|

काठमाडौं : प्रदेश १ सरकारले 'एक विद्यालय एक नर्स' कार्यक्रम सुरु गरेको छ। यसअघि प्रदेश ३ ले यो कार्यक्रम सञ्चालन गरिसकेको छ। विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै स्वास्थ्य पनि प्रदान गर्ने उद्धेश्यले यो कार्यक्रम अघि बढाइएको हो।

आर्थिक वर्ष २०७५/७६ को मंसिरदेखि प्रदेश ३ का १३ जिल्लाका २० सामुदायिक विद्यालयमा यो कार्यक्रम चलिरहेको छ । चैत १ बाट प्रदेश १ ले १४ विद्यालयमा यो कार्यक्रम सञ्चालन गरेको छ।  प्रदेश ३ मा स्कुल नर्सका लागि रोकथाम र प्रवर्द्धनात्मक क्षेत्रमा आठवटा कार्यक्षेत्र तोकिएका छन्। यो कार्यक्रमका लागि संघीय स्वास्थ्य मन्त्रालयले प्राविधिक सहयोग गरिरहेको छ।

प्रदेश ३ को सामाजिक मन्त्रालयका प्रवक्ता सतिश विष्टले यो कार्यक्रम महिलालाई लक्षित गरेर सञ्चालन गरेको बताए। उनले छात्रामा देखिने समस्याको परामर्श, स्वास्थ्य जीवनको शिक्षा प्रदान गर्नमा लक्षित गरेको बताए। ‘विद्यार्थीलाई विद्यालय तहबाट नै स्वास्थ्यसम्बन्धी ज्ञान दिन, स्वास्थ्य जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन र स्वस्थ्य जीवन र यौन प्रजनन स्वास्थ्यमा देखिने समस्याबारे परामर्श दिन एक विद्यालय एक नर्स कार्यक्रम सुरु गरेको हो', उनले भने । 

विष्टका अनुसार विद्यालयमा खटिने नर्सले विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नुका साथै स्वस्थ्य सफा तथा सिकाई निर्मित वातावरण तयार गर्ने, किशोरीलाई महिनावारी तथा यौन स्वास्थ्यसम्बन्धी परामर्श दिने, सिपमा आधारित स्वास्थ्य सिकाई प्रदान गर्ने, विद्यार्थीको पोषणको लेखाजेखा गर्ने, व्यक्तिगत सरसफाईसँगै विद्यालय तथा वातावरण सरसफाईबारे परामर्श दिने जिम्मेवारी पाएका छन्। 

उनले विद्यार्थीहरु घरभन्दा बढी समय विद्यालयमा बिताउँछन्। तर स्कुल समयमा देखिएका समस्याको तत्कालै समाधान हुन नसक्ने गम्भीर समस्यालाई ध्यान दिइ सञ्चालनमा ल्याइएको उनले बताए । यो कार्यक्रम अहिले प्रभावकारी बनेको उनको भनाइ छ । यस कार्यक्रमबाट विद्यार्थीको सरसफाईसँगै विद्यालयको वातावरणमासमेत सुधार आएको उनले बताए। 

शिक्षाप्राप्त गर्न स्वस्थ हुनु आवश्यक हुन्छ। जब शिक्षा प्राप्त गर्ने व्यक्ति सवल, निरोगी र स्वस्थ्य हुन्छ तब मात्र देशको शिक्षाले उल्लेख्य प्रगति भएको मानिन्छ। यही कुरालाई मध्यनजर गर्दै प्रदेश १ का सामाजिक मन्त्रालयका प्रवक्ता गोपी घिमिरले १४ विद्यालयमा गत चैत १ बाट उक्त कार्यक्रम सञ्चालनमा ल्याएको बताए। उनले प्रदेश १ मा भएका विद्यालयमध्ये १४ विद्यालय छनोट गरी १४ जना नर्स विद्यालयमा पठाइसकेको बताए।

'विद्यालयमा स्वास्थ्य सरसफाईको चेतना, विद्यार्थीलाई प्रारम्भिक स्वास्थ्य सम्बन्धी ज्ञान, सरुवा रोगसम्बन्धी जानकारी, शिक्षा आर्जन गर्नका लागि विद्याथीलार्ई पूर्ण रुपमा स्वास्थ्य बनाउनुपर्छ भन्ने उद्देश्यले सञ्चालन गरेको हौं', उनले भने। उनले आगामी वर्ष सरकारले बजेटको व्यवस्था गरेमा प्रदेशका सबै विद्यालयमा यो कार्यक्रम लागू गर्ने योजना रहेको बताए।

प्रदेश ३ का कुन् विद्यालयमा को नर्स ? 

प्रदेश सरकारका अनुसार प्रदेश ३ मा अवस्थित कृष्णरत्न मावि चौतारा सिन्धुपाल्चोकमा दीपा श्रेष्ठ प्रधान, भिमेश्वरी मावि भिमटार सिन्धुपाल्चोकमा सोभा गिरी, हनुमन्तेश्वर मावि देलखामा भगवती श्रेष्ठ, जनज्योती मावि सिन्धुलीमा सन्ध्या ढकाल र कालिका हिमालयन मावि रसुवामा दीपा ठाकुर स्कुल नर्सको रुपमा कार्यरत छन्।

त्यस्तै मन्थली मावि रामेछापमा निरझरा तामाङ, विन्दुकेशर मावि नुवाकोटमा ज्योती सापकोटा, महेन्द्र मावि मकवानपुरमा रेसमा संजेल, आधुनिक मावि मकवानपुरमा करुणा श्रेष्ठ, पार्वती मावि काभ्रेपलाञ्चोकमा सिर्जना तिमल्सिना, जनसेवा मावि काठमाडौंमा निर्मला महर्जन, पद्यकन्या मावि काठमाडौंमा उर्मिला पुडासेनी खटिएका छन् ।

त्यसैगरी त्रिपद्या विध्याश्रम मावि ललितपुरमा लीला महर्जन रहेका छन्। योसँगै नारायणी मावि चितवनमा सन्जु तिमल्सिना, निलकण्ठ मावि धादिङमा परिक्षा पाण्डे, चन्द्रोदय मावि धादिङमा सरस्वती तिमल्सिना, बागीश्वरी मावि भक्तपुरमा उर्मिला पुडासेनी, आदर्शसोल मावि ललितपुरमा प्रतिज्ञा शाक्य स्कुल नर्सका रुपमा कार्यरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.