ठूलो रेल आउनु मात्रै समाजवाद होइन

|

मजस्ता समाजवादीलाई ऐतिहासिक भौतिकवादसँग कुनै आपत्ति  छैन। ऐतिहासिक भौतिकवादसँग मद्दतबिना समाज र इतिहासलाई बुझ्न सकिँदैन। इतिहास एकमात्र त्यस्तो प्रयोग शाला हो, जसको भौतिकवादी अध्ययनले समाजलाई बुझ्न सकिन्छ। 

द्वन्द्वात्मक भनेको केही पनि होइन भन्न चाहन्न म। द्वन्द्वात्मकको नाममा राष्ट्रवाद खडा हुन्छ। द्वन्द्वात्मकलाई धर्मको श्रेणीमा अगाडि बढाउने श्रेय स्टालिनलाई जान्छ। स्टालिनले लेखेको पुस्तक कति सत्य वा असत्य छ? त्यो अहिले टिप्पणी गर्न आवश्यक छैन। त्यो इतिहासले नै टिप्पणी गरिसकेको छ। द्वन्द्वात्मकता एउटा जटिल 'प्रोसेस' हो।

अध्ययन गर्दै जादाँ तानाशाहको हतियारमा बहुमत प्राप्त पार्टीले त्यसको प्रयोग गर्न थाल्यो भने सत्यको छेउ र टुप्पो पाइँदैन। धन्न कांग्रेसलाई यो कुरा थाहा छैन। द्वन्द्वात्मक भौतिकवाद, र त्यसको उत्पति र परिणतिबारेमा आगामी दिनमा छलफल हुन जरूरी छ।

कसैलाई पुरूष भन्नेबितिक्कै महिला नसम्झेसम्म पुरूष हुन सक्दैन। मालिक भन्नेबितिक्कै नोकर चाहिन्छ। उद्योगपति भन्नेबित्तिकै मजदुर चाहिन्छ। कुनै पनि कुरालाई सम्पूर्णमा हेर्ने कोशिश गर्नुपर्छ। यस्तो रहस्य जन्माएको छ। खासगरी कम्युनिस्ट पार्टीको दुर्भाग्य एकबाट दुई हुने, दुईबाट एक नहुने यस्तो पद्दति छ। यसबारेमा दार्शनिक रूपमा छलफल हुन जरूरी छ। द्वन्द्वात्मक दर्शनलाई पुँजीवादले पटक्कै चिरफार गर्न चाहँदैन। अध्ययन गर्न चाहँदैन। अध्ययबिना कुनै पनि कुरा समाप्त हुँदैन। 

ओलीको बाटो समाजवाद होइन

मार्क्सले भने जस्तै एउटै मान्छे आफूले एकै साथ अनेक काम गर्न सक्छ। उसमा आन्तरिकरूपमा सम्पुर्ण सम्भावना हुन्छन्। मानिस वस्तुका रूपमा रहन्छ। राज्यमा यो पनि मेरो राज्य हो। मेरो पनि समाज हो। प्रत्येक मान्छेलाई अपनत्व गराउन सकेमा मात्र समाजवाद हुने मार्क्सको सिद्वान्तको प्रस्तावना थियो। जुन कुरा आज हामीले पनि सम्झन जरूरी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तै ठूलो रेल आउनु समाजवाद होइन। समाजवाद भनेको प्रत्येक व्यक्तिलाई मैले मेरो देश र समाजलाई बदल्न सक्छु भन्ने आत्मविश्वास भर्न सक्नु हो।

मार्क्सले समाजवादको कुरा गर्दा शोषित वर्गको मात्र नगरी शोषकलाई पनि पुँजीवादमा जोडेर हेरेका थिए। त्यसैले कुनै पनि व्यवस्था भित्र एउटालाई प्रतिस्थापन गरि अर्को राजा बन्ने प्रवृति समाजवाद होइन। जुन व्यवस्थामा मानिस पुर्ण रूपले स्वतन्त्र हुन्छ, त्यो व्यवस्था नै आजको आवश्यकता हो।

