|

काठमाडौं  : झन्डै एक दशकदेखि हिमाली जिल्लाहरु घुमिरहेका प्रदीप पोखरेल २०७१ चैत्रमा गोरखाको बारपाक पुगे। त्यतिबेला बारपाक महोत्सव चलिरहेको थियो। पत्रकार प्रदीपले महोत्सवका दृश्य खिचे। स्थानीय साँस्कृतिक झाँकीका दृश्य कैद गरे।

प्रदीपलाई बारपाकको सुन्दरताले लोभ्यायो। उनले त्यतिबेला १५ दिन बिताए। 'त्यतिबेला स्थानीय खेल, गीत सिकेको थिएँ। अनि भिडियो छायाङ्कन गरेको थिएँ' उनले बारपाकमा बिताएको पुराना दिनहरु सम्झिए। प्रदीपलाई बारपाक घुम्ने धित मरेकै थिएन। २०७२ सालको बैशाखमा फेरि बारपाक जाने योजनामा थिए। त्यही सुन्दर बारपाक हेर्न, गुराँसले फूलेको लाल बारपाक हेर्न र पालुवा पलाएको वन र चम्किला हिमालले घेरेको बारपाक हेर्न। 

भूकम्प पहिलेको बारपाक

भूकम्प जानुअघि नै भएको बारपाक महोत्सवमा बारपाक निकै जीवन्त देखिन्छ। जसमा स्थानीय पूरबहादुर घले घुर्रा खेलमा प्रथम हुन्छन्। उनलाई काँधमा चढाएर बधाई दिन्छन् गाउँलेले। अनि उनको हात उठाएर रेफ्रीले विजयी घोषणा गर्छन्। महोत्सव सफल पार्न आर्यन घले निकै खटिएका थिए। 

महोत्सवमा वृद्धा रोशनी घले आफ्नै उमेरका, अनुहारमा चाउरी परेकी महिलाहरुसँग पुराना र नयाँ गीत गाउँछिन्। उनीहरु चिन्ता गर्छन्, 'अहिलेका ठिटाठिटीले पुराना गीत र भाका बिर्सिसके।'

मनाङ, मुस्ताङ, रसुवा, गोरखा, डोल्पा, जुम्ला र सगरमाथा अञ्चलका बिभिन्न जिल्लामा घुमेर त्यहाँको जीवनशैलीलाई पत्रकारिता र डकुमेन्ट्री (वृत्तिचित्र) मार्फत बाहिरी दुनियाँलाई देखाइरहेका प्रदीपले यी दृश्य क्यामेरामा कैद गरेका थिए।

बारपाक भूकम्प केन्द्रबिन्दु

२०७२ बैशाख १२ गते बिहान ११:५६ मिनेटमा बारपाक केन्द्रबिन्दु बनाएर भूकम्प गयो। ७.६ म्याग्निच्यूडको भूकम्पले झन्डै १२ सय घरहरु भएको बारपाकलाई ९५ प्रतिशतसम्म भत्कायो।

'हामीले बैशाख पूर्णिमाका बेला जाने योजना बनाएका थियौं। तर दुखको कुरा, हामी जानुभन्दा पहिला भूकम्प गयो र बारपाक तहसनहस भयो। तयारी गरिरहेकै अवस्थामा त्यस्तो भयो' प्रदीपले थाहाखबरसँग त्यो दिन सम्झिए।

भूकम्प गएपछि त झन् प्रदीप बारपाक जान हतारिए। त्यति सुन्दर ठाउँ भूकम्पपछि कस्तो भयो होला भन्ने हुटहुटी थियो उनमा। भूकम्पपछिको बारपाकको दृश्य खिच्ने चाहना थियो प्रदीपलाई। क्यामेरा चलाउने केही साथी पनि सँगै जाने सल्लाह भयो। बारम्बारका परकम्पका धक्काले साथीहरु डराए। उनी भन्छन्, 'भूकम्प आएको पर्सिपल्ट नै जाने योजना बनाएको थिएँ। क्यामेराका साथीहरु गएनन्। हप्ता दिनपछि क्यामेरा बोकेर गएको थिएँ। राहत लिएर एक्लै गएको थिएँ।' 

प्रदीपले एक महिना पहिले देखेको टक्क मिलेको बारपाक भग्नावशेषमा परिणत भएको थियो। त्यतिबेला उनले घुर्रा खेलमा प्रथम भएका पुरबहादुर र आर्यन घलेको भूकम्पमा परी ज्यान गएको थाहा पाए। एक महिना अघिमात्र विदेशबाट आएका एक युवकको पनि भूकम्पमा मृत्यु भएछ। गाउँका सयौं मान्छेले आफन्त र बास गुमाएका थिए।

