|

दैलेख :  सरकारले १० वर्षे द्वन्द्वपछि शान्ति प्रक्रिया सकिएको बताइरहेको छ। तर द्वन्द्वको समयमा पीडित परिवारका आँसु अझै रोकिएका छैनन्। दैलेखबाट तत्कालीन द्वन्द्वरत पक्षबाट बेपत्ता पारिएका र  मृतकका परिवार अझै पनि पीडामा छन्। 

नारायण नगरपालिका-३ की लक्ष्मी अधिकारीलाई राज्यपक्षका सुरक्षाकर्मीले २०५८ फागुन २३ गते जमुनाहा चौकी नजिकैबाट पक्राउ गर्‍यो। उनी बेपत्ता हुनु ६ महिना अघि उनका छोरा शंकर अधिकारी ६ महिनाका थिए। अहिले उनी १९ वर्षका भइसके। २ वटा छोरालाई जेनतेन पालेकी श्रीमती भविसरालाई अझै श्रीमान् फर्केर आउने आश छ। 

'छोरो ६ महिनाको हुँदा वेपत्ता श्रीमान फर्केर आउने आशमा सन्तानको मुख हेरेर दिन बिताइरहेकी छु', उनले भनिन्, 'कहिलेकाहीँ छोराले पनि बाबा फर्केर आउने भन्दै सान्तवना दिने गरेको छ। छोराले यसो भन्दा भक्कानिएर आउँछ, आँसुको मूल फुट्छ।'

द्वन्द्वकै बेला वेपत्ता पारिएकी छोरी बिर्मा नेपाली फर्केर आउने आशामा दिन बिताइरहेका किर्पा दमाईको पीडा पनि उस्तै छ।  छोरी आउने आशा मारेका छैनन्। उनको मनले अझै पनि छोरी फर्केर आउँछनि् भन्छ। तर उनको अर्को मनले अब छोरीसँग भेट हुने आशा मारिसकेको छ। 

भगवतीमाई गाउँपालिका-६ की  बालकुमारी खड्काका श्रीमानलाई राज्य पक्षले वेपत्ता बनायो। उनीसँग चार सन्तान छन्। आफूसँगै सन्तान पाल्ने चिन्ताले उनलाई पिरोलिरहन्छ। बाल बच्चालाई पढाउने अर्को चिन्ता त छँदैछ। छोरा छोरी देखाउँदै उनले भनिन्, 'यिनीहरूको बाबु भएको भए कमाएर पढाउँथे, अब कहाँ गएर पढाउनु,  गरिबीले राम्रो शिक्षा दिने धोको अधुरै रहने भो।'

'छोरा छोरी कसरी पढाउने चिन्ताले निद्रा नै लाग्दैन', भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफ्नो तलब दलित र द्वन्द्वपीडितलाई बाँड्न आयोजना गरेको पत्रकार समेलनमै आँसु झार्दै भनिन्' 'यो राहतले केही महिना बाल बच्चालाई कापीकलम किन्न राहतत होला।'

द्वन्द्वका समयमा माओवादी भएको आरोपमा बालकुमारीका श्रीमानलाई सरकार पक्षबाट हत्या गरियो। श्रीमानको हत्या भएपछि बालकुमारीलाई छोराछोरीको पिरले सताएको छ। अब उनले हराएका श्रीमान फर्किने आशा पनि मारिसकिन्। उनले सहिद विद्यालयमा छोराछोरीको पढ्न पठाएर आफू गाउँमै खेती गरेर गुजारा गरिरहेको सुनाइन्।

द्वन्द्वका क्रममा दैलेखबाट तीनजना बेपत्ता छन् भने १७० जना मारिएका छन्। १६८ जना घाइते अवस्थामा बाँचिरहेका छन्। घाइते र मृतकका परिवारलाई जीवन गुजारा, छोराछोरीको लालनपालन र पढाउने चिन्ता छ। 

अझै बम र गोलीका छर्रा
भगवतीमाई गाउँपालिकाका द्वन्द्वपीडित तिलकप्रसाद अधिकारी १५ वर्षसम्म उपचार नपाएर शरीरमा छर्रा बोकेर हिँडिरहेका छन्। २०५९ साल जेठ २९ गते रुकुमको खारामा भिडन्तका क्रममा उनको शरीरमा छर्रा पसेका थिए। 'शरीरभरी छर्रा बोकेर १५ वर्षदेखि कठिन जीवन बिताउँदै आएको छु,' उनले भने, 'न अहिलेसम्म कसैले उपचारमा सहयोग गरे न अब सहयोग पाउने आशा नै छ। पुराना दिन सम्झेर बिरक्त लाग्छ।'

अहिले पनि अधिकारीको खुट्टा र मुखमा गोलीका छर्रा छन्। शरीरका छर्रा बिझाउने समस्या त छँदैछ त्यसको पीडाले उनलाई रातभर निद्रा लाग्दैन। उनले घाइते भएको विवरण स्थानीय शान्ति समितिमा बुझाए। तर पटक-पटक उपचारको माग गर्दा सरकारले नसुनेको बताए। 

छर्रा निकाल्न उनले २ वर्ष भारतमा मजदुरी गरे। 'भारतको अहमदावादमा सामान्य उपचार गरेँ, काम गर्न नसकेपछि घरमा फर्केँ', उनले भने, 'टाठाबाठाहरूले चोट नलागे पनि सरकारी पैसा खाए। तर हामी जस्ता वास्तविक पीडितहरू अहिलेसम्म पनि समस्यामै छौँ।'

महावु गाउँपालिका-६ का टेकबहादुर २०६० सालमा रुकुमको खारामा भएको लडाईँमा होमिएका उनको पीडा पनि अधिकारीको जस्तै छ। शरीरभित्र छर्रा बोकेर बाँचिरहेका छन्। उनी भन्छन्, 'नत अहिलेसम्म हाम्रो सुनुवाई भयो न त उपचार नै', उनी गुनासो गर्छन्। 

रोकिएन आँसु

भगवतीमाई गाउँपालिका अध्यक्ष थापाले पारिश्रमिकबाट ५० हजार द्वन्द्वपीडित परिवारकी बालकुमारीलाई प्रदान गरे। रकम बुझ्दा उनका आँसु रोकिएनन्। राहत बुझ्दै उनले भनिन्, 'कोही नहुनेको भगवा हुन्छन् भन्थे हो रहेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.