|

उदयपुर : उदयपुरगढी गाउँपालिका ७ मा रहेको विश्वकञ्चन सामुदायिक वन उपभोक्ता समूह विकास निर्माणका काममा समेत सक्रिय छ। गाउँमा विद्यालय खोल्न, विद्युत् बाल्न, खानेपानी, पुल निर्माणमा समूहले अग्रणी भूमिका खेलेको छ।

गाउँमा विद्यालय थिएन, स–साना नानी पढाउन पैदल हिडाउँदै एक घण्टा टाढा छिमेकी गाउँको विद्यालयमा पठाउनु पर्थ्यो,’ विश्वकञ्चन प्रथामिक विद्यालयका उदयपुरगढी गाँउपालिका ७ अधेँरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवनसिंह सिग्देलले भने, ‘अहिले सामुदायिक वनकै पैसाले विद्यालय खोलेपछि साना नानी पढाउन सहज भएको छ।’ विद्यालयमा ६०\७० जना विद्यार्थी पढिरहेको उनले बताए।

सामुदायिक वन समूहकै पैसाले गरिबी निवारण कार्यक्रम अन्र्तगत प्रत्येक घरधुरीलाई केही वर्ष अघि बाख्रा समेत विरतरण गरेको थियो। अहिले त्यही बाख्राबाट सर्वसाधरणले एकलाख ५० हजारसम्म वार्षिक रुपमा आम्दानी गरिरहेको विश्वकञ्चन सामुदायिक वन उपभोक्त समूहका पुर्व अध्यक्ष तथा स्थानीय मोहन मगर बताउँछन। ‘पहिला पहिला बाख्रापालन गर्न सक्ने अवस्था पनि थिएन,’ उनले भने, ‘वन समूहको पैसाले बाख्रा वितरण गरेका थियौँ, अहिले त्यही आम्दानीको स्रोत बनेको छ।’

वन समूहले विभिन्न प्रजातिका बोका ल्याएर विकासे पाठापाठी पनि उत्पादन गरिरहेको उपभोक्ताहरू बताउँछन्। ग्रामीण क्षेत्रमा रहेको सामुदायिक वनले गाउँकै मुहार बदलदिएको छ। वनको आम्दानी पारदर्शी तरिकाले समुदायकै विकासमा खर्च गर्ने गरेको उपभोक्ता समूहका सचिव केशव अधिकारी बताउँछन्। ‘जब सामुदायिक वन दर्ता गर्‍यौं, तब गाउँको विकासले गति लियो। विकास निर्माणको बारेमा बोल्ने मान्छे नभएकाले पछि परेको गाउँ हो।’

सामुदायिक वन समूहको खस्किँदो अवस्थामा विश्वकञ्चनको लोभलाग्दो प्रगति छ। मजदुर गर्न विभिन्न सहर पुग्ने स्थानीय अहिले बाख्रापालन काममा जुटेका छन्। सामुदायिक वनको पैसाले गाउँमा बिजुली, खानेपानी, पुल तथा विद्यालय निर्माण, सडक निर्माण गरेको छ। विश्वकञ्चनले घना चुरे क्षेत्रको रहेको विश्वकञ्चन सामुदायिक वनमा  ८४ घरधुरी आबद्ध छन्। 

जंगलभित्र रहेको बस्तीमा अहिलेसम्म कुनै पनि सरकारी तथा गैर सरकारी निकायबाट बिकास निर्माणका योजना पुगेको थिएन। गाउँमा गाविस र जिविस लगायतमा पहुँचवाला व्यक्ति नहुँदा विकासे योजना नआएको गुनासा गर्ने उपभोक्ता सावउस दर्ता गरेर गाउँकै आवाश्यकता परिपूर्ति गरेको दाबी गर्छन्।

गाउँको विकास निर्माणमा गाउँकै वनले टेवा पुर्‍याएको वन समूहकै गणेशबहादुर खड्का बताउँछन्। ‘हाम्रो गाउँमा विद्यालय थिएन, विद्यालय स्थापना गर्यौँ। कुवाको पानी खानुपर्थ्यो, घर घरमा खानेपानीको धारा जोड्यौँ,’ खड्काले भने, ‘गाउँमा जनचेतनामूलक कार्यक्रम समेत हामीले वनबाटै आएको पैसाले परिवर्तन ल्यायौँ’
२०५९ सालमा जिल्ला वन कार्यालय उदयपुरमा दर्ता भएको विश्वकञ्चनले वैधानिक रुपमा २०६० सालबाट काम सुरु गरेको थियो।

स्थापना भएको १५ वर्षको अवधिमा चारपटक अध्यक्ष बनेका अध्यक्ष अध्यक्ष भीमबहादुर बस्नेत बताउँछन। ‘सावउसले गाउँमा विवादरहित सेवामूलक काम गरेको गरेको छ,’ उनले भने, ‘छिमेकी सावउसमा कार्य समिति बनाउन चुनाव हुन्छ, हाम्रोमा न विवाद हुन्छ, न चुनाव हुन्छ हामी सबैले एक मत भएर काम गर्छौँ।

वनले दिएको पैसालाई वन संरक्षणमा खर्च समेत गर्ने गरिएको छ। ‘हामीले विभिन्न चरणमा खुल्ला क्षेत्रमा सिसौ, डाले घाँस, खयर, अमलिसो लगायतका बिरुवासमेत रोप्ने गरेका छौँ’, अध्यक्ष बस्नेत भन्छन, ‘दैनिक रूपमा वनको हेरचाह पनि गर्ने गरेका छौँ।’ विश्वकञ्चन सामुदायिक वनले वन मन्त्रालय, सामुदायिक वन उपभोक्ता महासंघ लगायतका संघ संस्थाबाट उत्कृष्ट सामुदायिक वनको पुरस्कार पाएको छ।

वन डिभिजन कार्यालय गाईघाटका सुचना अधिकारी जागेश्वर साहले  जिल्लामा रहेका ३००भन्दा बढी सामुदायिक वन समूहमध्ये  नमुना काम गरेको बताए। ‘अन्य वनको तुलनामा धेरै राम्रो छ,’ उनले भने, ‘जिल्ला वनबाट पाउने विभिन्न पुररस्कार समेत पाएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.