दरबन्दी १९, विशेषज्ञ चिकित्सक ३ जना मात्रै

|

डडेल्धुरा : सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यसहित डडेल्धुरा सदरमुकाममा उपक्षेत्रीय अस्पताल स्थापना भयो। त्यतिबेलाको उपक्षेत्रीय अस्पतालले २०७० साल असार १ गतेदेखि सेवा दिन थालेको थियो ।

सुदूरपश्चिमबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न २०२२ सालमा यो अस्पताल स्थापना गरिएको थियो । उपक्षेत्रीयमा बढुवा हुनु अघि यो टिम अस्पतालका रुपमा चर्चित थियो। स्थानीयबासी र दलका नेताको पहलमा त्यतिबेलाको टिम अस्पताललाई सरकारले उपक्षेत्रीय अस्पताल घोषण गयो।

तत्कालिन उपक्षेत्रीय अस्पाल सय शय्याको थियो। जसमा १०९ जना कर्मचारी रहने गरी दरबन्दी स्वीकृत भयो। त्यो बेला २० जना मेडिकल अफिसर र १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी  थियो।

संघ, प्रदेश सरकार र फेरि संघ मातहत

तत्कालीन समयमा  संघीय सरकार मातहतमा रहेको यो अस्पताल देश संघीय संरचनामा गएसँगै  प्रदेश मातहतमा पुग्यो। यो अस्पताल  गत असारमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय मातहतमा आएको थियो। 

तर मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयानुसार यो अस्पतालाई विशेषज्ञसहितको सुविधा दिन स्तरोन्नतिसहित संघीय सरकारमै राख्ने   निर्णय गरेको थियो।

योसँगै मोरङको कोषी अञ्चल अस्पताल, पर्साको विरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनको भरतपुर अस्पताल, बाँकेको भेरी अञ्चल असप्ताललाई ’विशिष्ट विशेषज्ञ अस्पताल’का रुपमा स्तरोन्नति गर्ने निर्णय सरकारले गरेको हो। 

स्तरोन्नति भएपछि अब सबै ५ वटा अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा संघीय सरकारले उपलब्ध गराउने निर्णय गरेको थियो।  

केन्द्रीय सरकारबाटै सबै अस्पतालमा ५ सय शय्याको सेवासुविधा प्राप्त हुने जनाइएको थियो। जसले गर्दा मन्त्रिपरिषद्को निर्णय अनुसार डडेल्धुरामा रहेको उपक्षेत्रीयको अस्पतालको नाम परिवर्तन गरी ‘डडेल्धुरा अस्पताल, डडेल्धुरा’ बनाइएको छ। तर हाल अस्पताललाई संघिय सरकारले कुनै सहयोग गरेको छैन।

अहिलेसम्म प्रदेश सरकारले दिएको रकमले चलिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताए।फागुनयता केन्द्र सरकारले थप सेवा विस्तार र मेसिन औजार खरिदका लागि बजेट नपठाएको उनले जानकारी दिए।

दरबन्दी १९, विशेषज्ञ चिकित्सक ३ जना

यस अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। तर  यहाँ अहिले तीजना मात्रै विशेषज्ञ चिकित्सक रहेको डा. कँडेलले जानकारी दिए।  ‘यहाँ अहिले मसहित तीन जना विशेषज्ञ चिकित्सक छौँ। एकजना सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट पठाएको छ', उनले भने, 'असार मसान्तसम्मका लागि एकजना पठाएको हो मन्त्रालयले। हाल अस्पतालमा मेडिकल अफिसर लगाएर १३ जना छौँ।’

३० स्टाफ नर्समध्ये १३ जना मात्र कार्यरत अस्पतालमा पछिल्लो समय चार  जना पनि छैनन्। अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको उनको भनाइ छ। उनले भने ‘यहाँ भएको जनशक्ति गएको ६ महिनाभन्दा बढी भइसकेको छ। मन्त्रालय वा विभागबाट थप जनपशक्ति पठाइएको छैनन्।

जनशक्ति अभाव भएपनि सेवा दिइरहेको उनले जानकारी दिए। कर्मचारी समायोजन गर्दा यहाँका चिकित्सवहरुको सरुवा गरेपछि आवश्यक कर्मचारी नपठाएको डा. कडेलको भनाइ छ।

