|

चितवन : चितवन मेडिकल कलेजमा उपचारका क्रममा ९ महिनाको बच्चाको ज्यान गएपछि परिवार र आफन्तले अस्पातलमा तोडफोड गरेका छन्। सामान्य रुघाखोकीको उपचार गराइरहेका रुपेश घिमिरेका नौ महिनाका छोरा रुप्सन घिमिरेको ज्यान गएपछि आक्रोसित परिवार र आफन्तले अस्पतालको मुख्य प्रवेशद्वारमा तोडफोड गरेका हुन्।

अस्पातलको लापरबाहीको कारण बच्चाको ज्यान गएको र अस्पातलले शवसमेत गायब बनाएको मृतकका आपन्तले आरोप लगाएका छन्। अस्पातलको चरम लापबाहीको कारण ज्यान गएको र आफुहरूलाई खबर नै नगरी शव गायब गराएको उनिहरूले आरोप लगाएका छन।

गत २ गते नर्सले इन्जेक्सन दिने क्रममा बच्चाको श्वास प्रश्वासमा समस्या भएपछि सिपिआर गरिएको बच्चाका बुबा रुपेशले बताए। त्यसपछि उपचारका लागि भेन्टिलेटरमा राखिएको नाबालक रुप्सनको १० गते ज्यान गएको भन्दै अस्पातल प्रशासनले खबर गरेको उनले बताए। दिउँसो ४:१५ मा नै बच्चाको ज्यान गएको भनेर आफूलाई राती १० बजे बल्ल खबर भएको उनले बताए। १० गते बिहानसम्म डा. सन्तोष पाठकले बच्चा बाँच्न सक्छ भनेको तर राति एक्कासी फोन गरेर बच्चाको ज्यान गएको खबर प्राप्त भएको उनले बताए।

बच्चाको ज्यान गएको खबर अस्पातलबाट पाएपछि शव बुझ्न जाने क्रममा अस्पातलले शव नै गायब गरेको उनको आरोप रहेको छ। उनले आफूहरूलाई जानकारी नै नगराई बच्चाको शवलाई भरतपुर सरकारी अस्पातलमा पुर्‍याइएको  परिवारको आरोप रहेको छ। घटनाबारे चितवन मेडिकल कलेजले अहिलेसम्म केही जानकारी गराएको छैन।

उक्त घटनापछि अस्पताल प्रशासन, बच्चाका परिवार, आफन्त र मजदुर सङ्गठनका नेताहरूबीच वार्ता भए पनि निष्कर्ष निस्कन सकेन। अस्पतालले उपचारमा लागेको खर्च ब्यहोर्ने बताएको र परिवारले अस्पतालले गम्भीर लापरबाही गरेकोले १० लाख रुपैयाँ क्षतिपूर्ती दिनुपर्ने माग राखेको स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.