|

काठमाडौं : राजधानीको मुटुमै रहेको क्षेत्रपाटीस्थित जुद्धोदय मावि (जेपी स्कुल) को जग्गा भाडामा दिएर सपिङ कम्प्लेक्स बनाएपछि विद्यार्थी मर्कामा परेका छन्।

व्यवस्थापन समिति र स्कुल प्रशासनले १० वर्षअघि तरुण निर्माण सेवालाई ९ रोपनी ६ आनामध्ये ६० प्रतिशत जग्गा भाडामा दिएका थिए। उक्त जग्गा व्यापारिक भवन बन्न लागेयता विद्यालयको सम्पूर्ण कार्यक्रम लगायत विद्यार्थीको खेलकूद कार्यक्रम ठप्प भएको छ। विद्यालय प्रशासन र ठेकेदारको मिलेमतोमा ठेकेदारले स्कुलको जग्गामा सुविधासम्पन्न व्यापारिक भवन बनाई मासिक लाखौँ रुपैयाँ कमाइ गरिरहेका छन्।

शिक्षा नियमावलीमा कम्तीमा पनि विद्यालयमा भलिबल खेल्न मिल्ने जग्गा अनिवार्य हुनुपर्ने मापदण्ड छ, तर जेपी स्कुलमा भने विद्यालयको जग्गा र खेल मैदान मासेर सपिङ कम्प्लेक्स निर्माण भएको छ। यस विद्यालयलाई हेर्ने हो भने विद्यार्थीको लागि खेलमैदान त कहाँ हो कहाँ सपिङ कम्प्लेक्स र विद्यालयको भवनको चेपबाट छिर्न मिल्ने ठाउँ बाहेक अरु कुनै खुला ठाउँ छैन।

काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्कीले एक हजारभन्दा बढी विद्यार्थी निर्माण कम्पनीले छाडेको बाँकी जग्गामा बनेको सानो भवनमा पढ्न बाध्य भएको बताइन्। स्कुलको भवन भाडाका दिएको कुरा स्वीकार्दै उपमेयर खड्कीले भनिन्, ‘विद्यालयको अवस्था दयनीय रहेको छ, विद्यालयमा शौचालय समेत नभएको, खेलमैदान मासेर व्यापारिक भवन निर्माण भइरहेको प्रत्यक्ष देखियो, यस विषयमा हामी जाँचबुझ गर्छौँ।’

उनले विद्यालयको भवन मासेर व्यापारिक भवन बनाउनु ज्यादै दुःखद काम रहेको बताइन्। जेपी स्कुलमाथि छानबिनको कामलाई छिट्टै अघि बढाउने उनको भनाइ छ। उनका अनुसार महानगरपालिका शिक्षा विभागले २०६५ मा तरुण निर्माण सेवासँग विद्यालयले गरेको सम्झौता अध्ययन थालेको हो।

कम्प्लेक्स निर्माण गर्नुअघि विद्यालय निर्माणको सम्पूर्ण काम सक्काउनु पर्ने सम्झौता भएको थियो, तर उक्त सम्झौता निर्माण सेवामा रहेका प्रोपाइटर मनोजकुमार मिश्रले पूरा नगरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। त्यस्तै व्यापारिक भवनलाई भाडामा दिएको भने पनि भवनबाट विद्यालयलाई भाडा उपलब्ध नभएको समितिको गुनासो छ। विद्यालयले मासिक चार लाख ३५ हजार भाडा ठेकेदारबाट पाउने गरी सम्झौता भएको थियो।

अभिभावक र स्थानीयवासीले विद्यालय प्रशासनले ठेकेदार कम्पनीमाथि पर्ने गरी सम्झौता गरेका कारण अहिले विद्यालय धरासयमा परेको बताएका छन्। त्यस्तै विद्यालयलाई भन्दा विद्यालयका केही व्यक्ति र ठेकेदारलाई मुनाफा हुनेगरी सम्झौता भएको हुनसक्ने स्थानीयको आशंका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.