अर्थ

बिआरआईमा समेटिएपछि नेपाल आउला चीनको रेल ?
SHARES

बैशाख १६, २०७६

    काठमाडौं : नेपालले २०७२ सालमा नयाँ संविधान जारी गरेपछि भारतले नाकाबन्दी लगायो। भारतको ६ महिने नाकाबन्दी खेपेको नेपालले विकल्पको खोजी थाल्यो। विकल्पको खोजीका क्रममा नजिक थियो उत्तरी छिमेकी चीन। नाकाबन्दी लागेपछि नेपाललाई चीनसँग अझै नजिक हुनुपर्ने बाध्यता पर्‍यो।

    आयात निर्यातमा भारतसँग सबैभन्दा बढी निर्भर नेपालले विकल्पकारूपमा चीनलाई अघि सारेसँगै रेल लाइनको चर्चा सुरु भयो। तीव्रगतिमा आर्थिक विकास गरिरहेको चीनले आफ्नो भूमिमा उही गतिमा रेलमार्गको विस्तार गरिरहेको छ। उसले आफ्नो रेल सञ्जाल विस्तार गरेर बेइजिङबाट तिब्बतको राजधानी ल्हास्सासम्म ल्याइसकेको छ।

    पहिलोपटक प्रधानमन्त्री बनेपछि चीन भ्रमणमा गएका केपी शर्मा ओलीले पारवहन सम्झौता गरेसँगै रेलमार्गको चर्चा सुरु भएको हो। हालै मात्र राष्ट्रपति विद्यादेवी भण्डारी बिआरआई सम्मेलनमा भाग लिन चीन गएसँगै रेलमार्गले नयाँ चर्चा पाएको छ।

    पारवहन सम्झौतासँगै खोलेको रेलमार्ग निर्माणको पहल राष्ट्रपति भण्डारी चीन गएपछि एक खुड्किलो अघि बढेको छ।  चीनमा सम्पन्‍न दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्मेलनका क्रममा नेपाल-चीन सीमापार परियोजनामा रेलमार्ग पनि समेटिएपछि यो विषयले नयाँ चर्चा पाएको छ। बिआरआईमा समेटिएका ३५ बुदाँमध्ये २३ नम्बरमा नेपाल-चीन सीमापार परियोजना उल्लेख छ। 

    तर, यसलाई कसरी कार्यन्वयन गर्ने? कस्तो मोडेलमा लैजाने? लगायतका सवाल भने अहिले छलफलको क्रममा छन्। यद्यपि, नेपाल-चीनबीच रेल जोड्ने कुरा बहसको विषय बनेको छ। जटिल हिमाली भूगोल पर्खाल रहेको दुई देशबीच रेलमार्ग निर्माणको सम्भाव्यताबारे पक्ष र विपक्षमा बहस जारी छ।

    भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौला बिआरआईमा रेल मार्ग समेटिनु सकारात्मक भएको बताउँछन्। 'बिआरआईमा नेपाल-चीन रेलमार्गको विषय उठाइएको छ, यो सकारात्मक कुरा हो’, सिटौलाले भने, ‘बिआरआईमा पर्नु भनेको बन्‍नु भनेको होइन, प्राथमकिताको परियोजना भन्‍ने हो। चीनको प्राथमिकताको योजनामा परिसकेकाले अबको पहलकदमीले यो योजना कार्यान्यवलाई निर्धारण गर्छ।'

    बिआरईमा परे पनि चीन-नेपाल रेलवे बनाउनेबारे विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को टुंगो लागिसकेको छैन। यो परियोजनाको डिपिआर बनाउन अर्बौं रकम आवश्‍यकता पर्छ। नेपाल आफैँले यो खर्बौं डलरको परियोजना बनाउने क्षमता पनि राख्दैन।

    रेल विभागका प्रवक्ता इन्जिनियर अमन चित्रकार चीन-नेपाल रेलवेको डिपिआरको मोडेलबारे  छलफल भइरहेको बताउँछन्। प्रारम्भिक अध्ययनअनुसार ७३ किलोमिटर लामो रेलमार्गका लागि दुई खर्ब ५७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।  यो मार्ग निर्माणका लागि नौ वर्ष लाग्ने रेल प्राविधिकहरूको अनुमान छ। केरुङदेखि काठमाडौँसम्मको रेलमार्ग निर्माणका क्रममा ९८ प्रतिशत सुरुङ र पुल बनाइने बताइएको छ।

