|

भद्रपुर (झापा) : भारतीयलाई नागरिकता दिन कागजात मिलाएको भन्दै जिल्ला अदालत झापाले कचनकवल–२ का वडाध्यक्ष, वडा सचिवसहित नौ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको मंगलबार आठ दिन बित्यो। आठ दिनसम्म पनि प्रहरीले एक जनालाई पक्राउ गरेको छैन। पक्राउ नपर्नुमा प्रहरीकै संरक्षण देखिएको खुलासा भएको छ। 

अदालतले वैशाख १७ वडाध्यक्ष मुखबहादुर भट्टराईसहित नौ जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ। तर, वडाध्यक्ष भट्टराईले वैशाख १९ मा काम विशेषले काठमाडौं जानु छ भन्दै वडा सदस्य चन्द्रशेखर अधिकारीलाई वडा कार्यालयको सम्पूर्ण जिम्मेवारी दिएको पत्रमा उल्लेख गरिएको छ। पक्राउ पुर्जी जारी भएको दुई दिनसम्म वडामै रहेका वडाध्यक्ष भट्टराईलाई पक्राउ नगरेको पाइएको हो।

 ‘वैशाख १९ मा वडाध्यक्ष ज्युले काम विशेषले केही दिनका लागि काठमाडौं जानुछ भन्दै मेरो नाममा जिम्मेवारी दिनुभएको हो,’ वडा सदस्य अधिकारीले भने, ‘उहाँ गएपछि बिहान १० देखि ४ बजेसम्म कार्यालयमै बसेर सेवाग्राहीलाई सेवा दिँदै आइरहेका छौ, विवादित कामबाहेकका सेवामा मात्र आफूले जनप्रतिनिधिको हैसियतले सहयोग गरेको हो ।’

अहिले वडाध्यक्ष कहाँ छन् भन्ने आफूलाई जानकारी नभएको अधिकारीको भनाइ छ। उनले भने, ‘उहाँको दुवै नम्बरमा फोन लाग्दैन, काम पर्दा पनि सम्पर्क हुन सकेको छैन।’ 

कचनकवल गाउँपालिका २ का बमबहादुर गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक आसाम राज्यको मणिपुर कानकोपी जिल्लाका ३५ वर्षीय भुपाल गुरुङलाई वंशजको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापा पुगेका थिए। दुवै जनालाई प्रहरीले प्रशासन कार्यालयबाटै वैशाख १० मा पक्राउ गरेको थियो।
 
दुई जना पक्राउ परेपछि झापा अदालतले कागजात प्रक्रिया मिलाउने वडाध्यक्ष भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ, वडा सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा, कचनकवल–२ की कविता गुरुङ, गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहालको नाम पक्राउ पुर्जी जारी गरेको हो। 

यता जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय बनियानीलाई अदालतको पक्राउ पुर्जी पठाउँदै उल्लिखित नाम भएका व्यक्तिलाई पक्राउ गर्न आदेश दिइसकेको छ। इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायब निरीक्षक उदय शमशेर राणा वडाध्यक्षसहित नौ जनालाई पक्राउ गर्न प्रहरी परिचालन गरिसकेको बताउँछन्। 

‘मंगलबार पनि वडाध्यक्ष भट्टराईसँग फोन सम्पर्क भएको थियो,’ प्रहरी नायब निरीक्षक राणाले भने, ‘वडाध्यक्ष ज्युले आफू इलाममा रहेको र केही दिनमा झापा आउने बताउनुभयो।’ अदालतको पक्राउ पुर्जी जारी भएसँगै सबै जना फरार नरहेको राणाको भनाइ छ। कोही पक्राउ नपर्दा आफ्नो जागिर धरापमा पर्नुका साथै प्रहरीको काम कारबाहीमै प्रश्न उब्जिन थालेका उनले बताए ।

सेवा प्रभावित

वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा फरार भएपछि वडा कार्यालयको सेवा प्रभावित बनेको छ।
 
वडाध्यक्षको जिम्मेवारी वडा सदस्य चन्द्रशंखर अधिकारीले सम्हालेका छन्। वडामा एक जना कार्यालय सहयोगी मीना अधिकारी र कम्प्युटर अपरेटर रेसम तामाङ रहेका छन्। 

वडा सचिवको काम सोमबारदेखि कचनकवल–३ का वडा सचिव लक्ष्मण तामाङले सम्हालेका छन्। तामाङलाई दुई वटा वडा हेर्न कचनकवल गाउँपालिकाले पत्राचार गरेको जनाइएको छ। ‘वडा कार्यालयबाट हुने सामान्य किसिमका कामहरू भइरहेको छ’, वडा सदस्य अधिकारीले भने, ‘दुई दिनदेखि वडा सचिव तामाङ आउन थालेपछि केही सहज भएको हो, नत्र सेवाग्राहीलाई सेवा दिन समस्या भइरहेको थियो।’ 

भारतीयलाई नेपाली नागरिकता : जनप्रतिनिधि र कर्मचारीलाई पक्राउ पुर्जी

नेपाली नागरिकता बनाउन जाने भारतीयसहित दुईजना प्रशासन कार्यालयबाटै पक्राउ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.