‘लोकसेवा खुलेको छ, न प्रदेशले पठाउँछ न विभागले, यहाँका १४ जना कर्मचारी सुरुवा गर्दा एकजना मात्रै पठायो, त्यसमै पनि विभेद भयो’, उनले भने । 

एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा सरुवा गरिएका डा.कँडेलले विभिन्न समस्याका बाबजुद पनि अस्पतालले सेवा प्रदान गरिरहेको जानकारी दिए। कर्मचारी समायोजना गर्दा सरकारले आफूले दिने सेवाबाट समेत बञ्चित गराएको आरोप छ।

‘एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा गएर मैले यहाँ दिइरहेको सेवाबाट समेत बञ्चित हुन्छु', उनले भने, 'प्राथमिक स्वास्थ्य केन्द्रमा ओटी समेत व्यवस्था छैन, यहाँ गएर मैले के गर्ने? यो कुरामा सरकारले सोचिदिएको भए हुन्थ्यो।’

हात नै बाँधिदिने गरी गरिएको समायोजनले आफूलाई अप्ठ्यारो महसुस भएको उनको भनाइ छ। उनले अहिलेसम्म आफूलाई समायोजनको पत्र आइनसकेकोसमेत बताए। उनले भने ‘सरुवा पत्र आउनेबित्तिकै हिँड्नुपर्ने भए पनि अस्पतालमा छँदासम्म सेवा भने दिइरहने छौँ।’

पछिल्लो समयमा खस्कँदै सेवा

कुनै समय देशभरकै उत्कृष्ट अस्पताल भनेर  चिनिएको डडेलधुरा अस्पतालले हाल जति सेवा सुविधा दिनुपर्ने हो त्यति सेवा भने दिन सकिरहेको छैन। यहाँको सेवा पछिल्लो समयमा खस्कँदै गएको छ। कार्मचारीको अभाव, भौतिक संरचनाको समेत अभावले दिनुपर्ने जति सेवा दिन नसकिरहेको हो।

कहिले प्रदेश सरकार त कहिले संघीय सरकारको मातहतमा राखिएको अस्पतालमा सेवासुविधा र गुणस्तर खस्किँदै जाँदा बिरामी हैरान बनेका छन्।

सुदूरपश्चिमको सबैभन्दा ठूलो सेवा क्षेत्र रहेको अस्पतालको नाम यो बीचमा पटकपटक फेरियो । तर सेवासुविधामा अनुभूति हुने गरी सुधार देखिँदैन। कहिले प्रदेश त कहिले संघीय सरकार मातहत राख्दा अन्योलमा परेको अस्पताललाई अहिले  संघिय सरकार मातहतमा राखिएको अस्पताललाई अहिले फेरि केन्द्र सरकारबाट सञ्चालन गरिने भनिएको छ।

संघीयता लागू भएलगत्तै प्रदेश मातहत राखिएको अस्पताललाई अहिले संघीय सरकारको मातहतमा राखिएको छ। तर अहिले झन अस्पताल अस्तव्यस्त बनेको सेवाग्राही पार्वती भुकालको गुनासो छ। ‘यहाँको सेवा विस्तार खकिँदै गएको छ,’ उनले भनिन्,‘प्रदेश, संघ मातहतमा गइरहँदा सेवा खस्केको जस्तो लाग्छ।’

जस्ताका छानोमुनि सेवा

उपक्षेत्रीय अस्पताल घोषण गरेको छ वर्ष पुग्दा समेत अस्तालसँग स्तरीय भवन छैन। अहिले पनि भवन अभाव नै रहेको डडेल्धुरा अस्पतालको सूचना अधिकारी टंकप्रसाद पन्तले बताए।

‘यो अस्पताल सय शय्याको भइसकेको छ । तर पनि हालसम्म यहाँ भवन छैन’, सूचना अधिकारी पन्तले भने, ‘पुरानै भवनबाट सेवा दिइरहेका छौँ।’

जस्तापाताले छाएको भवनाबाट अस्पताल दिने सेवा दिइरहेको हो। अस्तापले ओपिडी, इमेरजेन्सीलगायतका सेवा जस्तापाताले छाएको भवनबाट प्रदान गरिरहेको उनले जानकारी दिए। अहिले सय शय्याको भवन निर्माणका लागि प्रक्रिया अगाडि बढेको उनले बताए। भवन निर्माणका लागि काम समेत अगाडि बढिसकेको उनले जानकारी गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.