|

तनहुँ : बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको छ। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साराङघाटको ११० घरधुरीमा बिजुली बलेको हो।

५० केभीए ट्रान्सफर्मरमार्फत् प्रत्येक घरधुरीमा मिटर जडान गरेर विद्युत् सेवा शुरु गरिएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए। केन्द्रले एक महिना अघि मात्रै सोही वडाको ग्याजाटारमा समेत ९६ घरधुरीमा विद्युत् सेवा पुर्‍याएको थियो। 

गोशलीले तनहुँका १५ प्रतिशत घरधुरीमा अझै विद्युत् सेवा नपुगेको हुँदा अबको दुई वर्षभित्रमा ती सबै घरधुरीमा विद्युत् सेवा पुर्‍याउने बताए।  रकम अभावले मिटर जडान गर्न नसक्ने घरधुरीलाई अनुदानमा पनि मिटर जडान गर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ।

ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत केही दिनभित्रमा रिसिङ गाउँपालिका–३ को दुवुङ, खाल्टुभञ्ज्याङ, गुम्लेक, व्यास नगरपालिका–१३ को सुढे र व्यास नगरपालिका–१४ को मास्दीघाटमा विद्युत् सेवा पुर्‍याउन काम तीव्ररूपमा चलिरहेको छ। ग्रामीण विद्युतीकरण कार्यक्रमका लागि तनहुँमा ८५ करोड बजेट विनियोजन भएको छ।

बिजुली बाल्नका लागि गाउँलेले पोल ढुवानी, पोल गाड्ने र झाडी बुट्यान फाँड्न जनश्रमदानसमेत गरेका थिए। पहिलो पटक बिजुली पुगेपछि गाउँ पुगेका गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, केन्द्र प्रमुख गोशली, सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेल, प्रहरी उपरीक्षक विनोद सिलवाललाई स्थानीयवासीले फूलमालाले स्वागत गर्दै खुशी साटेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.