|

डडेल्धुरा : युवा स्वरोजगारका लागि सरकारले दिएको ब्याज अनुदानको रकम अझै उठ्न सकेको छैन। डडेल्धुरामा कृषि विकास बैंकबाट ८९ लाख ५० हजार कर्जा प्रवाह गरिएको थियो। १८३ जनालाई दिइएको उक्त कर्जा रकममध्ये हालसम्म ६२ लाख ५८ हजार रुपैयाँ मात्रै चुक्ता भएको छ।

विभिन्न कारवाही प्रक्रियापछि १०२ जनाले लिएको कर्जाको साँवा ब्याज चुक्ता गरेका छन्। अझैं ८१ ऋणीबाट २६ लाख ९१ हजार साँवा र २१ लाख ९८ हजार ब्याज गरी ४९ लाख ९० हजार कर्जा रकम चुक्ता हुन नसकेको कृषि विकास बैंक डडेल्धुरा शाखा प्रवन्धक चक्रवीर भण्डारीले बताए। चुक्ता भएको रकम ऋण प्रवाह गरेको ऋणको ७० प्रतिशत हुन आउँछ। अझै ३० प्रतिशत कर्जा चुक्ता हुन बाँकी रहेको भण्डारीको भनाइ छ।

कृषि विकास बैंकले कर्जा चुक्ताका लागि घर घरमा ताकेता पत्र पठाउनुका साथै पत्रपत्रिकामा नाम प्रकाशित, सरकारी सेवा सुविधा रोक्का जस्तै अनुदान, नागरिकता बनाउने, तालिमलगायत प्रक्रिया शुरू भएकाे जनाइएकाे छ। साथै प्रशासनिक कारवाही र निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता रोक्कालगायतका प्रक्रिया अघि सारिएकाले ७० प्रतिशत कर्जा चुक्ता भएको प्रबन्धक भण्डारीले बताए।

२०६९ साल पुस महिनामा नेपाल सरकारले देशैभर वाणिज्य विकास बैंक र कृषि विकास बैंकमार्फत युवा रोजगारीका लागि ब्याज अनुदानको कर्जा दिएको थियो। परम्परागत रुपमा कृषि, पशुपालन तथा अन्य घरेलु उद्योगका काम गरीरहेकालाई व्यवसाय सञ्चालन गरी युवा स्वराेजगार बनाउने लक्ष्यका साथ सरकारले ५ प्रतिशत ब्याजदरमा ५० हजारसम्म रकम बाँडेको थियो।

कर्जा प्रवाह गरे वाफत बैंकहरुले एक प्रतिशत ब्याज आफूले राख्ने गरी अनुदानमा छ प्रतिशत ब्याजदरमा रकम दिइयो। पाँच वर्षका लागि दिइएको अनुदान ब्याजको कर्जा भने हालसम्म चुक्ता हुन सकेको छैन। ऋणीले कर्जाको ब्याज र साँवा वार्षिक रुपमा बैंकमा बुझाइ पाँच वर्ष अर्थात् २०७४ साल पुस मसान्तसम्म चुक्ता गरिसक्नु पर्ने थियो।

कृषि विकास बैंक डडेल्धुरा शाखाले २०६९ साल पुस महिनामा युवा स्वरोजगारको ८९ लाख ५० हजार कर्जा प्रवाह गर्‍यो। बैंकले १८३ जनालाई उक्त रकम कर्जा दिएको थियो। जुन रकम हालसम्म पनि चुक्ता हुन सकेको छैन। कर्जा प्रवाह हुँदा तत्कालीन एनेकपा माओवादी नेतृत्वको सरकार थियो।

सरकारको नेतृत्व गर्दै डा. बावुराम भट्टराई प्रधानमन्त्री थिए। कर्जा लिनेमा पनि तत्कालीन एनेकपा माओवादी निकट स्थानीय नै थिए। यो पुष्टि बैंकले कर्जा चुक्ता गर्न थालेको सरकारी सेवा-सुविधा रोक्का तथा प्रशासक कारबाहीबाट खुलेको छ। कर्जाको युवा स्वरोजगार कर्जाको रकम दुरुपयोग भएको बैंकको ठहर छ। तत्कालीन सरकारमा रहेका पार्टीका नेता कार्याकर्ताले स्थानीयका नारिकता संकलन गरी रकम कुम्ल्याएको पाइएको बैंकले जनाएको छ।

दुरुपयोगकै कारण पाँच वर्षमा चुक्ता गर्नुपर्ने रकमको व्यास समेत नतिरेको र साँवा पनि चुक्ता नगरेको पाइएको छ। कतिपय ऋण विदेश गएको देखिएको छ। स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा कर्जा चुक्ता नगर्नेको उम्मेदवारी मनोनयन दर्ता रोक्का गरिएपछि सात जनाले कर्जा चुक्ता गरेको कृषि विकास बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.