    यति ठूलो रकम नेपालले खर्च गर्ने क्षमता नराख्‍ने पूर्वसचिव सिटौला बताउँछन्। ‘यो महँगो मूल्य हो, नेपालले यति ठूलो बजेट खर्च गर्ने क्षमता राख्दैन', उनी भन्छन्, 'त्यसैले हामी सहयोग जुटाउन केन्द्रित हुनुपर्छ।’

    यो रेलमार्गमा निर्माणका लागि नेपालले चीनसँग अनुदान सहयोग मागेको छ। तर, यसबारेमा चीनले अहिलेसम्म ठोस निर्णय सुनाएको छैन। यसअघि चिनियाँ अनुदानबाट चलेका ट्रली बससहितका परियोजना नेपालबाट गायव भइसकेका छन्। यस्तोमा चीनले रेलमार्गका लागि सजिलै लगानी गर्नसक्ने अवस्था नरहेको विज्ञ बताउँछन्।

    कसरी चल्छ?

    रेल मार्ग बनेपछि सञ्चालन लागतले झनै समस्या पार्ने विज्ञ बताउँछन्। दुईतर्फी रेल चल्न नसकेमा यसको व्ययभार ठूलो पर्ने उनीहरूको भनाइ छ। पछिल्लो वर्ष नेपाल-चीन व्यापार बढेको छ। तर, त्यो आयत व्यापारमा मात्रै सीमित छ। चालू आर्थिक वर्षको आठ महिनाको तथ्यांक केलाउँदा नेपालले चीनबाट एक खर्ब ३९ अर्ब रुपैयाँको सामान आयात गरेको छ। नेपालबाट चीनले ३९अर्ब रुपैयाँको सामान लगेको छ।

    रेलमार्ग जोडिँदा नेपालजस्तो भूपरिवेष्ठित मूलकका लागि सहज हुने बताइन्छ। तर, चीनबाट आएको रेल फर्कँदा भरिनेगरी सामान उत्पादन हुनुपर्ने पूर्वसचिव सिटौला बताउँछन्। ‘एकतर्फी लोड भएर आयो भने हाम्रो सेवा महँगो हुन्छ किनकि ढुवानी लागत बढी पर्न जान्छ', उनी भन्छन्, 'त्यसकारण दुईतर्फी लोड हुनेबारे हामीले ध्यान पुर्‍याउनुपर्छ।'

    रसुवागढी दक्षिण एसियाको नाका 

    सन् २०१२ मै चीनले रसुवागढीलाई दक्षिण एसियासँग जोड्ने प्रमुख व्यापारिक नाका बनाउने योजना सार्वजनिक गरिसकेको छ। सन् २०१५ को चिनियाँ अध्ययनमा उक्त रेलमार्ग नेपालका लागि पनि रणनीतिक महत्वको छ।

    बिआरआईबारे जानकार कल्याणकुमार रोका दुई सरकारबीचको सहकार्य बढाएर यस्ता परियोजना अघि बढाउन सकिने बताउँछन्। ‘बिआरआईका केही पूर्वसर्त र मान्यताहरू छन्। यसले सहकार्यलाई जोड दिन्छ', उनले भने, 'यो भनेको सरकार-सरकारबीचको संयोजन र सहकार्यबाट सम्भव हुने कुरा हो।’

    उनी यो परियोजनाबाट देशले कति फाइदा लिन्छ भन्‍ने कुरा पहिल्यै औँल्याउन सक्नुपर्ने बताउँछन्। 'सबैभन्दा पहिलो कुरा देश र राष्ट्रिय हित हो। यसबाट नेपालले कति फाइदा उठाउन सक्छ भन्‍ने हो', उनी भन्छन्, 'यी कुरा ध्यानमा राखेर जे गर्न सकिन्छ, त्यसमा सरकारले गम्भीर हुनुपर्छ।'

    चिनियाँ राष्ट्रपति सी चिन फिङले अगाडि बढाएको वन बेल्ट वन रोड परियोजनामा अहिलेसम्म ६५ देश आबद्ध भइसकेका छन्। दक्षिण एसियामा नेपालसहित प्राय सबै देश यसमा जोडिइसकेका छन्। चीनको प्रमुख व्‍यापारिक साझेदार भारतले भने यो परियोजनामा प्रश्न उठाउँदै आएको छ। 

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]