|

काठमाडौं : शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेपछि स्थानीय तहले शिक्षक सरुवा गर्न पाउने भएको छ। विभागले शिक्षक सेवा आयोगको आन्तिरिक प्रतिस्पर्धाबाट सफल शिक्षकको पदस्थापना हुन लागेपछि  डेढ महिनादेखि शिक्षक सरुवाको काम रोकेको थियो।

आन्तरिकतर्फको पदस्थापना र अवकाशका कारण कतिपय विद्यालयमा शिक्षक व्यवस्थापन गर्न कठिनाइ भएको गुनासो आएपछि आइतबार सबै शिक्षा, विकास तथा समन्वय एकाइलाई पत्राचार गरी शिक्षक सरुवा फुकुवा गरेको हो।

शिक्षा विभाग मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा सहसचिव दीपक शर्माले जिल्ला भित्रका विद्यालयमा समन्वय गरेर शिक्षकको सरुवा गर्न सम्बन्धित निकायलाई परिपत्र जारी गरेको बताए।

उनले भने, ‘जिल्ला भित्रका कुनै पनि विद्यालयमा शिक्षकको सरुवा गर्ने गरी सबै स्थानीय तहलाई परिपत्र जारी गरेका छौं। स्थानीय तहले समन्वय गरेर आवश्यकताअनुसार शिक्षकको सरुवा गर्नेछन्।’ यो सँगै रिक्त रहेका शिक्षकको पनि तत्काल पूर्तिका लागि प्रक्रिया अगाडी बढाएको उनको भनाइ छ।

शिक्षक सरुवा गर्दा आफ्नो जिल्लाभित्र र अन्तर जिल्लाको समान तहको रिक्त पद तथा विषयको दरबन्दीमा कार्यरत शिक्षकलाई सम्बन्धित स्थानीय तहको समन्वयमा प्रचलित ऐन, कानूनअनुसार गर्न सकिने विभागले जानकारी दिएको छ। शिक्षक सरुवाका लागि सम्बन्धित दुवै विद्यालयको सहमति, स्थानीय तहको सिफारिस र समन्वय एकाईको स्वीकृति आवश्यक पर्ने विभागले जनाएको छ।

विद्यालय तहको शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भएपनि शिक्षक नियुक्ति र अन्तर जिल्ला सरुवा केन्द्र सरकारको शिक्षा एकाइको स्वीकृतिमा हुँदै आएको छ।

विभागले पदस्थापन सकिएपछि रिक्त रहन आएमा, खुला प्रतियोगितात्मक विज्ञापनमा समावेश नभएका पद किटान गरी त्यस्तो परीक्षामा असर नपर्ने र दरबन्दी कटौती नहुने अवस्थामा सरुवा गर्न निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.