|

गुल्मी : इस्मा गाउँपालिका प्रमुख विष्ट ६७ वर्ष पुगे। कपाल फुलेर सेतै भइसक्यो। चस्मा नलगाए आँखाले ठम्याउँदैन। यो उमेरमा आएर उनलाई कम्युटर सिक्ने जोश पलाएको छ। उनी मात्र होइन गाउँपालिकाका अन्य जनप्रतिनिधिले पनि कम्प्युटर सिक्न थालेका छन्।

कार्यालयको दैनिक कामकाजमा आवश्यक परेपछि जिल्लाको इस्मा गाउँपालिकाका जनप्रतिनिधले कम्युटर सिक्न थालेका हुन्। गाउँपालिकाका अध्यक्ष विष्ट, उपाध्यक्ष विमला खत्री लगायत वडाध्यक्ष तथा गाउँकार्यपालिका सदस्यहरूले कम्युटर सिकिरहेका छन्। ‘बेलैमा सिकिएन, अहिले पछुतो लाग्छ।’ विष्टले भने, ‘हामिलाई प्रविधिका कारण हामी पछि परेका रहेछौँ।’ त्यसका साथै कम्युटरमा कुनै काम गर्नुपरे कर्मचारी नै गुहार्नुपर्ने बाध्यताको अन्त्य हुने आशा आफूले राखेको उनले बताए। सामाजिक सञ्जाल र कम्पयुटरबाट बाहिर हुँदा धेरै ठाउँमा हिनताबोध भएकाले तालिम सञ्चालन गरिएको उनले बताए। ‘आफूलाई आएको पत्र खोल्न कर्मचारी गुहार्नुपर्ने बाध्यता रहेको छ,’बिष्टले भने,‘ कस्सिएर सिके कसो नआउला भनेर लागेका छौँ।’ 

उपप्रमुख बिमला खत्री भने सामाजिक सञ्जालमा सक्रिय नै छन्। तर कम्पयुटर ज्ञान नभएकाले तालिम लिइरहेकी छिन्। पहिले आफूलाई मोटरसाइकल चलाउने कल्पना कम्प्युटर जस्तै लाग्ने भएपनि अहिले सफल भएकाले कम्प्युटर पनि सिकेरै छोडने बताइन्। ‘फेसबुक चलाएर भएन कम्प्युटर खोल्ने ढङ्ग छैन।’उनले भनिन, ‘सिक्दैछु चलाएर देखाउने हिम्मत हारेकी छैन्।’ वडा नं ३ का वडाध्यक्ष तोयनाथ शर्मा सापकोटा पनि उमेरले ६५ पुगे। तालिमकै लागि सापकोटा पनि बिहानै रामराज्य पुग्छन्। जमाना अनुसार प्रविधिले पछाडी परिएकोमा उनलाई चिन्ता छ। ‘कपाल फुलेसी के काम ? तीन पटक भनेपछि बल्ल एक पटक आउँछ,’उनले भने,‘ १५ दिनमा इमेल खोलेर चिठ्ठी पत्र हेर्न पाए हुन्थ्यो।’ 

इस्मा गाउँपालिका गाउँसभा सदस्य नारायण पैयानीले बेलैमा सिके जस्तो उमेर ढल्किएपछि नहुने बताए। अहिले स्मरण शक्ति र आँखाको समस्या तथा हात थरथराउने भएकाले सिक्न धेरै मुस्किल भएपनि अठोट लिएर तालिममा आएको बताए। इस्मा गाउँपालिकाले जनप्रतिनिधीहरुलाई कम्प्युटरको आधारभुत ज्ञान प्रदान गर्ने उदेश्यले तालिम संचालन गरेको छ। तालिममा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख बिमला खत्री, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा गाउँसभा सदस्यहरूलाई समावेश गरिएको छ। 

१५ दिनसम्म बिहान ७ बजेबाट १० बजेसम्म रामराज्य माविका तालिम सञ्चालन गरिएको छ। अहिले धेरै कार्यालयमा हस्तलेखन पद्धति अन्त्य भएकाले चिठ्ठीपत्र लेख्न, सिफारिस दिन तथा विभिन्न सुचना र समाचार हेर्न जनप्रतिनिधिलाई यो तालिम अत्यन्तै उपलब्धिमूलक भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए। जनप्रतिनिधिहरू अत्यन्तै व्यस्त भएकाले समयको व्यवस्थापन भए १५ दिनमा आधारभूत कुरा सिक्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत बाबुलाल थापाले बताए। उनले स्वभाविक रूपमा उमेरले जनप्रतिनिधिलाई सिक्न र सिकाउन अप्ठ्यारो भए पनि सफल बनाउने थापाले बताए। 

सोही अवसरमा इस्मा गाउँपालिकाका तीन सहकारीलाई पनि तालिम प्रदान गरिएको छ। सहकारीका व्यावस्थापक र सहकारीले तोकेका प्रतिनिधिलाई कार्यालयका काम कम्प्युटर मार्फत गराउने गरि तालिम दिइएको छ। तालिमपछि गाउँपालिकाले सहकारीलाई कम्प्युटर र अन्य उपकरण प्रदान गर्ने कार्यक्रम रहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेत, सुचना प्रविधि अधिकृत थापा, सवइन्जिनियर रविन घर्ती, कम्प्युटर अपरेटर बलराम खनाल लगायतले तालिम दिइरहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.