सोलुखुम्बु : मौसममा सुधार आएपछि आधार शिविरमा झरेका सगरमाथा आरोहीका सहयोगी क्याम्प १ र २ हुँदै क्याम्प ४ तर्फ उकालो चढ्न थालेका छन्। सोमबार मौसम राम्रो भएकाले मंगलबार बिहानै आरोहीका सहयोगी शेर्पाहरू आवश्यक सामग्रीसहित क्याम्प चारतर्फ प्रस्थान गरेको आधारशिविरबाट आरोही कामीरिता शेर्पाले जानकारी दिए।
क्याम्प ३ सम्म पुगेका आरोही र उनका सहयोगी समुद्री चक्रवात फानी र पश्चिमी बायुको प्रभावका कारण बिहीबार बेलुका र शुक्रबार आएको हावाहुरीका कारण आधारशिविर झरेका थिए। 'हिजोको मौसम राम्रो भयो। मंगलबार बिहानै, शेर्पाहरू खाना, अक्सिजन, पालसहित क्याम्प चारैतिर हिडिसके।' सबैभन्दा धेरैपटक सगरमाथाको आरोहण गरि कीर्तिमानी कायम गरेका शेर्पाले टेलिफोन सम्पर्कमा भने,'क्याम्प चार सम्मको बाटो बनिसकेको छ। त्यहाँसम्म शेर्पाहरूले सामान पुर्याउन गएका हुन्।'
सगरमाथा आरोहण गर्ने आरोही अहिले आधारशिविरमा आरम गरेर बसिरहेका छन्। यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अनुमति पाएका ४१ समूहका ३७८ जना आरोही आधारशिविर पुगेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। यो याममा ३०२ पुरुष र ७६ जना महिला आरोहीले सगरमाथाको शिखर चढ्दैछन्। आरोहण गर्नेमा ६ समूहका १३ जना नेपाली पनि रहेका छन्।
विभिन्न कीर्तिमानी कायम गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्ने आरोहीका लागि क्याम्प ३ सम्म टेन्ट टाँगिएको छ। फानीका कारण आएको हावाहुरीले क्याम्प तीनमा भएको करिब एक दर्जन र क्याम्प २ मा रहेको डेढ दर्जन टेन्ट हावाले उडाएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए। हावाले टेण्ट उडाएपछि थप टेण्ट सहित शेर्पाहरू मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको आरोही कामीरिता शेर्पाले बताए।
अहिले आधारशिविरमा सगरमाथा, लोत्से, नुप्त्से, आमादब्लम हिमाल अरोहण गर्ने आरोही र उनका सहयोगी गरी करिब एक हजार ५०० जना रहेका छन्। पर्यटन विभाग पर्वतारोहण शाखाका नायव शुब्बा रामेश्वर निरौलाका अनुसार सगरमाथा आरोहणकालागि ४१ समूहका ३७८ जना, लोत्सेका लागि १० समूहका ९२ जना, नुप्त्सेका लागि ३ समूहका ३७ जना, र आमादब्लम हिमाल अरोणका लागि ५ समूहका ४९ जना आरोहीले आरोण अनुमित लिएका छन्।
मे १२ देखि १५ भित्र यो सिजनको पहिलो आरोहण हुने
सगरमाथाको शिखर जाने बाटो क्याम्प ४ सम्म बनिकेको छ। बिहिबारनै क्याम्प ४ सम्मको बाटो बनिसकेको नेपाल सरकारका सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए। 'मौसम प्रतिकूल हुँदा बाटो बनाउने टोली आधारशिविर झरेको छ', अधिकृत श्रेष्ठले भने, 'मौसम राम्रो भयो भने अब एकदेखि दुई दिनभित्र शिखर सम्मको बाटो बनिसक्छ।'
हिमालयन गाइड्सले यसपटक सगरमाथा आरोहीकालागि दोस्रो क्याम्पदेखि चुचुरोसम्म डोरी टाँगेर बाटो बनाइरहेको छ। उक्त कम्पनीका ८ जना गाइडहरूले डोरी टाँगेर बाटो बनारहेका छन्। आधारशिविर जानुपर्ने सम्पर्क अधिकृत नाम्चेबाटै फर्किए। सगरमाथा आरोहण समयमा नेपाल सरकारको तर्फबाट खटिएका सम्पर्क अधिकृत समेत आधारशिविरतर्फ प्रस्थान गरेका छन्।
एक समूहका लागि एक जना कर्मचारीलाई सम्पर्क अधिकृत खटाउने नेपाल सरकारको नीति अनुसार उनीहरु आधारशिविर तर्फ प्रस्थान गरेका हुन्। सगरमाथा आरोहण गर्ने ४१ समूहका लागि ४१ जना सम्पर्क अधिकृत खटिएका छन्। तर ती अधिकृत मध्ये १० जना भन्दा बढी नाम्चेबाटै काठमाडाैं फकिएको स्राेतले जनाएको छ।
विगत वर्षहरूमा पनि अधिकांश सम्पर्क अधिकृत आधारशिविर नपुगीबीच बाटोबाटै फर्कने र काठमाडाैंमा बसेर आधारशिविरको रिपोटिङ हुने गरेको सगरमाथा आरोही किताप सिं तामाङले बताए। आरोहीलाई केही समस्या भएमा या उद्धार गर्नुपर्ने, आरोहण गरे या नगरेको लगायतको एकिन विवरण लिने काम सम्पर्क अधिकृतको भए पनि वेवास्ता गर्दै भत्ता बुझ्ने काम गरिरहेको आरोही बताउन्।
सम्पर्क अधिकृत नहुँदा आरोहीलाई विभिन्न किसिमको समस्या हुने गरेको आरोही बिजय घिमिरे विश्वकर्माले बताए। सरकारले सम्पर्क अधिकृत भनेर खटाउँछ तर कति आरोहीले सम्पर्क अधिकृत कस्तो हुन्छन् भनेर समेत देख्न नसकिने आरोहीको गुनासो छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।