|

दाङ : मानपुर, दाङको पुरानो व्यापारिक केन्द्र। कुनै समयमा पश्चिम दाङलगायत पहाडी जिल्लाको मानिसहरु किनबेचका लागि मानपुर आउँथे। 

यहाँ तत्कालीन अञ्चलाधीश कार्यालयलगायत सरकारी कार्यालय थिए। बजारमा सडक बत्तीले झलमल हुन्थ्यो। बिजुली बत्ती नपुगेको बेला अञ्चलाधीशको पहलमा मानपुर बजारको सडकभरी मट्टितेल भरेका लाल्टिन झुण्ड्याइएका थिए। त्यसको प्रकाशले सडक झलमल्ल हुने गरेको दृश्य कुमुदराज शर्मालाई अझै ताजै छ।

अहिले मानपुरमा बिजुली बत्ती पुगेको छ। तर, सडक बत्ती छैन। न त बजारमा चहलपहल नै छ। मानपुर नाम मात्रको मात्र बजार छ। 

तुलसीपुर उपमहानगरपालिका–१७ मा पर्ने मानपुर बजारमा रहेका सरकारी कार्यालयहरु तुलसीपुरमा स्थानान्तरण हुन थालेपछि यहाँको रौनक क्रमशः हराउँदै गएको हो। अहिले त यहाँ सुनसान झै छ। 

मानपुरमा तत्कालीन अञ्चलाधीशको पहलमा निर्माण भएको पञ्चेधारा छ। त्यस धारामा नुहाएको र हरेक नवदुर्गामा देखाइने रामलीला कुमुदराज शर्माको स्मृतिपटमा ताजा छ। त्यति मात्र होइन, दाङको सदरमुकाम घोराहीबाट जुलेवी पारखीहरु मानपुर आएर जुलेवी गएको पनि उनको सम्झनामा छ। 

बजारमा वनारसी मिठाइ, लालमोहन, पेडा, बर्फी छ्यापछ्याप्ती पाइन्थ्यो। कपडा किन्न सल्यान, रुकुम र प्युठानका मान्छे आउँथे। नुन, चिनी किन्न मानपुर बजारको विकल्प थिएन। कोइलाबास बजारपछि मानपुर नै दाङको ठूलो बजार थियो। 

उहिलेको व्यापारिक केन्द्र मानपुरमा अहिले एउटा चियापसल समेत छैन। चिया र खाजा खानका लागि बिजौरी बजार धाउनुपर्ने बाध्यता आएको छ। भारतको बलरामपुरबाट कोइलाबास हुँदै व्यापारका लागि मानपुर आएका व्यापारीहरु धेरैजसो उतै फर्के। केही तुलसीपुर बसाइँ सरे।

मानपुर बजारमा सामान किन्न जाँदा मानिसको हुलमा हराउने डर हुने गरेको मानपुर झिंगैका कृष्णबहादुर बुढाथोकीले सम्झना सुनाए। उनले भने, ‘अहिले त्यो ठाउँमा बजार थियो भन्दा पनि विश्वासै नलाग्ने अवस्था छ।’ 

मानपुरमा स्कुल, पञ्चेधारा, अञ्चलाधीश कार्यालय, इलाका हुलाक कार्यालय, हवाइ अड्डा, राष्ट्रिय बाणिज्य बैंक थियो। ती कार्यालयहरुमध्ये  केही पहिले तुलसीपुर सरियो भने रहेका केही तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला सारिएको स्थानीयहरु बताउँछन्। 

मानपुरको त्यो रौनक पहिलो पुस्ताका त्यहाँका बासिन्दामा मात्र सीमित छ। पछिल्लो पुस्ताका यहाँका बासिन्दालाई त्यो रौनक कथा झै लाग्न सक्छ । किनकि, मानपुर बजार अहिले सुनसान झै छ।

तर, मानपुर जिनुवागाउँका समाजसेवी तुल्सी गिरीलाई भने त्यो विगतको त्यो रौनक फर्किन आशा अझै रहेछ। ‘यहाँका केही जमिनदारले जग्गाको व्यवस्था नगर्दा मानपुर बजार तुलसीपुर सरेको हो,’ उनले भने, ‘आशावादी छु यो बजार पहिलेजस्तै हुन सक्छ।’

यस क्षेत्रलाई कृषि पकेट क्षेत्र बनाए यस क्षेत्रलाई जीवन्त बनाउन सकिने गिरीको भनाइ छ। पानीको मुहान प्रसस्त भएकाले सिँचाइको व्यवस्था गर्न अप्ठ्यारो नपर्ने उनको बुझाइ छ। 

मानपुरको इतिहासलाई फर्काउने आश गिरीलाई मात्र छैन। वडा नम्बर १७ का अध्यक्ष थलराज पुरीलाई पनि छ। मानपुरलाई पुनः आधुनिक बजारका रुपमा स्थापित गर्न स्थानीय सरकारले मार्गचित्र कोरिसकेको उनले बताए। ‘रोल्पाको होलेरीबाट बिजौरी हुँदै मानपुर पुगेर पूर्व–पश्चिम राजमार्गको जलकुण्डी जोड्ने सडक एउटा मुख्य आधार हो,’ उनले भने, ‘त्यही सडकले मानपुरलाई फेरि जीवन्त बनाउँछ।’ 

मानपुरमा रहेका सरकारी कार्यालय यहाँबाट अन्यत्र सार्नुमा राजनीतिक कारण रहेको स्थानीयको बुझाइ छ। जग्गा अभावको कारण देखाउँदै अञ्चलाधीश कार्यालय तुलसीपुरमा सारिएको स्थानीयको भनाइ छ। यस्तै, घोराही–मानपुर–तुलसीपुर सडकको सर्भे परिवर्तन गरी घोराही–बिजौरी–तुलसीपुर बनाइयो। यस काम तात्कलीन अञ्चलाधीश चन्द्रमान थकालीको पहले रहेको स्थानीयहरु बताउँछन्। यद्यपि, यसको लिखित दस्तावेज भने छैन।

मानपुरमा रहेको सबै वस्तु खण्डहरजस्तै भए पनि यहाँको पञ्चेधारा अझै जीवन्त छ। धारामा बाह्रै महिना पानी आइरहन्छ। जहाँ स्थानीयहरु नुहाउने र कपडा धुने गर्दछन्। 

२०२० सालतिरै मानपुर–जलकुण्डी सडकमा ट्याक्टर आवतजावत हुने सडक अहिलेको अमिलिया–तुलसीपुर सडकभन्दा २१ किलोमिटर छोटो छ। त्यसैगरी हेमन्तपुर–निमुवार–मानपुर–साइपुर हुँदै तुलसीपुरको महेन्द्र हाइस्कुल जोड्ने सडक समेत सञ्चालनको तयारीमा छ। चौखोलामा पुल बनेपछि सडक सञ्चालनको अन्तिम तयारीमा रहेकाले पनि मानपुरको पुरानो साख फर्किनेमा यहाँका बासिन्दा आशावादी छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.