|

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका–१ का राजेन्द्र रोकायले डोल्पामा गाडी पुगेको करिब सात महिनापछि नेपालगञ्जसम्मका पहिलो यात्रा तय गरे। नजिकैको बगर बजारमा दैनिक गाडी गुडेका देखिरहेका उनलाई लागेको थियो अब नेपालगञ्ज, सुर्खेत जान समस्या हुने छैन। घरबाट गाडी चढेको दुई दिनमै नेपालगञ्ज पाइन्छ। 

यसरी नै गाडी पुगिसकेपछि जिल्लाबाहिर जान हप्तौंसम्म जुफाल बिमानस्थलमा जहाज कुर्नुपर्ने र हवाइ टिकटका लागि एयरलाइन्सका कर्मचारीलाई रिझाउनुपर्ने अवस्थाको अन्त्य हुने उनको विश्वास थियो।

तर, उनले सोचेजस्तो थिएन जाजरकोट–डोल्पा सडकको यात्रा। केही दिनअगाडि मात्रै काम विशेषले नेपालगञ्ज पुगेका उनले तीन–चार ठाउँमा गाडी परिवर्तन गनुपर्ने, गाडीवालाको सिन्डिकेट, भाडामा मनपरिलगायतका अनेकन सास्ती खेपेर यात्रा गर्नुप¥यो।

व्यवसायीको मनपरी

जाजरकोट–डोल्पा सडकखण्डमा गाडी चलाउँदै आएका यातायात व्यवसायी र सवारी चालकहरुले मनपरी रुपमा गाडि चलाउने गरेपछि यात्रुहरुलाइ सास्ती हुने गरेको छ।

त्रिपुराकोट–खदाङ, खदाङ–गोतामकोट र तल्लु–बगरा सडकखण्डमा गाडी समयमा नछुट्ने, क्षमताभन्दा धेरै मान्छे ओसार–पसार गर्ने लगायतका कारण यात्रुहरुले सास्ती खेप्नु परेको गुनासो छ।

घरबाट हिँडेको दुई दिनमै नेपालगञ्ज पुगिए पनि बीच बीचमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता छ। यति मात्र होइन, चालक तीव्र गतिमा गाडी चालाउने र मनपरी भाडा असुल्ने कामले आफुले सास्ती खेप्नु परेको रोकायले गुनासो गरे।

खदाङ–करोपगाड सडकखण्डमा चालकहरुले सवारी साटासाट गरेर चलाउने गरेकाले यसबाट सवारी दुर्घटना हुनसक्ने खतरा बडेको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङ्का प्रकाश सार्कीले बताए।

कच्ची सडक, थोत्रा गाडी

जाजरकोट–डोल्पा सडकखण्डमा चल्ने करिब दुई दर्जन गाडीमध्ये आधा दर्जन थोत्रा छन्। चार–पाँच वर्षअगाडि किनेका गाडी पनि एकपटक मर्मतसम्भार नगरी सञ्चालनमा ल्याएको पाइएको छ।

बे्रक नलाग्ने अवस्थाका गाडी पनि दर्जनौं यात्रु बोकेर गुडाइरहेको त्रिपुरासुन्दरी नगरपालिका–१ का कमल हमालको दाबी छ। यस्ता गाडीहरु करोपगाड–गोतमाकोट खण्डमा धेरै सञ्चालन आएको रोकायको भनाइ छ।

नेपाली सेनाले दश वर्ष लगाएर भीर छिचोलेर खनेको चौडा सडकखण्डहरु साँघुरिन थालेका छन्। सडकको ट्रयाक खोलेको लामो समसम्म स्तरोन्नति नगरिएकाले सडकको दायाँ बाँयाबाट खसेको माटो ढुङ्गाले गर्दा सडक साँघुरिँदै गएको हो। विशेष गरेर खदाङ–गोतामकोटसम्मको सडकखण्ड अझ साघुरिँदै गएको छ।

बर्सेनि वर्षातको समयमा पहिरो खस्ने गरेको र अलिअलि पन्छाएर गाडी गुडाउने गरिएकाले जाजरकोट–डोल्पा सडक साँघुरिएको बिमल परियार बताउँछन्। सेनाले सडक निर्माण गरेर सडक विभागलाई बुझाएको लामो समयसम्म पनि बेवास्ता गरिँदा यस्तो अवस्था आएको उनको भनाइ छ।

प्रहरीको निश्क्रियता

करिब ११८ किलो मिटर लम्बाइ भएको जाजरकोट–डोल्पा सडकखण्डमा विभिन्न यातायात व्यवसायी र चालकहरुले मनपरी गर्दा समेत प्रहरीले बास्ता नगरेको यात्रुहरुले गुनासो छन्। क्षमताभन्दा धेरै यात्रुहरु ओसार–पसार गर्दा समेत प्रहरीले नदेखे झै गरेको यात्रुहरको भनाइ छ।

रुकुमको गोतामकोट, डोल्पाको खदाङ, त्रिपुराकोटमा रहेको प्रहरी चौकीले आफ्नो कार्यालयअगाडि मात्रै जाँच गर्ने गरेको यात्रु बुद्धिराम दर्नालले बताए।

पुल आवाश्यक

जाजरकोटको पासगाडदेखि डोल्पासम्मको सडकको ट्रयाक खुलाउने कार्य सम्पन्न गरेर गत  मंसिर ४ मा औपचारिक उद्घाटन गरिए पनि दुनैसम्म सिधा यातायात सञ्चालनमा आउन सकेको छैन।

जाजरकोट–डोल्पा सडकअन्तर्गत पर्ने राडीज्युला, तल्नुबगर, हरियापानी, सुँपानी, छलगाड, चुँगाड, रुपगाडलगायतका दुई दर्जन ठाउँमा पक्की मोटरेवल पुल निर्माण गर्नुपर्ने देखिन्छ।

भेरी नदीमा मात्रै आवाश्यक छ वटा पक्की पुलमध्ये रिम्ना र चिसापानीमा पुल निर्माण भइसकेकाले राडिज्युला, तल्लु, हरियापानी र सुँपानीमा चारवटा पुल निर्माणगर्न अझै बाँकी छ। सडकको बीचमा पर्ने सानाठूला नदी रहेकाले ठाउँ–ठाउँमा गाडी परिवर्तन गरेर यात्रा गर्नुर्ने बाध्यता छ।

पुल नभएकाले नै गाडी परिवर्तन गरेर यात्रा गर्दा गाडी समयमा नपाइने, सामान चोरी हुने लगायतका समस्याहरु झेल्नु परेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.