|

इलाम : अन्तिम खेलमासमेत पराजित भएपछि एएफसी यु–१९ महिला च्याम्पिनयसिप छनोटको दोश्रो चरणमा नेपाली टोली जितविहीन बनेको छ । 

सान्तवना जितको खोजीमा रहेको नेपालको चुनौती २–१ ले पन्छाउँदै घरेलु टोली म्यानमार विजयी भयो । यो हारपछि छनोट खेललाई सुखद अन्त्य गर्ने नेपालको सपना अधुरै रहेको हो । 

मण्डलेस्थित मण्डलर थिरी रंगशालामा पहिलो हाफमा सुरुवाती अग्रता लिएको नेपाली टोलीले दोश्रो हाफमा दुवै गोल खायो । प्रीति राईलाई म्यानमारका खेलाडीले लडाएपछि ३९ औँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई मनीषा राउतले गोलमा परिणत गरिन् । 

त्यसपछि १० खेलाडीमा सीमित घरेलु टोलीविरुद्ध पाएको अवसरलाई नेपालले सदुपयोग गर्न नसक्दा जितविहीन बन्दै प्रतियोगिता अन्त्य गर्यो । नेपालका लागि नियमित फरवार्ड रेखा पौडेल चोटका कारण उपस्थित थिइनन् ।  

थाइल्यान्डमा हुने प्रतियोगिताको लागि म्यानमारसँगै समूह विजेताकारुपमा अष्ट्रेलिया पनि छनोट भएको छ । आजै भएको पहिलो खेलमा अष्ट्रेलियाले उज्वेकिस्तानमाथि ४–१ गोलको जित निकालेको थियो ।

पहिलो चरणमा भारत र पाकिस्तानलाई पराजित गरेको नेपाल हेड टु हेडका आधारमा समुहको दोश्रो स्थानमा रहेको थियो । प्रत्येक समुहबाट एक-एक टिमले दोश्रो चरणमा स्थान बनाउने नियम थियो  । तर एएफसी यु–१९ महिला च्याम्पियनसिप आयोजकको हैसियतले थाइल्यान्ड स्वतः छनोट भयो । 

हारसँगै नेपाल र उज्वेकिस्तानको एएफसी महिला च्याम्पियनसिप खेल्ने सपना अधुरो रह्यो । एएफसी यू–१९ महिला च्याम्पियनसिपमा आयोजक थाइल्यान्ड, जापान, उत्तर कोरिया, चीनसँगै समुह ए को विजेता र उपविजेता अष्ट्रेलिया र म्यानमार तथा समुह बीको विजेता र उपबिजेता दक्षिण कोरिया र भियतनाम खेल्ने भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.