|

ताप्लेजुङ : पाँच वर्षअघिसम्म ताप्लेजुङको दोभान र काबेलीमा माछा खानेको घुइँचो लाग्थ्यो। छुट्टीका दिन त होटलवालालाई पकाएर दिन भ्याइनभ्याइ हुन्थ्यो। 

रातभरि जाल थाप्ने जालहारी बिहान कम्तीमा पाँच किलो माछा लिएरै फर्किन्थे। तर, पछिल्ला वर्ष न ती बजारमा माछा खानेको घुइँचो लाग्छ न त जालहारीका जालमा माछा नै पर्छन्। 

मैवाखोलामा २० वर्षदेखि माछा मार्दै आएका दोर्जे शेर्पा अहिले कमै मात्र माछा पाइने बताउँछन्। ‘कुनै समय एकपटकमा २० किलोसम्म माछा जालमा पथ्र्यो,’ शेर्पाले भने, ‘अहिले एक दुई किलो पार्न पनि गाह्रो छ।’ 

नदीमा खुलेआम करेन्ट प्रवाह गरेर माछा मार्ने क्रम बढेकाले माछा मासिँदै गएको फुङलिङका वीरबहादुर लिम्बु बताउँछन्। स्थानीय जातको तीतेमाछा भने लोप हुने अवस्थामै पुगेको उनको भनाइ छ। ‘खोलामा अहिले कत्ले, असलाजस्ता माछा पनि कम पाइन्छ,’ उनले भने, ‘तीतेमाछा जालमा पर्न छाडेको त पाँच सात वर्ष भयो।’

उनका अनुसार तमोर, मेवा, मैवा, सोभुवा, फावा, काबेलीलगायत नदीमा जेनेरेटर, ब्याट्रीजस्ता विद्युतीय साधनबाट करेन्ट प्रवाह गरी माछा मार्नेहरू प्रशस्त भेटिन्छन्। ‘पहिले महाजाल, थकौली, झट्केजस्ता पासो प्रयोग गरेर माछा मारिन्थ्यो,’ थेचम्बुका हस्त लिम्बु भन्छन्, ‘अहिले करेन्ट प्रवाह गर्नेहरू बढेपछि हामीजस्ता सोझालाई समस्या भएको छ।’ माछा बेचेरै परिवार धान्दै आएका हस्त बैकल्पिक पेसा खोज्न थालेको सुनाउँछन्।

खोलामा करेन्ट लगाउँदा माछासँगै माछाका भुरा, आहारा तथा अन्य जलचरमा असर पुग्ने जिल्ला वन कार्यालयका फरेस्टर माधव गुरागाईंको भनाइ छ। थेचम्बु, दोभान, हान्द्रुङ, खोक्लिङ, काबेली, चाँगे, खाम्लुङलगायत गाउँका खोलाछेउ घर भएका धेरैको आम्दानीको स्रोत माछा थियो। फाट्टफुट्ट पाइने माछा किन्नेको हारालुछ हुने गरेको दोभान बजारका च्याङ्वा तामाङ बताउँछन्। दोभानमा आलो माछा ६०० र सुकुटी चार हजार ५०० रुपैयाँ पर्छ। पुराना ग्राहकले दिनहुँजसो माछा राखिदिन फोन गर्ने गरेको उनी सुनाउँछन्।

‘सदरमुकाम फुङलिङलगायत अन्य स्थानदेखि दिनहुँ माछा छ कि छैन भनेर फोन आउँछ,’ उनी भन्छन्, ‘माछा नै पर्दैन कसरी दिनु?’ सातामा दुईपटक माछा खान दोभान र काबेली पुग्ने फुङलिङ बजारका केशव आर्चाय माछा पाउन छाडे पनि खोलामा पौडी खेलेर फर्कने गरेको बताउँछन्। 

पासो, जाल, बल्छीको प्रयोग गर्दा धेरै समयमा पनि थोरै मात्र माछा पर्छ। ब्याट्री र जेनेरेटरको पावरलाई तारमा जोडेर रडको माध्यमबाट खोलामा विद्युत् प्रवाह गरिन्छ। करेन्टले मरेर बगेका माछा जालीले तानेर निकालिन्छ। विद्युत् प्रवाहको १० मिटर वरपरिका जलचर मर्ने हुँदा जैविक विविधता र पारिस्थितिक पद्धतिमा पनि असर पुग्ने फरेस्टर गुरागाईंको भनाइ छ। 

नियमविपरीत करेन्ट लगाएर माछा मारे सार्वजनिक अपराध ऐन तथा वातावरण ऐनअन्तर्गत कारबाही हुने व्यवस्था छ। सबै जलचरको सामुहिक संहार हुने उक्त घातक विधि रोक्न नियामक निकाय भने मौन छ। जलचर ऐनलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासनले सिन्कोसम्म भाँच्न नसकेको ताप्लेजुङ फुङलिङका राजकुमार लिम्बु बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.