|

धनगढी : सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ। चालू आर्थिक वर्षको पछिल्लो नौ महिना यता मात्रै १७४ सवारी दुर्घटनामा परी १७७ जनाले ज्यान गुमाएका छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा भएका ६७७ सवारी दुर्घटनाबाट ५५१ जनाले ज्यान गुमाएका छन्। हजारौँ घाइते छन्। सवारी दुर्घटनामा चालकको धेरै लापरबाही देखिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक लालबहादुर साउदले बताए।

‘खास गरी सिकारुले गाडी चलाउँदा सवारी दुर्घटना भइरहेको छ,’ उनले भने, ‘अत्यधिक भार, सवारीको चाप, साँघुरो सडक र मानवीय लापरबाही दुर्घटनाका मूल कारक हुन्।’

बढ्दो सवारी दुर्घटना

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा भएका सवारी दुर्घटनामा परी १६६ जनाले ज्यान गुमाएका छन्। आव २०७३/०७४ मा भएको १८४ सवारी दुर्घटनामा १३२ जनाले ज्यान गुमाएका थिए। यस्तै, २०७२/०७३ मा १५५ दुर्घटनामा परी १२१ जनाले ज्यान गुमाए।

यस्तै, आर्थिक वर्ष २०७१/०७२ मा १५० सवारी दुर्घटनामा परी १४७ जनाले ज्यान गुमाएका थिए।

विगतमा एक वर्षमा भएको दुर्घटनाभन्दा बढी  चालू आर्थिक वर्षको नौ महिनामा भएका छन्। 

चालक र सडक मुख्य कारण

प्रदेशभित्र रहेको तराई क्षेत्रमा पर्ने दुई जिल्ला कैलाली र कञ्चनपुरमा चालकको लापरबाहीले दुर्घटना बढी हुने गरेको र पहाडी सात जिल्लामा सडकको दूरावस्थाका कारण दुर्घटना बढेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक साउदले बताए।

‘तराईका अधिकांश दुर्घटना चालककै लापरबाहीबाट भएको पाइएको छ’ उनले भने। पहाडी क्षेत्रमा भएका दुर्घटना भने चालकको लापरबाहीसँगै सडकको अवस्था पनि प्रमुख कारण भएको प्रहरीको भनाइ छ।

प्रभावहीन टाइम कार्ड

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कैलालीमा लागू गरेको टाइम कार्ड प्रभावकारी बन्न सकेको छैन। पहाडी जिल्लामा लागू भइसकेको टाइम कार्ड तराईका दुई जिल्ला कैलाली कञ्चनपुरमा पनि लागू गरिएको थियो। टाइम कार्ड लागू भएको एक वर्षभन्दा बढी हुँदा पनि यो प्रभावकारी बन्न सकेको छैन।

टाइम कार्डअनुसार कञ्चनपुरको महेन्द्रनगरदेखि अत्तरियासम्म ४३ किलोमिटरको दूरीका लागि १ घण्टा १५ मिनेटमा र अत्तरियादेखि चिसापानी कर्णालीसम्म ७८ किलोमिटरको दूरीका लागि २ घण्टा २० मिनेट तोकिएको छ। निर्धारित समयभन्दा पहिले पुगे कारबाही गरिने प्रहरीले बताइएको छ। तर अहिले टाइम कार्ड प्रभावहीन बन्दा कोही कसैलाई कारबाही हुन सकेको छैन। 

त्रसित यात्रु

बर्सेनि बढिरहेका सवारी दुर्घटनाका कारण यात्रुहरु त्रसित बनेका छन्। अत्यधिक सवारी चाप बढ्दा पनि सरकारले सडकको स्तरोन्नतिमा ध्यान नदिँदा दुर्घटनाहरू बढिरहेका छन्। भारतबाट बझाङको चैनपुर हिँडेका रामबहादुर पाल धनगढी बसपार्कमा प्रत्येक वर्ष हुने दु:खद दुर्घटनाले आफूलाई त्रसित पारेको बताउँछन्।

‘दुई/चार वर्षमा भारतबाट घर आइन्छ। घरसम्म पुग्नै गारो लाग्छ’ उनले भने,‘मान्छे त्यति हाल्छन्। सामान त्योभन्दा बढी कोच्छन्।’

प्राविधिक समस्या

लामो दूरीमा दुईजना चालक अनिवार्य गरिए पनि सुदूरपश्चिम प्रदेशमा पहाडी जिल्लामा चल्ने सवारीमा दुईजना चालक राखेको पाइँदैन। दुईजना चालक नराख्दा पनि दुर्घटना बढेको प्रहरीको भनाइ छ। एउटै चालकले आठ घण्टाभन्दा बढी सवारीसाधन चलाउन नपाउने नियम सरकारले ल्याए पनि यसको कार्यान्वयन भएको छैन।

सवारी साधनको प्राविधिक पक्ष कमजोर हुँदा पनि दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ। बेला-बेलामा उपकरणको चेक जाँच गर्नुपर्ने हुन्छ। तर त्यो नियमित गरेको पाइँदैन। त्यसले पनि दुर्घटना भएको प्रहरी निरीक्षक साउदको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.