|

रुकुम : उत्तरगंगा पावर कम्पनीले निर्माण गर्न लागेको उत्तरगंगा जलविद्युत् आयोजना निर्माण गर्दा नदीको प्राकृतिक बहाव नबिगार्न माग गरिएको छ। रुकुमपूर्वका राजनीतिक नेतृत्व तथा सरोकार समितिले केही दिनअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई ज्ञापनपत्र बुझाउनेदेखि पछिल्लो दिनमा विभिन्न दबाबमूलक गतिविधि गरेर नदीको प्राकृतिक बहावलाई तलमाथि नपार्न आग्रह गर्दै आएका हुन्।

नदीलाई बहाव क्षेत्रतिर नै बग्न दिई ढोरपाटन उपत्यका जोगाउन र जैविकी विविधता, स्थानीय समुदायको जीवीका र संस्कृतिको  संरक्षण गर्नेगरी आयोजना अगाडि बढाउनुपर्ने उनीहरूको माग छ। पूर्वमन्त्री गणेशमान पुन, प्रतिनिधिसभा सदस्य कमला रोका, पूर्वमन्त्री दलजित श्रीपाइली, प्रदेशसभा-५ का सदस्यद्वय तेजबहादुर ओली र आशा स्वर्णाकारलगायत संयुक्त प्रतिनिधिमण्डलले आयोजना निर्माण गर्दा नदीको प्राकृतिक बहावलाई तलमाथि नपार्न आग्रह गरेका हुन्।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी उत्तरगंगा जलविद्युत् कम्पनीले कुल ८२८ मेगावाट क्षमताको सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्नका लागि परामर्शदाता छनोटको प्रक्रिया अगाडि बढाएको छ। तर, आयोजनामा जम्मा हुने पानी पुरानै बहावअनुसार कर्णाली नदीमा नै खसाल्ने कि फर्काएर कालीगण्डकीमै खसाल्ने भन्ने बहस छ। तर, सरकार उत्तरगंगालाई कालिगण्डकीमा नै खसाल्ने योजनामा छ।

रुकुमको प्रसिद्ध सानीभेरी नदीलाई अर्को नामबाट उत्तरगंगा नदीको नामले समेत चिनिन्छ। यदि उक्त नदी कालीगण्डकी नदीमा फर्काएर विद्युत् निकालिएमा रुकुमको सानीभेरी नदीको पनि स्रोत कम हुनेछ।

जसले गर्दा उत्तरगंगा नदीदेखि कर्णाली नदीसम्मका स्थानीयहरूको लागि समेत समस्याको विषय बन्ने देखिन्छ। उत्तरगंगालाई कालिगण्डकी नदीमा नमिसाउँदा केही कम क्षमताको विद्युत् उत्पादन हुनेछ। पूर्वमन्त्रीसमेत रहेका नेकपाका नेता गणेशमान पुनले आयोजना अगाडि बढाउँदा नदीको प्राकृतिक बहावलाई नै आधार मानेर स्थानीयको माग र चाहनालाई सम्बोधन गर्नुपर्ने बताए।

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका र निसिखोला गाउँपालिका तथा रुकुमपूर्वको जिल्लाको पुथा उत्तरगंगामा गाउँपालिकाको सिमानामा आयोजना निर्माण गर्ने तयारी गरिएको छ। आयोजनामा कुल २०० मिटर अग्लो बाँध निर्माण गरेर झण्डै १० किलोमिटर सुरुङबाट पानी पठाएर ८२८ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.