|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा यतिबेला प्राइभेट स्‍नातकोत्तरको फर्म भर्नेहरूको भीड देखिन्छ। फर्म भर्नेहरूमा विभिन्न उमेरसमूहका विद्यार्थी देखिन्छन्।

अछामबाट छोराछोरी भेट्न काठमाडौं आएका ५५ वर्षीय काशीराम बजगाईं अहिले फर्म भर्नमै व्यस्त छन्। पेसाले शिक्षक हु्न् उनी। केही दिनअघि काठमाडौं आएका उनलाई काठमाडौं आएपछि मात्र प्राइभेट स्नातकोत्तरको फर्म खुलेको थाहा भयो। आफूलाई पनि राजनीति शास्त्रमा एमए गर्न रहर जागेपछि आज फर्मको अन्तिम दिन फर्म भर्न आएको बताउँछन् उनी।

वैशाख महिनाको तातो घाममा कोही छाता ओढेर लाइनमा छन् त कोही पसिनामै उभिएका छन्। यिनीहरूकै भीडमा छिन् संखुवासभाकी रामेश्वरी क्षत्री। उनी प्राइभेट स्नातकोत्तरकै फर्मका लागि संखुवासभाबाट आएको बताउँछिन्। ‘भोलिबाट दोब्बर दस्तुर तिर्नुपर्ने हुँदा आजै फर्मको लागि आएकी हुँ,’ उनले भनिन्। फर्म दस्तुर १३ सय रुपैयाँ रहेको पनि उनले सुनाइन्।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सहपरीक्षा नियन्त्रक पशुपति अधिकारीका अनुसार यो फर्म चैत १६ गतेदेखि सुरु भएको हो। उनले चैत १६ देखि वैशाख १५ सम्ममा काठमाडौंबाट मात्र २५ हजारले फर्म भरेको बताए। उनले भने, ‘प्राइभेट स्नातकोत्तरको फर्म जागिर खुलेको जस्तै  भएको छ। अन्तिम दिन आज फर्म भर्नेको झन् भीडभाड छ।’

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक डा. सञ्जयकुमार मिश्रले जनप्रशासन एमपिए र राजनीतिशास्त्र एमए गरी दुईवटा मात्र विषयको फर्म खुलेको बताए। उनले चारवटा केन्द्रहरु नेपालगञ्ज, कैलाली, विराटनगर, पोखराबाट पनि फर्म संकलन भइरहेको बताए। उनका अनुसार चार केन्द्रबाट संकलित फर्म र त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट अन्तिम दिन भरेका फर्मको विवरण एक हप्ताभित्रमा सार्वजनिक हुनेछ। उनले आज अन्तिम मिति भएसँगै भोलिबाट दोब्बर दस्तुरमा एक हप्तासम्म फर्म भर्ने व्यवस्था रहेको बताए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.