पाँच घण्टासम्म अर्बपति

|

काठमाडाैं : तपाईँको बैंंकमा खाता त पक्कै होला। खाता नभए खोलिहाल्नुहोस्। खाता भएपछि कहिले तपाईँको खातामा अचानक रकम जम्मा हुनसक्छ। यस्तै एउटा घटना नेपालमै भएको छ। 

इसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) मा कार्यरत क्लाइमेट चेन्ज विज्ञ डा. सन्तोष नेपाल मंगलबार अपराह्न कार्यालयमा काम गरिरहेका हुन्छन्। काम सकेर घर फर्किने हतारोमा रहेका बेला नबिल बैंकले अचानक उनको खातामा एक हजार होइन, दुई हजार होइन, २३ अर्ब ७६ करोड रुपैयाँ जम्मा गरिदिन्छ।यत्राे रकम आफ्नाे खातामा आएपछि उनी अक्क न बक्क पर्छन्।

खातामा यत्रो रकम कसले जम्मा गर्‍यो उनलाई थाहा हुँदैन। ‘अफिसमै थिएँ, ५ बज्नै लाग्दा मेरो खातामा २३ अर्ब ७६ करोड रुपैयाँ जम्मा भएको म्यासेज आयो, त्यसपछि लगातार फोन गर्दा पनि बैंकले पत्याएन', उनले भने, 'करिब एक घण्टा कुरा गरेपछि बैंकले सिस्टममा खराबी आएको भन्दै पैसा फिर्ता लियो। त्यसपछि मात्रै म ढुक्कले निदाएँ।’ तर, पैसा कहाँबाट र कसरी आयो भन्ने आधिकारिक जानकारी भने बै‌ंकले दिएको छैन। 

बैंकका आइटी प्रमुख शान्त पौडेलसँग कुरा गरेपछि रकम फिर्ता लिएको डा. नेपालले बताए। पौडेलसँग भने थाहाखबरको कुरा हुन सकेन। पटकपटक सम्पर्क गर्न खोज्दा उनले फोन काटे। 

पूर्वसचिव डा. भीम उपाध्यायले नेपाल पाँच घण्टासम्म नेपालकै अर्बपति बने भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.