|

काठमाडौं : पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर परीक्षा सञ्चालन गरेका निजी कलेजमाथि कारबाही माग गर्दै नेविसंघका विद्यार्थहीरुले प्रदर्शन गरेका छन् । कलेजमाथि कारबाही माग गर्दै विरोधमा उत्रिएका नेविसंघ पोखरा विश्वविद्यालय विभागका विद्यार्थी नेता नवराज त्रिपाठी मंगलबार पक्राउ परेका छन्।

विश्वविद्यालयले चौथो पटक तोकेको मितिअनुसार परीक्षा सुरु भइसकेको छ। विद्यार्थीहरुले पुरानो बानेशवरस्थित सायम कलेजमा परीक्षा चलिरहेका बेला कलेजलाई कारबाही माग प्रदर्शन गरेका थिए। उनलाई तीनकुनेस्थित प्रहरी वृत्तमा राखिएको छ।

पोखरा विश्वविद्यालयले विद्यार्थी आन्दोलनकैबीच परीक्षा सञ्चालन गरेको हो। सोमबारदेखि सञ्चालित परीक्षामा पोखरा विश्वविद्यालयको केन्द्रीय कलेजमा १५४ परीक्षार्थी सामेल छन्।

परीक्षा भइरहेका बेला आन्दोलन नरोकिएपछि  कलेजहरुमा प्रहरी परिचालन गरिएको छ। पोखरा विश्वविद्यालय अन्तर्गतका कलेजहरुमा मंगलबार पनि परीक्षार्थीले प्रहरी घेराभित्र बसेर परीक्षा दिएका छन्।

पोखरा विश्वविद्यालयमा भएको बदमासीविरुद्ध मंगलबार साइन कलेज मध्यबानेश्वर अगाडि प्रदर्शन गरिएको नेविसघंका कार्यकर्ता मनिष सिंखडाले बताए । प्रदर्शनका क्रममा प्रहरीले लाठी प्रहार गरी विद्यार्थीलाई लखेटेको थियो। ‘पोखरा विशवविद्यालयले गल्ती गरेको हो, गल्ती गर्ने कलेजलाई हामीले कारवाहीको माग गरेका हौ’, उनले भने।

सर्वोच्च अदालतले परीक्षा गराउन आदेश दिए पनि विश्वविद्यालयले विद्यार्थीको भविष्यमा खेलबाड गरेको उनले बताए। विद्यार्थीको समस्याको समाधान र विश्वविद्यालयलाई कारबाही गर्नुपर्ने नेविसघंको माग रहेको बताए। 

पोखरा विश्वविद्यालय अन्तर्गतका ४२ कलेजमा 'डी प्लस ग्रेड' ल्याउने विद्यार्थीलाई पनि रजिष्ट्रेशन गराई परीक्षामा सामेल गराउन सर्वोच्च अदालतले आदेश दिएको थियो।

उक्त आदेशलाई विश्वविद्यालयले कार्यान्वयन गराउन नहुने भन्दै विद्यार्थी समूह केही दिनदेखि नै आन्दोलनमा उत्रिएका थिए। सोमबार सञ्चालित परीक्षामा आन्दोलित विद्यार्थी समूहले परीक्षामा अवरोध पुर्‍याउन खोजेका थिए। त्यसक्रममा एक विद्यार्थी घाइते छन् भने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा विश्वविद्यालयका सहपरीक्षा नियन्त्रक पुष्पा पौडेलले सोमबार र मंगलबार व्यवस्थापन, स्वास्थ्य विज्ञान, मानविकी तथा समाजशास्त्रको स्‍नातकतहको १० विषयको परीक्षा सम्पन्‍न भएको बताइन्। ‘३० हजार विद्यार्थीको भविष्य जोडिएकाले आन्दोलनकैबीच परीक्षा सञ्चालन गर्न बाध्य भएको छौं। सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएका छन्,’ उनले भनिन्।

लामो समयदेखि पोखरा विश्वविद्यालयमा 'डी प्लस ग्रेड' ल्याउने विद्यार्थीको रजिष्ट्रेशन लिन नहुने भन्दै विद्यार्थी समूह पटकपटक आन्दोलनमा उत्रिएका थिए। विद्यार्थी समूहको आन्दोलन र तालाबन्दीका कारण परीक्षा तीन पटकसम्म सरिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.