|

झापा (भद्रपुर) : निकासबिनाको विकासजस्तै भएको छ, भद्रपुरस्थित मेची पुल। सडक निकासबिनै प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १७ गते निकै तामझामका साथ मेची पुलको उद्घाटन गरेका थिए।

पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसबेला बोले, ‘बाटोबिनाको पुल कतै बनेको देख्नुभएको छ, बाटो बन्छ यसको लागि भारतीय प्रधानमन्त्रीसँग म सहकार्य गर्छु र बाटो बनाएर छाड्छु। प्रधानमन्त्री ओलीले यो शब्द बोलेको पनि तीन महिना बित्यो। त्यसपछि भारतमा लोकसभा निर्वाचनको चहलपहल सुरु भयो र फेरि मेची पुलको कथा सेलायो।

बाटो निकास बिनाको पुलमाथिबाट हलुका चारपांग्रे, तीनपांग्रे, दुईपांग्रे र पैदल यात्री आवतजावत गरिरहेका थिए। चारपांग्रे सवारीसाधन गन्तव्य पुग्न मेची नदीको बालुवा र विहार पक्षले बनाएको ग्राभेल सडक भएर आवतजावत गरिरहेका थिए।

तर, केही दिनअघि परेको पानीले पुल छेउमै बनाइएको ग्राभेल सडक भत्काइदिएको छ। गाडी कुद्ने मेची नदीको बगरमा समेत पानी जमिसकेको छ। भारततर्पmको ग्राभेल सडक भत्किँदा चारपांग्रे हलुका सवारीसाधन आवतजावत ठप्प भएको छ।

वैशाखको दोस्रो सातामै बनाइएको ग्राभेल सडक भत्किँदा अबको चार महिना के होला भन्दै सवारीधनी र स्थानीय चिन्तित बनेका छन्। मेची पुल बनेपछि भद्रपुरमा हलुका सवारीसाधनको चाप ह्वात्तै बढेको थियो। दैनिक एक सयदेखि डेढ सयसम्म भारतीय र नेपाली नम्बर प्लेटको सवारीसाधन मेची पुल प्रयोग गरी आवतजावत गर्दै आइरहेका थिए।

भारततर्फ बनाइएको ग्राभेल सडक वर्षाको पानीले भत्काइदिएपछि चारपांग्रे सवारीसाधन ठप्प भएको स्थानीय विक्रम सहनीले जानकारी दिए। ‘पुलसम्म आएर धेरै गाडी फर्किए, उनले भने, ‘पारि बाटो भत्किएको चालकलाई थाहा भएन, उनीहरू पुलमा आउने र जाने क्रम दिनभर चलिरह्यो।

‘मेची पुल त बन्यो तर यहाँको जनताको दुःख अझै टरेको छैन, स्थानीय मोहित शर्माले भने, ‘पारि सडक भत्किँदा अब भारत जान फेरि काँकडभिट्टा पुग्नुपर्ने, अहिले नै यस्तो झन् बर्खाको समयमा के होला? यसतर्फ कसले चासो देखाउने हो।

५६० मिटर लम्बाई र ९/८ मिटर चौडाइको १७ पिलरसहितको मेची पुल ३५ करोड ९५ लाख रुपैयाँको लागतमा ९ वर्षमा बनेको हो। अहिले मेची पुल प्रयोग गर्ने हलुका सवारी ठप्प भएपछि मोटरसाइकल, साइकल र पैदल यात्री पुल प्रयोग गरी आवतजावत गरिरहेका छन्। मोटरसाइकललाई समेत आवतजावजत गर्न कठिनाइ सुरु भइसकेको छ। अरू केही दिन यसरी नै पानी परे दुईपांग्रे सवारीसाधन पनि ठप्प हुन्छ, अनि पुलमाथिबाट पैदल यात्री मात्र हिँड्छ।

एसएसबीको अवरोध

भारततर्फको सडकले निकास नपाउँदा चारपांग्रे सवारीसाधन गन्तव्य पुग्न मेची नदीको बालुवा वा बगर भएर आवतजावत गर्दै आइरहेका थिए। हिउँदमा जसो त्यसो चल्दै आइरहेका सवारीसाधन बर्खा लागेपछि आवतजावत नै ठप्प हुने देखिएपछि भारततर्फको सडक बनाउन विहार गलगलियाका जनप्रतिनिधि, स्थानीय र व्यापारी ताते।

किशनगञ्ज जिल्ला भादगाउँ ग्राम पञ्चायतले करिब ७ लाख आन्तरिक बजेट निकासा गरी मेची पुल जोडन बालुवा र माटोसहितको ग्राभेल बाटो बनाउन काम सुरु गरे। विहार पक्षले बंगाल छाएर ग्राभेल सडक बनाउन खोज्दा भारतीय पक्ष नै विरोधमा उत्रिए।

पश्चिम बंगालको भूभाग भएर सडक जोडन खोज्दा बंगालका केही स्थानीय र व्यापारी विरोधमा उत्रिए। बंगालको व्यापार, व्ययवासमा असर पर्न भएकाले बङ्गाल पक्षले सडक बनाउन अवरोध गरेको बुझिएको छ। बंगालले विरोध गरेपछि विहार पक्षले नेपालका जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षाकर्मीसँग सहकार्य गरी ग्राभेल सडक बनाएर छाडे। तर, बनाइएको सडक बंगाल छोएको छैन।

विहारबाटै घुमाएर नेपाली सीमा क्षेत्रसम्म ल्याएको छ। पारिपट्टि मेची पुलको सडकदेखि विहार पक्षले बनाएको सडक ५० मिटर खाली छ। त्यस खाली क्षेत्रमा ह्युम पाइप राखेर जोडेपछि मात्र ग्राभेल सडकले पूर्णता पाउँछ। तर, सीमाक्षेत्रको पिलरनजिकै ह्युम पाइप राख्न नपाइने भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दिएको छैन। जसले गर्दा ग्राभेल सडकको काम पनि अधुरो बन्यो।

यस विषयमा भारत र नेपाल दुवै देशका जनप्रतिनिधिले पटकपटक छलफल गरी बाटोलाई निकास दिन पहल गरे पनि टुंगो लगाउन सकेको छैन। 'अघिल्लो वर्ष भद्रपुर नगरपालिकाबाट ह्युम पाइप राख्न गएका थियौँ, तर अन्तर्राष्ट्रिय सीमा भन्दै एसएसबीले राख्न दिए, यसवर्ष ह्युम पाइप राख्ने विषयमा भारतीय पक्षसँग छलफल गरिरहेका छौ', ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले भने, 'ह्युम पाइप राखेपछि मात्र तत्कालको समस्या समाधान हुन्छ, यस बारेमा माथिल्लो निकायकै पहल आवश्यक देखिन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.