|

बुटवल : पर्यटनलाई समृद्धिको आधार रुपमा लिएको बताउँदै आएको बुटवल उपमहानगरपालिकाले पर्यटकीय क्षेत्र विकासमा तदारुकता देखाएको छ। लुप्त अवस्थामा रहेको ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय चासोको केन्द्र बनाएको उपमहानगरपालिकाले सिमसार क्षेत्रहरुलाई संरक्षण गर्ने अभियान चलाएको छ।

वडा नम्बर १६ बैठौलियामा रहेको सिमसारसहितको बैठौलिया कपरकट्टी ताललाई संरक्षण र संवद्र्धन गर्दै पर्यटकीय स्थलका रुपमा विकास गर्ने काम सुरु भएको छ। तालको प्राकृतिक मूल नै त्यहीँ रहेको उक्त सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सुरु गरिएको हो। 

उपमहानगरपालिकाले कपरकट्टी ताल नजिकै रहेको नरैनापुरधाम, वरपरका पर्यटकीय र ऐतिहासिक स्थलहरुसँग जोडेर पर्यटकीय क्षेत्रको रुमपा विकास गर्ने योजनाअनुरुप काम अघि बढाएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए। 

उपमहानगरपालिकाले तयार पारेको एकीकत सहरी विकास योजनामा यहाँका पर्यटकीय, सांस्कृति सम्पदाका क्षेत्र तथा कृषियोग्य जमिन र आवासका लागि अलग–अलग जमिनको वर्गीकरण गरिएको प्रमुख सुवेदीले बताए। ‘समृद्धिका आधारका रुपमा यहाँ पर्यटन, कृषि, उद्योग र व्यापारलाई तय गरिएको छ,’ उनले भने, ‘जसलाई साकार पार्न आवधिक र दीर्घकालीन महत्त्वका योजना बनाएर सोही अनुरुप अगाडि बढिएको छ।’

एक अर्ब २८ करोडको गुरुयोजना

बैठौलिया कपरकट्टी सिमसार क्षेत्र र आसपासका पर्यटकीय र ऐतिहासिक क्षेत्रलाई समेटेर विकास गर्ने गरी गुरुयोजना बनाइएको छ। गुरुयोजना अनुसारको काम सक्न एक अर्ब २८ करोड रुपैयाँ बजेटको अनुमान गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षम ४० लाख रुपैयाँ बजेट छुट्टाई सरसफाइ सुरु गरिएको छ। बुटवलको निर्माणाधीन चक्रपथले यस क्षेत्रलाई समेत जोड्ने बताइएको छ। तालको वरपरको क्षेत्रमा वातावरणमैत्री पर्खाल बनाउने, तालभित्र रहेका झाडी सफा गर्ने, डुंगा शयर, चरा संरक्षणलगायतका कामहरु चालु आर्थिक वर्षमै अगाडि बढाउने गरी काम सुरु गरिएको उपमहानगरका प्रवक्ता समेत रहेका वडाअध्यक्ष रामप्रसाद रेग्मीले बताए। 

नील दहका नामलेसमेत चिनिने यो ताल करिब डेढ सय वर्ष पुरानो रहेको अनुमान छ। १८ बिघामा सिमसारसहित फैलिएको तालको लम्बाई तीन किलोमिटर हुनेछ। करिब ४०० मिटर चौडाइ छ। तालको गहिराई करिब ६ मिटर रहेको छ।

ऐतिहासिक र धार्मिक पर्यटन

निरन्तर बढ्दै गएको सहरीकरणले बुटवल बजारमा फराकिलो ठाउँ वा पार्क मासिँदै गएको छ। त्यसैले यहाँको भिडभाड, धुलोधुवाँबाट केही क्षण भए पनि उन्मुक्ति पाउन यस क्षेत्रलाई एउटा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने पर्यटनविज्ञ डा. गीतु गिरीको भनाइ छ।

बुद्धबल्लीअन्तर्गत रहेका बुटवलसहित सैनामैना, देवदह, नौकट्टीलाईसमेत जोडेर एकीकृत पर्यटन विकास गर्न सकिने प्रचुर सम्भावना रहेको गिरीको भनाइ छ। ताल परिसरमा वन हाँस, वन कुखुरा, सिम कुखुरा, जलेवाजस्ता चराचुरुङगी समेत पाइन्छन्। 

उपमहानगरले सिमसार क्षेत्रलाई लक्षित गरी निजी क्षेत्रको सहकार्यमा सुविधा सम्पन्न रिसोर्ट, स्थानीय कला संस्कृति झल्किने खालको होमस्टे, पिकनिक स्पट, स्वीमिङ पुल, चिल्ड्रेन पार्क, बाल उद्यानजस्ता पर्यटकीय पूर्वाधार बनाउने योजना बनाएको छ। तालको नजिकै रहेको नरैनापुरधाम हिन्दु अनुयायीहरुको एउटा पवित्र तीर्थस्थल मानिन्छ।

पशुपतिनाथको समकालीन मानिने यो धाममा विभिन्न ठाउँबाट धार्मिक अध्येता र पर्यटकहरु आउने गर्दछन्। पशुपतिको र यहाँको शिवज्योर्तिलिङ्ग एकै समयका रहेको मानिन्छन। धाम परिसरमा १०८ मिटर अग्लो भ्यु टावरसहितको शिवलिङ्ग, १०८ पिपल, जलधारालगायत पूर्वाधार निर्माण गरिने उपमहानगरको योजना छ।

नरैनापूरलाई बुद्धकालीन ऐतिहासिक थलो समेत मानिन्छ। यहाँ प्राचीनकालदेखि परम्परागत शिवरात्रि मेला लाग्दै आएको छ। ताललाई भविष्यमा आन्तरिक र वाह्य पर्यटकको आकर्षणको थलो बनाउँदै बुटवलको जितगढी किल्ला, नुवाकोट गढी, वसन्तपुर, सिद्धबाबा र हिलपार्कसँग जोडेर पर्यटकको बसाइ लम्बाउन सकिने गरी योजना बनाइरहेको उपमहानगरका उपप्रमुख गोमादेवी आचार्यले बताइन्। बुटवलबाट नुवाकोट र वसन्तपुरसम्म निजी क्षेत्रले केबलकार सञ्चालन गर्दैछ।

‘नरेश्वर बुटवल ताल’ नाम प्रस्ताव

पर्यापर्यटनको क्षेत्रका रुपमा समेत विकास गर्न लागिएको कपरकट्टी तालको नाम नरेश्वर बुटवल ताल राख्न स्थानीय अगुवाहरुले प्रस्ताव गरेका छन्।

स्थानीय अगुवा र राजनीतिक दलका प्रतिनिधिहरुले नरेश्वर ताल, रामताल, नरेश्वर बुटवल ताललगायतका नाम प्रस्ताव गरेको बताउँदै वडाअध्यक्ष तथा उपमहानगरका प्रवक्ता रेग्मीले सर्वपक्षीय छलफलबाट निकालिने निचोडलाई वडा कार्यालयले उपमहानगरको कार्यपालिकामा प्रस्ताव पठाउने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.