व्यक्तिपिच्छे मार्क्सवादी धारणा अपूर्ण मात्र होइन भ्रान्ति जस्तो देखिन्छ। स्वयम् मार्क्सको जीवनलाई हेर्दा पनि सामाजिक सम्बन्ध भन्दामाथि उठेर बाँच्न खोजिरहेका थिए। मानव रूपले आफ्नो जीवनका आवश्यकताका लागि आफै कमाउने प्राणी हो। तर मानिसको सभ्यताको विकासक्रममा उसको श्रम गर्ने बाध्यता, श्रम गर्ने निर्णय, श्रम गर्ने दिशालाई हेर्नुपर्ने हुन्छ। मानिसले मिलेर काम गर्दा संवाद चाहिन्छ। मानिसको विकासको सबैभन्दा महत्वपूर्ण खुड्किलो संवाद गर्न सकेको दिन हो।

पुन: आन्दोलन 

विश्वमा पुन: आन्दोलन हुन सक्छ। समाज परिवर्तनको अर्को ठूलो चरण नेपालमा सुरू हुन्छ। मलाई लाग्छ अन्त भन्दा पहिले नेपालमा आन्दोलन हुने संकेत देखिँदैछ। त्यसको केन्द्रमा नयाँ किसिमको राज्य रहन्छ। नयाँ किसिमको सरकार रहन्छ र नयाँ किसिमको मान्छे रहन्छ।

नयाँ समाज मान्छेको अवधारणाले निर्माण गर्छ। नेपालले संघर्ष, परिवर्तन र आन्दोलन पर्खिरहेको छ। बीसौँ शताब्दीको संघर्षको केन्द्रीय स्वरूप हुन्छ, जनआन्दोलन हुन्छ। यो नेपालको अनुभव होइन। झण्डै ५० वर्षको अवधिमा नयाँ किसिमको कुनै आन्दोलन भएको छैन।

यहाँ जुन जनयुद्द भयो। त्यसबाट गौरवपूर्ण काम गरेको देखाउन माओवादीलाई गाह्रो पर्ला। यो अपवाद थियो। होइन भने त्यत्रो बलियो सोभियत युनियन कसरी धरासायी भयो त? कुनै पनि बाह्य हस्तक्षेपबिनानै धरासायी बन्यो र ढल्यो। किनभने त्यहाँका मानिस पूर्ण थिएनन्। त्यसलाई पुँजीवादले असर गर्यो। फलस्वरूप यो पतनतर्फ गयो। अब विश्वले नयाँ किसिमको आन्दोलनको अनुभव गर्नेछ।

आखाँ जुधाएर बोल्न सिक्छ

कला, साहित्य, संस्कृति र नैतिकता अब आउने समाजवादी आन्दोलन र क्रान्तिका लागि केन्द्रीय चिन्तनका महत्वपूर्ण विषय हुन्। समाजवाद मेरो विचारमा के हो भने अन्य कुनै कुरा भन्दा मानिस-मानिसबीच सम्बन्धको पूर्ण परिभाषा हो। पुन: नवीकरण हो। पुन:संयोजन हो।

समाजवादको सर्वमान्य परिभाषा के छ भने हिजोको सम्बन्ध आज रहँदैन। गोपालप्रसाद रिमालको एउटा कविता छ, 'हिजोसम्म कोही रोइरोइ जो बाँचिरहेका थिए, आज तिनै हाँसीहाँसी मर्न तयार छन्।' यही चलन सुरू हुन्छ। समाजवादमा हरेक कार्यकर्ताले आफ्ना नेतृत्वसँग आखाँमा आखाँ जुधाएर बोल्न सिक्छ।

'रातो झिल्को' त्रैमासिकको कार्ल मार्क्सको द्विशतवार्षिकी विशेषांक सार्वजनिकीकरण कार्यक्रममा राजनीतिक चिन्तक तथा कांग्रेसका सांसद्‍ प्रदीप गिरिले राखेको मन्तव्यको सम्पादित अंश ।

प्रस्तुति : राजु पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.