|

भक्तपुर : मध्यपुर थिमि २ साविक दिव्यश्वरी गाविस ७ ख को ४६ रोपनी मनोहरा खोला व्यक्तिको नाममा दर्ता भएको छ।

 विसं २०२१ सालमा नापी हुँदा मनोहरा नदी उल्लेख भएको पेप्सीकोला-सल्लाघारी सडक खण्डको पेप्सीकोला मनोहरा पुलको दक्षिणतर्फको त्यो कि. नं. २४५ को ४५ रोपनी १५ आना जग्गा विभिन्न मितिमा व्यक्तिको नाममा दर्ता भएको देखिएको हो। विसं. २०२१ सालको नापी नक्सामा सो कित्ता नं. २४५ मा मनोहरा खोला बगेको स्पष्ट देखिन्छ।

भूमि तथा मालपोत कार्यालय भक्तपुरले उपलब्ध गराएको सूचनाअनुसार मनोहरा नदीको त्यो जग्गा २०३७ असोज ७ गतेको निर्णयानुसार व्यक्तिको नाममा दर्ता भएको हो। तर, त्यसमा निर्णय के थियो भन्ने बारे मालपोत कार्यालयमा कुने अभिलेख भने नरहेको मालपोत कार्यालयले जनाएको छ।

मनोहरा खोलाले धार परिवर्तन गरेपछि सो जग्गा व्यक्तिको नाममा दर्ता गरेको हो। मनोहरा खोलाको पश्चिमतर्फ काठमाडौंको पुरानो सिनामंगलतर्फको नक्सा र दिव्यश्वरी सात ख को नापी नक्सा जोड्ने हो भने मनोहरा खोला बग्ने ठाउँ नै नरहने गरी जग्गा व्यक्तिको नाममा दर्ता गरेको देखिएको छ।

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका अनुसार मिसिल नं २२१ को मिति २०३७-६-२०-२ को निर्णयले साविक किनं २४५ को जग्गा कित्ताकाट भइ कायम भएको कि.नं. २५७ पितामेश्वरी देवी शाह समेतको नाममा श्रेष्ता खडा भई हाल रामेश्वर साह, सञ्जिवप्रसाद साह, श्रीमती करुणा साह र भरत सापकोटाको नाममा रहेको छ। त्यसैगरी, किनं. २६६ रजिस्ट्रेसन नं.१३२१ मिति २०५०-६-२२ मा दण्डपाणि उपाध्यायका नाममा कायम हुन आई हाल समला खड्का, राजुमाया तामाङ, फूलमाया तामाङ समेतको नाममा कायम रहेको छ।

किनं २८३ जीवनसिंह द्बारे, तेज नरसिंह द्बारेको नाममा रहेको छ भने कि नं. २८४ कन्टिनेन्टल एसोसेप्ट प्रा. लिको नाममा रहेको छ। मालपोत कार्यालयले कि नं. २६४ र २६५ को श्रेष्ता कार्यालयमा नभएको जनाएको छ।

मालपोतका एक कर्मचारीका अनुसार कित्ता नं. २४५ बाट विभिन्न मितिमा व्यक्तिका नाममा दर्ता भई गए पनि ती जग्गा कहाँबाट, कुन ठेली, लगतबाट आएको भन्ने व्याेहोरा समेत स्पष्ट उल्लेख गरिएको छैन। उनले भने,‘ याे जग्गामा धेरै घोटला देखिन्छ। जग्गा एक व्यक्तिबाट अर्कोमा हक हस्तान्तरण हुँदै जाँदा कुन ठेली, पानाबाट आएको हो। सो स्पष्ट उल्लेख हुनुपर्दछ। तर याे जग्गाको हकमा त्यसो गरेको पाईंदैन।‘

उनका अनुसार खोलाको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने निर्णय भएको मिति २०३७-६-२०-२ को निर्णय भएको मिसिल नं. २२१ को फाइल विभागमा लगेको छ। करिव एक दशक अघि विभाग लगेको सो फाइल मालपोत कार्यालय भक्तपुरमा फर्काएको छैन।

जग्गाको प्लट रजिष्ट्रर गर्ने अर्को निकाय नापी कार्यालयमा समेत कि नं. २४५ को खोला दर्ता भई गएपछि खडा भएको कि नं. २५७, २६४, २६५, २६६ र २८३ को बारेमा कुनै अभिलेख छैन। नापी कार्यालयको फिल्ड बुकमा कि. नं २५० सम्मको अभिलेख रहेको छ।

नापीको फिल्डबुकमा कि नं. २४५ स्पष्टसँग मनोहरा खोला उल्लेख गरेको छ। जग्गा कित्ताकाट भई नयाँ कित्ता नं. अभिलेख राख्ने प्लट रजिष्टरमा कि नं. २५७, २६४, २६५, २६६ र २८३ अभिलेख भेटिँदैन। दिव्यश्वरी सात ख को प्लट रजिष्ट्रर बुक धुजाधुजा हुने गरी च्यातिएको अवस्थामा छ।

सो क्षेत्रमा हाल मनोहरा जग्गा एकीकरण आयोजना लागू भइरहेको छ। काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिकाले संयुक्तरूपमा सञ्चालित आयोजनाले सो क्षेत्रमा साबिक २०२१ सालको नक्साअनुसार मनोहरा नदीको बहाव कायम गर्न काम गरिरहेको छ। दुईतर्फ ११ मिटरको मनोहरा करिडोर र ९/ ९ मिटरको ग्रिन बेल्टसहितको ट्रयाक खोल्ने कार्य समेत भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.