भूकम्प पछिको बारपाक

एक्लै क्यामेरा बोकेर हिँड्ने र कुनै चासो लागेको दृश्य कैद गर्ने प्रदीप बारपाकको भूकम्पले क्षतविक्षत गाउँका लागि राहत लिएर गए। भूकम्प गएको केही महिनापछि बारपाक जाँदा उनीसँगै थिए सलील सुवेदी। प्रदीपको भन्दा सलीलको बारपाक साइनो केही पुरानो हो। 

सन् २००७ मा कलाकार सलील सुवेदी डोको रेडियो नामक कार्यक्रम लिएर बारपाक पुगेका थिए। उनलाई स्थानीयले लालीगुराँसका फूलका मालाले स्वागत गरे।गुरुङ समुदायको साँस्कृतिक झाँकी र त्यहाँका स्थानीय भाका डोको रेडियोमा रेकर्ड गराए। 

निर्देशक प्रदीप पोखरेल

प्रदीप पहिलोपटक बारपाक पुग्दा नै स्थानीय महिलाहरुले सन् २००७ तिर गाउँ आएका सलीलको सम्झना गरेका थिए। प्रदीपले त्यहीँबाट सलीललाई फोन लगाएर आमाहरुसँग कुरा गराएका थिए। 

भूकम्पपछि प्रदीपसँगै जाँदा सलीलले त्यहाँ डिजिरे डू बाजा लिएर गएका थिए। अनि सेतो लामो कपडा लिएका थिए र झोलामा रंग र ब्रस। उनीहरुले त्यहाँका स्कुले बालबालिकालाई पेन्टिङ गर्न लगाए त्यो सेतो कपडालाई क्यानभास बनाएर।

काठमाडौंमा जारी काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिवल किम्फमा प्रदर्शन गरिएको वृत्तचित्र 'अ सङ फर बारपाक'मा समेटिएको यो दृश्यमा ठूला अक्षरमा बारपाक लेखिएको छ। अनि पछि भने बालबालिकाले आँखाबाट आँशु चुहाउदै भूकम्पमा ज्यान गुमाएका आफ्नतका र साथीका नाम लेखेका छन्। हिन्दु, वौद्ध र क्रिश्चियन धर्म मान्ने बारपाकका बासिन्दाले सँगै मिलेर एकअर्काका चाडपर्व मनाएका छन्।

'सङ फर बारपाक' एक आशाको दियो

वृत्तचित्रमा बारपाकको विगत र वर्तमान देखाइएको छ। विगतमा सुन्दर बारपाकका महिलाला सुरिलो भाका हालेर गीत गाएका छन्। परम्परागत साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिरहेका देखिन्छन्। तर बारपाकको त्यो सुन्दरतालाई भूकम्पले तहसनहस पार्छ।

भूकम्प गएको एक वर्ष पुग्दासम्म बारपाकले फेरि उही आशाको देखाउन थालेको छ। त्यहाँका बुढी आमाहरु पुकार गर्छन्, 'अब यस्तो कहिल्यै नहोस्।'

उनीहरु बिस्तारै पूराना साँस्कृतिक परम्परा र गीतहरुको माध्यमबाट आशाको दियो जलाउन खोज्दैछन्। भूकम्प जानु पहिले र पछि पटकपटक बारपाक पुगेका प्रदीप आशा पलाएको देख्छन् बारपाकबासीमा। उनी भन्छन्, 'अहिले पैसा हुनेले आरसीसी घर बनाउन थालिसके। पैसा नहुनेको जिन्दगी झुपडीमै बित्छ कि भन्ने लाग्छ।'

बारपाकका जीतबहादुर घले भने बारपाक अब अन्तर्राष्ट्रिय नमूना गाउँ बन्ने बाटोमा लागेको बताउँछन्। किम्फमा भेटिएका जीतबहादुरले भने 'भूकम्प जानु पहिला नेपालको नमूना गाउँ थियो। अब हामी विश्वकै नमूना गाउँ बनाउछौं।'

साँस्कृतिक चेतको धनी बारपाक बिस्तारै भूकम्पको भग्नावशेषबाट बाहिर निस्किरहेकोमा आशा जगाएको देखेका छन् प्रदीपले। उनी भन्छन्, 'कल्चरल पार्टबाट गीतहरुले आश जगाएको छ। आशा नै जीवन हो।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.