|

काठमाडौं : सरकारले सातै प्रदेशका कम्तिमा पनि सात विद्यालयलाई सूचना तथा प्रविधिमैत्री बनाउने योजना तय गरेको छ। ‘डिजिटल नेपालः विकास र समृद्धिको आधार’ भन्ने नारा दिएर सरकारले प्रविधिमैत्री विद्यालय बनाउने अभियान सुरू गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रोजेक्टरमार्फत कास्कीको रुपा गाउँपालिका–५ देउरालीमा अवस्थित विश्वशान्ति माध्यमिक विद्यालयमा यस अभियानको उद्घाटन गरेका थिए। प्रविधि मैत्री विद्यालय सातै प्रदेशमा बनाउने प्रधानमन्त्री ओलीको भनाइ छ। 

उक्त विद्यालयमा अहिले प्रोजेक्टरमार्फत कक्षाको समाग्री स्मार्ट बोर्डमा देखाइन्छ र पठनपाठन गराइन्छ। पढाइलाई बल पुग्ने थप सामाग्री शिक्षकले कहिले गुगलमा सर्च गरेर देखाउँछन अनि विद्यार्थीले त्यसैको सिको गर्छन्। कहिले युट्युबको सहायताले त कहिले प्रोजेक्टर माध्यमबाट अडियो भिडियो मार्फत  विद्यार्थीलाई बुझाइन्छ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले प्रोजेक्टर, स्मार्ट बोर्ड, टिभी र विभिन्न प्रविधिको प्रयोग गरेर कक्षामा पढाइ हुने गरेको बताए। ‘विश्वशान्ति गण्डकी प्रदेशकै प्रविधिमैत्री विद्यालय घोषणा भएको छ, अब प्रविधिको माध्यमबाट पढाइ हुनेछ,’ उनले भने, 'किताबलाई विस्थापित गरेर विद्यालयले अहिले कम्प्युरको माध्यमले पढाइरहेकाे छ।' 

प्रविधिमैत्री विद्यालय बनाउन विश्वशान्तिमा मात्र सरकारले झन्डै १ करोड रुपैयाँ खर्च गर्ने छ। नेपाल टेलिकमले इन्टरनेट लगायतका प्रविधिमा सघाउने भएको छ। प्रविधिमैत्री विद्यालय छनोट गर्न  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सातै प्रदेशमा निवेदन आह्वान गरेको थियो।

विद्यालय प्रविधिमैत्री बन्दा समुदायका ३० जनाले पनि कम्प्युटरमार्फत पढ्न पाउने भएका छन्। यसका कम्प्युटर पढाउन  मन्त्रालयले नै कोर्ष डिजाइन गर्ने भएको छ।

‘कम्तीमा समुदायका ३० जनाले विद्यार्थीले एउटा प्रविधि मैत्री विद्यालयमा सूचना तथा प्रविधि विषय पढ्न पाउने छन्,’ सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले भने, ‘हामीले वर्षमा ३० हजार जनशक्ति उत्पादन गर्न कम्तिमा एक हजार विद्यालयमा कम्प्युटरमार्फत सुचना तथा प्रविधि विषय पढाउनु पर्नेछ।’

गण्डकी प्रदेश ४ हजार ५ सय विद्यालयमध्येबाट रुपाको विश्वमावि स्मार्ट स्कुलको लागि छनोट गरिएको थियो। विश्वमावि अहिले प्रविधयुक्त र नमुना स्मार्ट स्कुल बन्न पुगेको छ। विश्वमावि जस्तै सात प्रदेशका सात विद्यालयलाई स्मार्ट स्कुल बनाउने सरकारको लक्ष्य रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.