|

उदयपुर :  बुहारी एक वर्षअघि क्यान्सर रोगले बितिन्, ४१ वर्षे छोरो दुर्गाबहादुर समालमगर पनि थर्थरी काम्ने रोगले बित्यो। रौतामाई गाउँपालिका-६ नामनतकी ६९ वर्षे आमा फौदमाया समालमगरले भनिन, ‘बुहारीको क्यान्सर भन्ने रोग पत्ता लाग्यो, छोराको रोग नै पत्ता लागेन, थर्थरी काम्दै बित्यो, दुई नातिनातिनाको जिम्मा मेरो काँधमा आएको छ।’

झण्डै  सात वर्षयता रौतामाई गाउँपालिका-६ नामनताको मगर समुदायमा अनौठो रोग देखा परेको छ। जुन रोगबाट एकजनाको मृत्यु भएको छ, भने अन्य आठ जना बिरामी परेको फौदमाया मगर बताउँछिन्। उनले भनिन्, ‘सामान्य हिँडडुल गर्नेेदेखि खानाखाने र शौच गर्नसम्म सक्दैनन्, शरीर थरथरी काप्ने, हाटखुट्टा राम्रोसँग चलाउ नसक्ने, खाना खान, शौच गर्न नसक्ने, आफ्नै शरीरमा कपडासमेत लगाउन नसक्ने, रोग बढदै गएको छ।’

मुखबाट र्‍याल आउने, बोलीविस्तारै कम हुँदै गएर बोल्नै नसक्ने जस्ता लक्षण देखिने रोगका कारण आठजना जोखिममा छन्। रोग बढ्दै जाँदा दिनरात सुत्न नसक्ने स्थानीय ७० वर्षीय डम्बरबहादुर समालमगर बताउँछन्।

उनले भने, ‘म पनि त्यसैको बिरामी छु, ‘उपचार गर्न सक्ने दुर्गाबहादुर थिए, कतै जाँदा पनि रोग पत्ता लागेन, उनको मृत्यु भयो, म पनि बिरामी छु।’ ७० वर्षे डम्बरबहादुर समालमगर, ६४ तुलबहादर, ६० वर्षे जानुमाय समालमगर, २८ वर्षे पुष्प, ३० वर्षे ललिता, ४० वर्षे हिरा र ३० वर्षे बलबहादुर समाल मगर रहेका छन्।

वडासदस्य रौतामाई गाउँपालिका ६ का वडासदस्य तुलबहादुर थापामगरले भने, ‘दुर्गबहादुर झण्डै पाँच वर्षयता शरीर थर्थरी काप्ने, हाटखुट्टा राम्रोसँग चलाउन नसक्ने, खानाखान, शौच गर्न नसक्ने, आफ्नै शरीरमा कपडासमेत लगाउन नसक्ने अवस्थामा थिए, ‘वर्ष दिनअघि श्रीमतीको मृत्यु भएको थियो, उनको रोग नै पत्ता नलागीकनै मृत्यु भयो।’

जोखिममा रहेकामध्ये डम्वरबहादुरको अवस्था ज्यादै नाजुक रहेको उनको भनाइ छ। खाना खान, हातमुखधुनदेखि शौचालयसम्म जानका लागि उनकी ६७ वर्षीय श्रीमती पदममायाको सहयोग लिनुपर्छ।

सामन्य बोलचालसमेत गर्न नसक्ने डम्बरबहादुर खानखान सक्दैनन्। उनको दुवै हात समान्य मानिसको जस्तो मुखमा जादैन, खुट्टाहरू राम्रोसँग चल्दैनन्। मुखबाट र्‍याल चुहिरहने डम्बरबहादुर भोक लागेको बेला भात दे भन्नेबाहेक अरू केही कुरा बोल्न छाडेको वडा सदस्य मगरले बताए। तीन छोरा पाँच छोरीमध्ये कान्छो छोरा यम समालले बाबुको पीडा देख्न नसकेर आत्माहत्या गरेको स्थानीयवासी बताउँछन्।

