|

काठमाडौः काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रोजगार दिन्छु भनेर मात्रै नहुने बताएका छन् । उनले सबैलाई काममा लगाउन सक्नुपर्नेमा उनले जोड दिएका छन्। 'मानिसलाई काम गर्न सक्ने बनाउनु नै जनप्रतिनिधिको जिम्मेवारी हो', उनले । 

प्रधानमन्त्री रोजगार कार्यक्रम र काठमाडौं महनगरपालिको आर्थिक वर्षको २०७६/०७७ को बजेटबाट नागरिकले काम सिक्नुर्ने बताउँदै उनले कामले मानिसलाई सक्षम र अवसरको सदुपयोग गर्न  सक्ने बनाउने बताए । 

सोमबार राष्ट्रिय सभा गृहमा गरिएको अन्तक्रिया कार्यक्रममा रोजगार पाएमा नागरिकको जीवनस्तर सुध्रने उनको भनाइ थियो। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत महनगरमा बेरोजगारको तथ्याङ्क संकलन गर्दा २७० जना मात्रै बेरोजगार भेटिएका छन्।

'जनतलाई धेरै निरासामा राख्नु हुँदैन। अन्योलता बढ्दै जाने भएकोले नागरिकले प्रगति गर्न सक्दैनन्', शाक्यले भने, 'आयमुलक काममा लाग्न बेरोजगरलाई प्रोत्साहन गर्नु जरूरी छ। उनले कोही पनि बेरोजगार नहुने गरी सबैले कामलाई सम्मान गर्न सक्नुपर्ने बताए । कामलाई सम्मान गर्न सक्ने नागरिक भएमात्र देशले समृद्बि  हाँसिल गर्ने उनको दाबी थियो ।

'नागरिकमा धेरै बुझ्ने बानी छ,' उनले भने, 'बढी बुझ्दा पनि मानिसलाई असर गर्छ। जसले कम बुझ्छ, उसले अझ बढी बुझ्न जरुरी छ ।' प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ गतेबाट सुरु भएको हो।

गत वर्ष वैशाखदेखि नै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भइसकेको श्रम मन्त्रालयका उपसचिव लोकनाथ भुसालले बताए। उनका अनुसार यो कार्यक्रम सरकारले व्यापक अध्ययन गरेर ल्याएको हो।

नेपालको भौगोलिक संरचना र सामाजिक वस्तुस्थिति बुझेर यो कार्यक्रम लागू गरिएको उनले दाबी गरे। 'मुलुकमा ७० प्रतिशत नागरिक बेरोजगारको समस्यामा छन्', उनले भने, 'प्रधानमन्त्री रोजगार कार्यक्रमले नेपाली नागरिकको जीवनस्तर उकास्न सक्छ।'

श्रम तथा रोजगार मन्त्रालयले देशभरका महानगरपालिका र उपमहानगरपालिकालाई एक करोड रूपैयाँ प्रदान गर्ने भएको छ। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि दुई अर्ब ३६ करोड स्वीकृत गर्ने भएको छ।

'नेपालमा कामदार पाउन गाह्रो भइसकेको छ। काठमाडौंमा घर बनाइरहेको ठाउँमा सबै भारतीय भेटिन्छ', शाक्यले भने,'नेपालमा पाँच लाख विदेशी काम गरिरहेका छन्। नेपाली जति सबै प्रवासमा श्रम बेचिएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रमले विदेशिने नेपालीलाई रोक्नेछ ।'

रोजगारी माग्नेको ठूलो संख्या छ काठमाडौंमा। प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारको संख्या घट्ने उपप्रमुख हरिप्रभा खडगीले बताइन्। 'कामलाई सम्मान गर्ने बानी नभएकाले पनि नेपालमा बेरोजगारको संख्या बढेको हो,' खड्गीले भनिन्, 'जसले जे सकिन्छ आफ्नो ठाउँबाट काम गर्ने हो।  काम गर्ने बानीले मानिसलाई आत्मसन्तुष्टि दिन्छ ।'

देशमा बेरोजगारीको संख्या हेर्न अन्तर्राष्ट्रिय विमानस्थलमा गए सबै प्रष्ट हुने अवस्था रहेको सरकारी अधिकारी नै बताउँछन्। नेपालबाट दैनिक दुई हजारको संख्यामा कामदार विदेशिने गरेका काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत केदार न्यौपानेलपे बताए।

'नेपालमा काम गर्न लजाउँछन। त्यही काम विदेशमा गएर गर्छन्', उनले भने, 'विदेशमा काम गर्न जान नपरोस भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.