कार्यान्वयनमा ध्यान दिन निजी क्षेत्रको आग्रह

|

काठमाडौं : सरकारले शुक्रबार संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई विज्ञहरूले 'आफ्नै प्रशंसा, आकांक्षाको संगालो र आश्वासनको थैलो' का रूपमा टिप्पणी गरेका छन्। निजी क्षेत्रका प्रतिनिधिले यसको कार्यन्वयनमा सचेत गराएका छन्। 

नीति तथा कार्यक्रममा सरकारले आर्थिक समृद्धिको आधार बनाउँदै दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने वातावरण बनाएको दाबी गरेको छ। आगामी आर्थिक वर्ष पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ । निजी क्षेत्रमा विश्वासको वातावरण सिर्जना गर्न प्रशासन सुधारका योजना अघि सारेको दाबी सरकारले गरेको छ। सामाजिक सुरक्षा र रोजगारीका कार्यक्रमलाई प्राथमिकता दिइएको सरकारी अधिकारीहरू बताउँछन् ।  

के भन्छन् अर्थविदहरू ?

पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महतले नीति तथा कार्यक्रमले स्वरुप नै लिन नसकेको टिप्पणी गरेका छन्। उनले २ घण्टा लामो नीति तथा कार्यक्रम आफूले पटक पटक सुनेको दाबी गरे। 'यो नीति तथा कार्यक्रम जस्तो छैन । दुई घण्टा लामो नीति तथा कार्यक्रम पहिलो पटक सुनियो', महतले थाहासँग भने 'आत्म प्रशंसा धेरै छन्। अघिल्ला सरकारले गरेका काम आफैँ गरेको व्याख्या गरेको छ।'

सरकारले आफ्ना इच्छा र आकाक्षाको सँगालो नीति तथा कार्यक्रममार्फत तर सरकारको  प्राथमिकता छुट्ट्याउन नसकेको टिप्पणी गरे। 'इच्छा-आंकाक्षाको सँगालो छ । मूल प्राथमिकता र 'फोकस'  कहीँ छैन । पाँच वर्षे, १० वर्षे योजनाले भरिएको छ', महतले भने। 

उनले राष्ट्रपति, प्रधानमन्त्री र मदन भण्डारीका नाममा कार्यक्रमलाई बढी प्राथमिकता दिएको समेत दाबी गरे। आगामी आर्थिक वर्षको बजेटबाट सम्बोधन गर्न सकिने एउटा पनि कार्यक्रम नराखिएको डा. महतको टिप्पणी छ। 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री नीति तथा कार्यक्रमलाई आश्‍वासनको थैलीको रूपमा लिएका छन् । 'विगतमा जसरी आश्‍वासनको थैलो बाँडिन्थ्यो, त्यसैगरी बाँडिएको छ', उनले भने, 'कहीँ आश्वासन बढाइएको छ, त्यो भनेको विश्वविद्यालयको प्रसङ्ग हो'

उनले संघीयता कार्यन्वयनपछिको पहिलो बजेट कार्यान्वयनमा कसरी समस्या देखियो ? अबका दिनमा कसरी सुधार गरिन्छ ? भन्ने कुरामा सरकारले समीक्षा नगरेको उनले टिप्पणी गरे। शिक्षाका विषयमा सरकार सकारात्मक देखिए पनि कार्यन्वयनको आधार नदेखाएको क्षेत्रीको भनाइ छ। 

निजी क्षेत्र सकारात्मक

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट निजी क्षेत्र सकारात्मक देखिएको छ। कार्यन्वयन गर्न सक्दा नीति तथा कार्यक्रम सकारात्मक रहेको टिप्पणी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन्।

'धेरै कार्यक्रममा विगतकै निरन्तरता रहेका छन्', राणाले भनिन्, 'कृषि, खानी क्षेत्र तथा उत्पादनमूलक उद्योगमा सरकार सकारात्मक देखिएको छ, कार्यान्वयन गर्न सक्दा राम्रो हुन्छ ।'

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि नीति तथा कार्यक्रम सकारात्मक रहेको बताए । 'रोजगारी सिर्जनाको विषयल प्राथमिकतामा राखिएको छ यो सकारात्मक छ,' मल्ले भने। तर पनि सरकारले आश्वासन बढी दिएर काम नगर्ने गरेको उनको गुनासो छ । 'विगतका कार्यक्रम पनि नराम्रा होइनन्, तर कार्यन्वयन गर्न सकिएको छैन, देख्दा सागर जस्तो तर केही नरहने भयो भने निराशा बढ्छ,' मल्लले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.