एम्बुलेन्स सञ्चालन कार्यविधि नहुँदा प्राविधिक समस्या

|

दाङ तुलसीपुर उपमहानगरपालिकाले  खरिद  गरेका  तीनवटा एम्बुलेन्स  कार्यालय परिसरमैै थन्किएका छन्। खरिद गरी ल्याएको दुई महिना पुग्दासमेत सम्बन्धित स्वास्थ्य संस्थामा पुगेका छैनन्। चालू आर्थिक वर्षभित्र आठवटा एम्बुलेन्स खरिद गर्ने लक्ष्य राखे तापनि हालसम्म ३ वटा एम्बुलेन्स मात्र खरिद गरेको छ।  सम्बन्धित स्वास्थ्य संस्थाको एम्बुलेन्समा नाम लेखे पनि  सम्बन्धित स्वास्थ्य संस्थामा पुयाइएको छैन।

एम्बुलेन्समा तुलसीपुर उमपहानगरपालिका- १ पवनगर स्वास्थ्य चौकीतुलसीपुर १३ फूलबारी स्वास्थ्यचौकी र तुलसीपुर- १९ बिजौरी स्वास्थ्यचौकी लेखिएको छ। तुलसीपुर उपमहानगरपालिका १ का वडा अध्यक्ष लक्ष्मण भण्डारीले नामसारी र बिमा बनाएर हस्तान्तरण गर्ने भन्दै तुलसीपुर उपमहानगरपालिकाको कार्यालय परिसरमै राखिएको बताए।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका-१३ का वडा अध्यक्ष डम्बरबहादुर न्यौपानेले  किन र कसरी राखिएको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताए। सम्बन्धित क्षेत्रमा पुयाउनुपर्ने एम्बुलेन्स परिसरमै थन्किनु दुखद पक्ष भएको उनले बताए। 

स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्डअनुसार तुलसीपुर उपमहानगरपालिकाको स्वस्थ्य चौकीमा सञ्चालन गर्ने एम्बुलेन्सहरूमा एसी र अक्सिजनसहितको सुविधा  हुनुपर्ने व्यवस्था छ। तर, ती एम्बुलेन्समा कुनै सुविधा छैन।  नेपाल सरकारले हालै जारी गरेको एम्बुलेन्स सञ्चालन कार्यविधिअनुसार गाउँपालिकाले १, नगरपालिकाले २, उपमहानगरपालिकाले ३ र महानगरपालिकाले  ४ वटा एम्बुलेन्स मात्र भन्सार छुटमा पाउने भन्ने उल्लेख छ। तर, त्यसविपरीत  तुलसीपुर उपमहानगरपालिकाले एकैपटक ८ वटा एम्बुलेन्स खरिदको लागि टेण्डर आह्वान गरेको थियो।

त्यही मापदण्डअनुरूप तुलसीपुर उपमहानगरपालिकालाई नेपाल सरकारले  ३ वटा एम्बुलेन्स खरिद गर्न भन्सार छुटको अनुमति दिएको थियो। तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक राजु आचार्यले एम्बुलेन्स सञ्चालन कार्यविधि तयार नभएको र प्राविधिक समस्याका कारण सम्बन्धित स्वास्थ्य संस्थामा पुयाउन नसकिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.