काठमाडौं : ऊ सोझी थिई, धेरै सोझी। कहिलेकाहीँ उसको बिहेघरका मान्छेले उसले नसुन्ने गरी लाटी भनेर सम्बोधन गर्दा सुनेर पनि नसुनेझैँ गर्थी। मौन बसेर आफ्नो धीरता र मुसुक्क हाँसेर सद्भावको परिचय दिन्थी।
एकपटक कुनै कुरामा उसको श्रीमानले 'साला लाटी' भन्दै हात छाडेको थियो। ऊ रन्थनिएर धेरैबेर आफ्नो गाला सुम्सुम्याएर बसेकी थिई। आँखाबाट बर्रर झरेका आँसु सम्हाल्दै उसको मोटरसाइकल स्टार्ट गरेर लोग्ने कलेजतिर गएको एकटक हेरिरही।
केही दिनपछि…
'हिजो मेरो मोजा धोइनस्?'
'त्यो लगाउने लायकको थिएन। यसैले मैले अर्को किनेर ल्याएकी छु' उसले गृहिणी भाव देखाई।
'साला तेरा बाउले तँलाई अलिकति पनि सँस्कार दिएन?' लोग्नेले प्याच्च मुख फ्याँक्यो।
'बुबाको नमा किन लिनु हुन्छ? मेरो बुबाले मेरी आमालाई कट्टु र मोजा कहिल्यै धुन दिनु भएन।'
त्यसपछि दीपकको मुखको सट्टा दाहिने हात बोल्यो। ललिता देब्रे गाला समाएर जडवत् भई। दीपक मोटरसाइकल स्टार्ट गरेर हिँड्यो ।
ऊ एक धुनमा खाना पकाउँदै थिई। ग्यास चुलोमा बलिरहेको श्वेत निलो ज्वाला धेरैबेरसम्म हेरिरही। दिउरेमा रहेको उसको भागको चिया क्रमश: सुकेर गयो र चियाको रित्तो भाँडो तातिरह्यो। एक छिनपछि मखमा रहेको पानी तातो भाँडोमा खन्याई। भाँडाले झ्वाँ… को चर्को आवाज निकाल्यो । बाफले दिउरेबाहिर निस्केर बनाएको आकार हेरिरही। दिउरेको पानी फेरि सुक्यो। उसले एक पटक फेरि चिसो पानी हाली र दिउरे बाहिर उड्दै गरेको सेतो बाफ हेरी। एकछिनपछि ललिताले ग्यास निभाई।
त्यो कुनै शुक्रबारको दिन थियो….
उसलाई फोन आयो। उसले 'हुन्छ धन्यवाद' मात्र भनी।
ठीक तीन बजे ऊ गेटमा पुगीसकेकी थिई। टाढैबाट देखी ती दुईजना सिनेमा हलबाट बाहिर निस्कँदै थिए। अचानक ऊ दुवैको सामुन्ने प्रकट भई। दुवै झसंग भए। दाम्पत्यको सुदीर्घ आयुका लागि सधैँ लाटा बस्ने उसको शरीर र मुख दुवै बोल्न थाले। उसको दाहिने हात केटीको देब्रे गालामा पुगेर बज्रियो-झ्याम्म'.. अनि उसको मुख बोल्यो, 'तँलाई था छैन, यो विवाहित हो भनेर, यसका दुईवटा बच्चा छन् भनेर, योसँग बसेर सिनेमा हेर्ने हक यसैकी श्रीमतीको हो, तेरो होइन । तँ आफैं महिला भएर अर्की महिलाको अधिकार हनन गर्छेस्, अनि बेला बेलामा सभामा महिलाका विदिर्ण कहानी सुनाउने पनि गर्छेस् होला- 'पुरुषहरूले महिलाका अधिकार हनन गरे। पातकी!'
'अनि तँ मेरो लोग्ने! आदर्शवादी शिक्षक, मास्टर सा'ब। पुरूषले जे गर्यो, त्यो उसको अधिकार, महिलाको विवेकले जे गर्यो त्यो संगीन अपराध? तँ घर पुग् अनि हेर् लाटीको रौद्र रूप।'
लेखक एलबी क्षेत्रीको प्रकाशन हुन लागेको कथासंग्रह 'ब्रतभंग' बाट कथाको एक अंश
तपाईंको ईमेल गोप्य राखिनेछ ।