धामी झाँक्रीको उपचार

बिरामी परेकालाई अहिलेसम्म औषधि उपचार भने गरिएको छैन। उपचार गरेका दुर्गाबहादुरले काठमाडौं, विराटनगर जाँदा पनि रोग पत्ता नलागेको परिवारिक स्रोत बताउँछ। देवी देउता लागेको भन्दै धामीझाँक्रीको भर परेका पीडितले त्यसैमा दुई अढाई लाख रुपैयाँ खर्चेको बताए।‘कुलदेवता बिग्रिएको, वायु लागेको भन्दै वर्षौंसम्म धामीझाँक्री गरेको रौतामाई गाउँपालिका-६ का वडाअध्यक्ष केशव मगरले जानकारी दिए।

उनले भने, ‘धामीझाँक्रीले वायु लागेको भन्दै झारफुक गर्दै बसेका छन्, ‘उमेर पनि बूढो हुँदै गयो रोगले पनि धेरै च्याप्दै जाँदा मृत्यु भएको देखिन्छ।’ हिँडडुल गर्न समस्या नभए पनि खाना खान भने ठूलो समस्या रहेका बलबहादुरले रोग ठिक हुने विश्वास लिएर क्रिश्चियन भएको बताए। बलबहादुरले भने,  ‘तर क्रिश्चियन भए पनि रोग ठिक भएन, धामीझाँक्री, कुलदेउता समेतले नभएपछि क्रिश्चियन हुँदा ठीक हुने भनेर क्रिश्चियन नभएको, तर पनि रोग निको भएन।’

दुई सातापहिले काठमाडौं वीर अस्पतालमा जँचाउन गएका उनलाई डाक्टरहरूको हडतालका कारण औषधि उपचार गरिदिएन। मृत्यु हुने दुर्गाबहादुर, गम्भीर बिरामी डम्बरबहादुर र बलबहादुरलगयात बिरामी सबै समालमगर समुदायका एउटै परिवारका हुन्। सामन्य खेती किसान गरेर गुजारा गर्ने समाल मगर समुदायका बिरामीहरूका कारण उनीहरूको घर परिवार पछिल्लो समय समस्यामा छ।

बिरामीलाई सुताउने, उठाउने, खानाखुवाउने, शौच गराउनेदेखि हिँडडुल गर्दा लडे घाइते हुन्छ कि भन्ने रेखदेख गर्नुपर्दा परिवारका अन्य सदस्यसमेत आक्रान्त छन्। निर्वाचनताका स्टेचरमा बोकाएर भोट हाल्न मतदान केन्द्र ल्याउने नेता अहिले सरकारले समेत बेवास्ता गरेको उनीहरूको भनाइ छ।

रोग पत्ता लगाउन जिल्लाबाहिर पठाउने तयारी

बिरामी परेका आठै जनालाई प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल गाईघाट ल्याइपुर्‍याइएको छ। जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलका अनुसार बिरामी परेका ७० वर्षे डम्बरबहादुर समालमगर, ६४ तुलबहादुर, ६० वर्षे जानुमाय समाल मगर, २८ वर्षे पुष्प, ३० वर्षे ललिता, ४० वर्षे हिरा र ३० वर्षे बलबहादुर समाल मगर रहेका छन्।

उनले भने, ‘कुनै पनि रोग जिल्ला अस्पतालले किटानी दिन सकेको छैन, उनले  ‘धेरै रोगसँग मिल्ने लक्षण भएकाले विभिन्न कोणबाट परीक्षण जारी छ।’ उनले जिल्लामा सम्भव नदेखिएकाले जिल्लाबाहिर पठाउने तयारी भएको समेत जानकारी दिए। जिल्ला अस्पतालका डाक्टर अरुण मण्डलले बंशाणुगत रोग भएको हुनसक्ने भन्दै जिल्ला बाहिरनै पठाउनु पर्ने बताए।उनले भने ‘धेरै प्रकारका संकेत देखिएको छ, जिल्ला अस्पतालमा रोग पत्ता लगाएर उपचार गर्न सम्भव छैन, जिल्लाबाहिर भोलि पठाउने तयारी गरिएको छ।’

सोही क्षेत्रका प्रदेश एक प्रदेशसभा सदस्य नारायण बुर्जामगरले सिंगो मगर समुदाय नै अनौठो रोगले पीडित बनेको थाहा पाएपछि प्रदेशसभामा सोही समस्या उठाएका थिए। उनले भने, ‘अचम्‍मखालको रोग देखापरेको थाहा पाएँ, रोग पत्ता लगाउन र उपचार गर्न प्रदेशसभालाई ध्यानाकर्षण गराएको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.