|

पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले तिव्रता पाएको छ। 'इमर्जेन्सी ल्याण्ड' गर्न मिल्नेगरी धावनमार्ग (रनवे) निर्माण भइसकेको छ विमानस्थल निर्माणको काम तोकिएको मितिभन्दा ६ महिनाअघि नै पूरा गर्ने लक्ष्य छ।

असार मसान्तसम्म रनवे बाहेकका प्रगति ३५ प्रतिशत हुने अनुमान गरेको आयोजनाले आर्थिक वर्ष सकिँदा ४० प्रतिशत भन्दा धेरै काम हुने आँकलन गरिएको छ। विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सम्झौता भएर काम अघि बढेको हो।

नेपालकै नयाँ प्रयोगमा रनवे 

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा रनवेको काम सम्पन्न भइसकेको छ। नेपालमा रहेका सबै विमानस्थलमा रनवे बनाउँदा पिच गर्ने गरिए पनि यो विमानस्थलमा भने ढलान गरिएको आयोजनाले जनाएको छ। २५ सय मिटर लामो दूरीको विमानस्थलमा पहिलो पटक ढलान गरिएको हो। ‘पहिलो पटक ढलान गरेर रनवे बनाइएको छ। यो रनवेको ढलानको ३० वर्षे वारेन्टी छ’ विमानस्थलका प्रोजेक्ट म्यानेजर विनेश मुनाकर्मीले भने। रनवे सकेपछि अहिले विभिन्न प्रयोजनको लागि प्रयोग हुने आठवटा भवनहरु धमाधम निर्माण भइरहेका छन्। 

आपतकालीन ल्याण्ड गर्न सकिने

विमानस्थलको धावनमार्गले पुग्ने क्षमताका विमानहरू आपतकालीन ‘ल्याण्ड’ गर्न सकिने मुनाकर्मीले जानकारी दिए। ‘धावनमार्गले पुग्ने विमानले आपत्कालीन ल्याण्ड गर्न सक्छन्,’ उनले भने। 

लक्ष्यभन्दा धेरै प्रगति चालू आर्थिक वर्षको असार मसान्तसम्म ३५ प्रतिशत काम सक्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाको अहिलेको गतिले ४० प्रतिशत पुग्नेमा आयोजना कम्पनी ढुक्क छ। यो प्रगति रनवे निर्माण बाहेकको हो। ‘हामीले काम गर्दा यति समयमा यति काम सक्ने भनेर लक्ष्य राखेर गरेका छौँ,’ उनले भने, ‘असार मसान्तसम्म ३५ प्रतिशत काम हुन्छ भन्ने अनुमान थियो। तर, हामीले तीन महिना अघि नै ३५ प्रतिशत लक्ष्य पूरा गर्‍यौँ।’ २२ अर्ब रुपैयाँको लागतमा बन्ने विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था आइकाओको मापदण्ड अनुरूपको हुनेछ।

२०७७ पुसमा निर्माण पूरा 

आयोजनाले विमानस्थल निर्माणको सम्पूर्ण काम २०७७ सालको पुससम्ममा सक्ले लक्ष्य राखेको छ। नेपाली र चिनियाँ गरेर झण्डै ५०० कामदारले काम गरिरहेका छन्। रनवेको काम सकिसकेको निर्माण कम्पनीले ट्याक्सी पार्किङमा पनि दोस्रो चरणको काम सकिएको छ। २०१७ को नोभेम्बरमा निर्माण सुरु भएको विमानस्थलमा टर्मिनल भवन  बनिरहेको छ। सम्झौता भने २०२१ को जुलाइ १० सम्म छ। विमानस्थलमा निर्माण भइरहेको टर्मिनल भवन १४ हजार वर्गको हुनेछ। टर्मिनल भवनको शिलान्यास पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले गत भदौमा गरेका थिए।

उक्त टर्मिनल स्वदेशी र विदेशी उडानका लागि छुट्याइएको छ। आठ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि प्रयोग हुनेछ। पोखरा विमानस्थलमा ल्याण्ड गर्ने विमानहरू अहिले विश्वमा धेरै उडान भरिरहेका मझौला खालका १८० सिट क्षमताका हुनेछन्। मुनाकर्मीका अनुसार २०१९ मा ६० प्रतिशत र २०२० को भित्र ४० प्रतिशत काम सक्ने आयोजनाको लक्ष्य छ। ‘वान–वे एप्रोच’को यो विमानस्थलमा पूर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन्। २०२१ को जुलाइमा अन्तर्राष्ट्रिय उडान गर्ने आयोजनाको लक्ष्य छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.