|

हेटौंडा : मर्मतको क्रममा विद्युत् सर्ट भएर आगलागी भएको ओम्याक्स हल सञ्चालनमा आएको छ। हेटौंडा ४ स्थित हुप्रचौरमा रहेको हल मर्मतको क्रममा आगलागी भएर पूर्णरुपमा ध्वस्त भएको थियो।

हल मर्मतको क्रममा करिब नौ महिनादेखि बन्द रहेको हल शुक्रबारबाट सञ्चालनमा आएको सञ्चालक तीर्थ प्रधानले जानकारी दिए। उनका अनुसार हलमा हाल दाल भात तरकारी फिल्म प्रदर्शनी भइरहेको छ। करिब तीन करोड ४० लाख रुपैयाँ लागतमा हल पुनर्निर्माण गरिएको बताइएको छ। पुनर्निर्माणको क्रममा हलले आफ्नो सिट क्षमता वृद्धि गरेको र थप सुविधा समेत विस्तार गरेको हलका सञ्चालक नरेन्द्र श्रेष्ठले जानकारी दिए। हल एक शोमा ३९० जनाले फिल्म हेर्न सक्ने र सवै सिट लक्जरियस रहेको बताइएको छ। 

साउन २३ गते विद्युत् मर्मत् गर्ने क्रममा इलेक्ट्रिक सर्ट भएर हलमा आगलगी भएको थियो। उक्त क्रममा करिब तीनकरोड रुपियाँ बराबरको क्षति भएको बताइएको छ।  २०६९ जेठबाट उक्त हल सञ्चालनमा थियो। त्यसअघि उक्त स्थानमा ओम चलचित्र मन्दिर रहेको थियो। ओम्याक्स हल सञ्चालनमा आएसँगै ओम चलचित्र मन्दिर भत्काइएको थियो। ओम चलचित्र मन्दिर २०४४ सालमा स्थापना भएको थियो।

मर्मतपश्चात् ओम्याक्स हलमा अहिले दुईवटा प्राजेक्टर राखिएको छ। भित्ता र सिलिङमा समेत साउन्ड सिष्टम राखिएको महर्जनले बताए। ‘पहिलेको तुलनामा पुनर्निर्माण गरिएको हलमा सबै सुविधाहरू थप गरिएको छ।’, सञ्चालक महर्जनले भने,‘नयाँ प्रविधिको साउण्ड सिष्टमदेखि लिएर दर्शक बस्ने सिट समेतको स्वरुप परिवर्तन गर्दा हामीले तोकेकोभनदा केही ढिला हल सञ्चालनमा आएको हो। अब हल नियमित रुपमा सञ्चालन हुन्छ।’

मकवानपुरे दर्शकको मन जित्न सफल भएको ओम्याक्स हल अब पुनः नयाँ प्रविधिको साथमा आएको कारण दर्शकको माया पाउनेमा आफू ढुक्क रहेको महर्जनले बताए। ‘हल कहिलेबाट सञ्चालनमा आउँछ भनेर दर्शको फोन आइरहेको थियो। अब प्रतीक्षाको समय सकियो’, उनले भने, 'ओम्याक्स विशुद्ध फिल्म मात्र प्रदर्शन हुने हल भएको कारण दर्शकको मनमा बस्न सकेको हो।' 

ओम्याक्ससहित हेटौंडा एनएस सिनेमा हल पनि रहेको छ। हेटौंडाको नारायणी मलमा दुईवटा हल सञ्चलानमा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.