|

हुम्ला : जिल्लाको उतरी दुर्गम ग्रामीण बस्तीमा रहेका  स्वाथ्य चौकीमै गएर गर्भवती महिलाहरुको अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको छ। जिल्ला अस्‍पताल हुम्लाका डा टासी लामाको प्रयासमा हुम्लाको उतरी चीनको तिब्बतसँग जोडिएका गाउँबस्तीमा सेवा दिइएको हो। नाम्खा गाउँपालिकामा रहेका  स्वास्थ्यचौकीमा स्थानीय १२ भन्दाबढी   गर्भवती महिलाले सेवा लिएको स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले बताए।

अल्ट्रासाउन्डकै लागि जिल्लामा आउन नसक्ने गर्भवती महिलाहरूलाई यस अभियानले सहज भएको  छ। डा लामाका अनुसार यो सेवाबाट गर्भ जाँच गराउन नसकेका गर्भवती महिलाको गाउँमै गएर पहिलोपटक जाँच गरिएको हो।

मातृ शिशु मृत्युदरमा सुधार ल्याउन गर्भवती जाँचलाई प्राथमिकता दिने उद्देश्यले जिल्ला र प्राथमिक स्वास्थ्य केन्द्रले यो अभियान ल्याएको डा लामाले बताए। सरकारले हिमाली जिल्लामा नियमित स्वाथ्य संस्थामा गर्भ चेक गराएमा ८ सय र सुत्केरी गराएमा ३ हजार रुपैयाँ प्रोत्सहान भत्ता दिने गरेको छ।

अहिलेसम्म नाम्खा गाउँपालिकामा गर्भवती जाँच गर्नेको संख्या न्यून छ। दुर्गम क्षेत्रमा चेतनाको अभाव र सहज पहुँच नहुँदा गर्भवती जाँच गराउने संख्या नभएको समेत नाम्खा गाउँपालिकाका स्वाथ्यकर्मी दानबहादुर बोहराले बताए। सिमकोट वडा एक, दुईका गर्भवती महिलाले ठेहे स्वास्थ्यचौकीमा गएर गर्भपरीक्षण गर्ने गरेका छन्।

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्करूपमा सुत्केरी सेवा प्रदान गरिँदै आएको डा लामाले बताए। यसले गर्दा पनि महिलालाई स्वास्थ्य संस्थामै गएर गर्भ परीक्षण गर्न उत्साह मिलेको लामाको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.