली शासकले विभिन्न कालमा देखाएको रणनीति र कुटनीतिको समग्र चर्चा गरिएको केसीले उल्लेख गरे।

‘वर्तमान जति कन्तबिजोक भए पनि इतिहास जिवन्त हुँदोरहेछ। वर्तमान बिर्सिए पनि इतिहास नबिर्सिँइदो रहेछ। कुनै न कुनै हिसाबले हामीले इतिहास सम्झिने रहेछौं। यो पुस्तक पनि त्यसैको अभिव्यक्ति हो’ शिलान्यासमाथि केसीको टिप्पढी थियो।

अन्तर्राष्ट्रिय मामिलाविद् लिला न्याइच्याइले पुस्तकले नेपाली इतिहासको सचित्र व्याख्या गरेको उल्लेख गरिन्।

‘शोधकार्यको महत्व उसको प्रश्न कति वजनदार हुन्छ भन्नेमा भर पर्छ। सुजितजीका प्रश्न वजनदार छन्’, न्याइच्याइले भनिन्। पुस्तक अध्ययनले इतिहासको समीक्षा मात्र नगरी वर्तमानको सन्दर्भमाथि पनि प्रश्न उठाउने उनले टिप्पणी गरिन्।

‘इतिहासको चरित्र वा शासनको चरित्र हिंसामात्रै हो त भन्ने प्रश्न पुस्तकले जन्माएको छ। इतिहासको सत्ता राजनीति हिंसा र षड्यन्त्रबाट घेरिएको छ भन्ने किताबले जनाउँछ। के आजको सत्ता राजनीति पनि त्यसरी नै चलेको छ त?’ न्याइच्याइले प्रश्न गरिन्।

लेखक सुजित मैनालीले वर्तमानका अनेकौं प्रश्नलाई हल गर्न इतिहासको सहारा लिइएको उल्लेख गरे। किताब सामूहिक प्रयत्नको परिणाम भएको उनले जनाए।

‘प्रकाशकले अग्रसरता नलिएको भए यो पुस्तक लेखिदैनथ्यो’, मैनालीले भने। कार्यक्रममा पुस्तकमाथि प्रकाशक भुपेन्द्र खड्काले धारणा राखेका थिए।

शिलान्यास बुक हिल पब्लिकेशनले प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.