|

उदयपुर : सामुदायिक विद्यालयमा विद्यार्थी र अविभावकको आकर्षण बढेको छ। नयाँ शैक्षिक वर्ष सुरु भएसँगै निजी विद्यालयका बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गराउन थालिएको हो।

गाईघाटकी रमा काफ्लेले सगरमाथा बोडिङ स्कुलमा पढ्दै गएको छोरालाई समेत गाईघाटमै रहेको सामुदायिक विद्यालयमा भर्ना गरेको बताईन। ‘अंग्रेजीका लागि छोरालाई बोर्डिङमा राखेकी थिएँ,’ उनले भनिन्, ‘सामुदायिक विद्यालयमा पैसा पनि कम, पढाइ पनि राम्रो, अनि अंग्रेजी माध्यमबाट पढाइ हुने भएपछि अहिले यतै सारेकी हुँ।’

सरकारले सञ्चालन गरेको भर्ना अभियानमा सामुदायिक विद्यालयहरुमा विद्यार्थीलाई निशुल्क पाठ्यपुस्तक तथा विभिन्न प्रकारका छात्रवृत्ति दिने कारण पनि धेरैले निजी विद्यालय छाडेका छन्। पछिल्लो समय यहाका प्राय: सबै सरकारी विद्यालयहरुले अंग्रेजी भाषाको माध्यमबाट पढाइ हुन थालेको छ। सामुदायिक तथा सरकारी विद्यालयमा शैक्षिक गुणस्तरमा व्यापक सुधार भएको भन्दै निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा नाम लेखाउन विद्यार्थीको घुइँचो बढेको छ।

जिल्लाको सदरमुकाम गाईघाटस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयमा यस वर्षको नयाँ शैक्षिक सत्रमा सिभिल इन्जिनियरिङ, अंग्रेजी माध्यम र नेपाली माध्यममा भर्ना हुने विद्यार्थीको चाप अत्याधिक बढेको प्रधानाध्यापक सुवास बिष्टले बताए। ‘यो वर्षको शैक्षिक सत्रमा सबै तहका गरी करिब सातसय विद्यार्थीले प्रवेश परीक्षा दिएका छन,’ उनले भने, ‘विद्यालयमा सिभिल इन्जिनियरिङको कक्षा ८ मा ४८ जनाको कोटामा दुईसयजना विद्यार्थी प्रवेश परिक्षा दिए।’ विभिन्न व्यक्तिविशेषबाट आफूमाथि विद्यार्थी भर्नाका लागि दबाब आउने गरेको बताए।

तीन वर्षअघिदेखि सञ्चालनमा आएको सिभिल इन्जिनियरिङमा हाल २५ विद्यार्थीले अध्ययन गरिरहेका छन्। कक्षा १ देखि कक्षा १० सम्म अंग्रेजी माध्यममा करिब नौ सय र नेपाली माध्यममा कक्षा– १२ सम्म दुईहजार दुईसय गरी करिब तीनहजारको संख्यामा विद्यार्थी अध्ययनरत छन्। ‘कक्षा १ देखि कक्षा– ९ सम्म विद्यालयको क्षमताले धान्नै नसक्ने गरी बोर्डिङ स्कुलबाट विद्यार्थी आएका छन्। उनले भने, ‘प्रवेश परिक्षामा सामेल भएकोले कतिपय अविभावकले त नानीहरू सामुदायिक विद्यालयमा भर्ना गराउन सोर्सफोर्स लगाउन थालेका छन्।’

विद्यालयका शिक्षक गोपाल श्रेष्ठले वैशाख महिना लाग्नेबित्तिकै बिभिन्न निजि विद्यालयका विद्यार्थीहरु अंग्रेजी माध्यममा सञ्चालित कक्षाका लागि भर्ना हुन प्रवेश परीक्षा दिन आउने गरेको बताए। ‘विद्यालयको भवन र कक्षा कोठाले विद्यार्थीको संख्या थाम्न नसक्ने भएपछि बिचैमा प्रवेश परिक्षा बन्द गर्नुपरेको छ,’ उनले भने, ‘निजी विद्यालयबाट समेत धमाधम विद्यार्थी त्रियुगा नमूना माविमा भर्ना गर्न लाने क्रम बढ्दै गएको छ।’ 

त्रियुगा नमूना मावि गाईघाटमा अंग्रेजी र सिभिल इन्जिनियरिङ माध्यमका विद्यार्थीको पहिलो रोजाइको रूपमा छ। जिल्लामा नै पहिलो अंग्रेजी माध्यमबाट पढाउने सामुदायिक विद्यालय हो। शिक्षा विभागबाट जिल्लाकै उत्कृष्ट नमुना जिल्लाको रूपमा चयन भएपछि एक करोड ५० लाख रुपैयाँ अनुदान प्राप्त भएको सो विद्यालयमा दृश्य सामग्री प्रदर्शन गर्दै पठनपाठन, बस सेवा सञ्चालन र तालिम प्राप्त विषयगत शिक्षकबाट कक्ष शिक्षण गरिँदै आएको छ।

पछिल्लो समयमा चौदण्डी, वेलका, कटारी नगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुन थालेको छ। जिल्ला शिक्षा विकास समन्वय समिति प्रमुख हरिहर धितालका अनुसार अंग्रेजी पढाइ हुने विद्यालयमा निजी विद्यालयका विद्यार्थी जाने क्रम बढेको छ,’ उनले भने, ‘बोडिङमा पढ्ने मध्यवर्गका परिवारका छोराछोरी हुन्।, त्यहाँ अग्रेजी पढाउनकै लागि भर्ना गरिन्छ, सरकारी तथा सामुदायिक विद्यालयमा अंग्रेजी पढाई हुन थालेपछि आर्कषण बढेको छ।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.