|

काठमाडौं : सोमबार साढे ११ बजे बानेश्वरको इन्द्रेणी फुडल्यान्डको हलमा कार्यकर्ताको भीड छिचोल्दै राप्रपाका अध्यक्ष कमल थापा प्रवेश गरे। उनको पछिपछि आइन् अभिनेत्री रेखा थापा।

धेरैलाई सम्झना छ रेखा थापाले कुनै बेला हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग 'लालुपाते नुग्यो भूँइतिर, कि लाउँ माया मैतिर कि लाउँ उहीतिर निर नलाउ दुईतिर…' गीतमा नाचेकी थिइन्। त्यतिमात्र हैन नेपाललाई धर्मनिरपेक्ष र गणतन्त्रमा लैजान मूख्य भूमिका निर्वाह गर्ने प्रचण्ड नेतृत्वको माओवादीबाटै दोश्रो संविधानसभा चुनावमा उम्मेदवारी दिने चर्चा समेत भयो। 

मञ्चमा कमल थापाको देब्रेतिर बसिन् रेखा। कार्यक्रम सञ्चालक थिइन् गायिका कोमल वली, जो केही समयअघि राप्रपा प्रवेश गरेकी थिइन्। कोमलले रेखालाई पार्टी प्रवेश गरेकोमा स्वागत गरिन्। वलीले रेखालाई राष्ट्रवादी चेली र सफल नायिका, निर्देशक, निर्माता भनेर चिनाइन्। 

आमाछोरीलाई राप्रपाको सदस्यता

रेखालाई कमल थापाले पार्टी सदस्यता दिए र माला लगाइदिए। सँगै थिइन् रेखाकी आमा सरस्वती थापा। रेखापछि सदस्यता थप्ने पालो आयो उनकी आमाको।

दुबैले पार्टी सदस्यता लिएपछि माला लगाउनेको भीड सुरु भयो। साथमा क्यामेराका फ्ल्यास! रेखाको मुहारमा मुस्कान र गम्भीरता देखिन्थ्यो। उनको गालाभरी माला भरिए। उनलाई बधाई दिन राप्रपाका नेताहरुको लाइन लाग्यो। 

राप्रपा पहिलो र अन्तिम पार्टी

'धेरैको मानसपटलमा प्रश्न उठिरहेको होला। यो के भयो भन्ने छ होला। त्यो मैले महसुस गरिरहेकी छु' रेखा थापाले सुरुमा भनिन्।  'तपाईहरुलाई मेरो बारेमा राम्रो सँग थाहा छ। म फिल्ममा दुर्गा, काली, देवीको रुपमा खेल्छु। फिल्ममा धर्म रक्षाको कुरा उठाउछु र राष्ट्रियताको कुरा उठाउछु' रेखाले त्यसको तादाम्यता उनले विगतमा समर्थन गरेको पार्टीसँग नमिलेको भन्ने गुनासा आएको बताइन्।

'चलचित्र खेल्ने भूमिका र विचारमा अलि फरक भयो कि भन्ने लागेको थियो। म विगत चार वर्षदेखि नेपालको राजनीति हेरिरहेकी थिएँ। अनि मलाई लाग्यो यो (राप्रपा) नै मेरो घर थियो, मेरो वास्तविक पार्टी थियो' उनले थपिन्। 

उनले  विगतमा माओवादीलाई समर्थन गर्नुको कारण पनि खुलाइन्। 'हिजो एउटा जनलहर थियो, एकपटक नयाँलाई मौका दिउँ न त भन्ने। नयाँ सोचलाई अवसर दिने जनलहरमा म एउटा कलाकारको नाताले माओवादीको जनलहरमा मिसिन पुगेको थिएँ। म जनताको खुसीका निम्ति, केही परिवर्तन हुन्छ कि भनेर गएको थिएँ' रेखाले भनिन् 'तपाईंहरुमा यस्तो खाले सोच या भ्रम केही होला, रेखा माओवादीको सदस्य हो। अब अहिल्यै देखि त्यै भ्रम हटाइदिनुहोला।'

उनले आफूलाई माओवादीले सक्षम ठानेर चुनावमा टिकट दिएको बताइन्। तर प्राविधिक गडबडीले चुनाव लड्न नसकेको खुलाइन्। 

रेखाले राप्रपा प्रवेश लोभ, मोह र बहकाउ नभएको बताइन्। राप्रपा प्रवेश गर्नुको कारण पार्टीको हिन्दुत्व संरक्षण रहेको बारम्बार दोहोर्‍याइन्। उनले आफू विगतमा मन्दिर जाँदा पुजारीले प्रश्न गर्ने गरेको पनि सुनाइन्। 'म हिजो हिन्दु नारी, हिजो मन्दिर जाँदा पूजारीले भन्नुहुन्थ्यो, ‘ए तपाईं नि मन्दिर आउनुभएको?’ म बुझ्दिनथेँ, आज बुझ्दैछु।' उनले हिन्दु धर्मसँगको लगाव जीवन्त भएको बताइन्, 'शालिनदीमा जन्मदिन मनाउँछु। अगरबत्तीबाट मेरो बिहानी सुरु हुन्छ। देश विदेश घुमेपनि मेरो संस्कार छोड्नुभएन नि। धर्म मेरो रगतमा छ। मेरो धर्मको संरक्षण यो पार्टीमा भएकाले म यहाँ छु।'

रेखा थापाले अब राप्रपामा रहेर राष्ट्रियताको पक्षमा लड्ने, हिन्दु धर्मका पक्षमा लड्ने बताइन्। उनले अन्तिमसम्म पनि राप्रपामै रहने बताइरहिन्। 'मेरो यो पार्टी नै प्रथम हो र अन्तिम पनि' उनले अन्तिम चाहना पनि व्यक्त गरिन्, 'म नेपाल र राप्रपाको झण्डा ओढेर मर्न चाहन्छु।' कमल थापालाई 'हिम्मतवाला' भन्दै रेखाले उनको नेतृत्वमा अगामी दिनमा काम गर्ने र सबैकुरा कामबाट भन्ने बताइन्।

रेखाको प्रवेशले राप्रपा धनी

रेखा थापा राप्रपा प्रवेश भएकोमा हौँसिएका थिए अध्यक्ष कमल थापा। उनले रेखा थापासँगका २ छोटा भेटबाट नै प्रभावित भएको बताए। उनले रेखाले राप्रपालाई घरको रुपमा स्वीकार गरेकोमा घरमूलीको नाताले स्वागत गरे। 'तपाईको पार्टी प्रवेशबाट राप्रपा धनी भएको छ' उनले भने, 'स्थापित अभिनेतृको पार्टी प्रवेश मात्र हैन, एउटा सक्षम व्यक्तिको पार्टी प्रवेश भएको छ।'

कमल थापाले राप्रपाले रेखा थापालाई क्षमता अनुसार उचित स्थान दिने बताए। त्यस्तै उनले पार्टीले रेखामार्फत राजनीतिक लाभ उठाउने बताए। उनले भने, 'रेखा थापाको उपस्थितिबाट पार्टीले ठूलो फाइदा उठाउन सक्छ।' 

सम्बन्धित सामग्री :प्रचण्डसँग छमछमी नाचेकी रेखा थापाले कमल थापाबाट लिइन् पार्टी सदस्यता

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.