|

भद्रपुर, (झापा) : आन्दोलित चिया मजदुरले झापाको हल्दिबारीस्थित एउटा चिया उद्योगमा तोडफोड गर्दै आगजनी गरेका छन् । 

मजदुर नेता दीपक तामाङ्ग र सीता सापकोटाको नेतृत्वमा गएका मजदुरहरुले आइतबार दिउँसो हल्दिवारी गाउँपालिका–२ कदक चोकमा सञ्चालित कामाख्या देवी टि प्रालिमा तोडफोड र आगजानी गरेका हुन् ।

तोडफोडबाट करिब १० लाख बढीको क्षति पुगेको उद्योगका सञ्चालक कृष्ण प्रसाईले जानकारी दिए । बिर्तामोडमा उद्योगीको पुतला दहन गरी ट्रकमा पुगेका सय भन्दा बढी मदजुर बाँसको भाटा बोकेर उद्योगमा पसेका थिए। 

सोधपुछ नगरी एक्कासी कार्यालय कोठामा आएर मजदुरहरुले तोडफोड गरेको उद्योगका अर्का सञ्चालक शुक्र दाहालले बताए । उनका अनुसार मजदुरको तोडफोडबाट कार्यालय कोठाको झ्याल ढोकाको सिसी, टेबल कुर्सी, मोबाइल र एउटा कम्प्युटरमा क्षति पुगेको छ । 

‘आक्रोशित मजदुरहरुले उद्योगमा रहेको १० हजार केजी हरियो पत्ति नष्ट गरिदिएका छन्, उनले भने, ‘उद्योग परिसरमा रहेको ट्रकमा तोडफोड गर्दै कुर्सी र चियाको झोलामा आगजनी गरिएको छ ।’

‘सरकारले तोकेको न्युनतम ज्याला दिने शर्तमा मजदुरसँग सहमति गरी आइतबारदेखि चिया उद्योग सञ्चालनमा ल्याएका हौँ’, सञ्चालक दाहालले भने, ‘सहमतिबारेमा आन्दोलित मजदुर नेता सन्तकुमार राईलाई जानकारी गराएका थियौं, त्यसपछि उद्योग खोलेर हरियो पत्ती लिन थालेका थियौँ ।’

मजदुर नेताहरुले उद्योगीहरुको कुरा नसुनेर गरिएको तोडफोड घटनामा राजनीति जोडिएको उनले बताए । नेकपानिकट मजदुर नेतालाई जानकारी गराएको  बताउँदै उनले कांग्रेसका मजदुर तोडफोडमा आएकोले यो घटना सुनियोजित भएको दाबी गरे । 

‘हामीले सरकारले तोकेको ज्याला दिने सहमति गरिसकेको अवस्थामा तोडफोड गर्नु उद्योगीको पक्षमा मजदुर नरहेको पुष्टि यसले गरेको छ’, अर्का सञ्चालक प्रसाईले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.